पाठ ९५
तिनीहरूलाई कुनै कुराले रोक्न सकेन
एक जना लङ्गडो मानिस मन्दिरको ढोकामा बसेर दिनहुँ माग्ने गर्थ्यो। एकदिन उसले पत्रुस र युहन्नालाई मन्दिरभित्र छिर्न लागेको देख्यो। उसले तिनीहरूलाई भन्यो: ‘बिन्ती, मलाई केही दिनुहोस्।’ पत्रुसले भने: ‘मसित तिमीलाई दिन पैसाभन्दा असल कुरा छ। येसुको नाममा तिमीलाई उठेर हिँड भन्छु!’ पत्रुसले उसलाई उठ्न मदत गरे र ऊ हिँड्न थाल्यो। यो चमत्कार देखेर मानिसहरू खुसी भए र अझ धेरैले येसुमा विश्वास गर्न थाले।
तर पुजारीहरू र सदुकीहरू धेरै रिसाए। तिनीहरूले प्रेषितहरूलाई पक्रेर अदालतमा लगे र यसरी केरकार गर्न थाले: ‘तिमीहरूले कसको अख्तियार पाएर त्यस मानिसलाई निको पाऱ्यौ?’ पत्रुसले भने: ‘येसुको, जसलाई तपाईँहरूले मार्नुभयो।’ धर्मगुरुहरू यसो भनेर कराए: ‘येसुबारे कुरा गर्दै नगर्नू!’ तर प्रेषितहरूले भने: ‘हामी उहाँको कुरा नगरी बस्नै सक्दैनौँ। हामी बोल्न छोड्दैनौँ।’
पत्रुस र युहन्ना छुट्नासाथ अरू चेलालाई भेट्न गए र सबै कुरा बताए। तिनीहरूले एकसाथ यहोवालाई यसरी प्रार्थना गरे: ‘बिन्ती छ, हामीलाई निर्भयी भएर तपाईँको काम गरिरहन मदत गर्नुहोस्।’ यहोवाले तिनीहरूलाई पवित्र शक्ति दिनुभयो। तिनीहरूले निको पार्ने र प्रचारको काम गरिरहे। अझ धेरै मानिसले विश्वास गर्न थाले। सदुकीहरू डाहले भरिए र तिनीहरूले प्रेषितहरूलाई पक्रेर जेलमा हाले। तर राती यहोवाले स्वर्गदूत पठाउनुभयो र तिनले जेलको ढोका खोलिदिए। तिनले प्रेषितहरूलाई भने: ‘फेरि मन्दिर जाओ र मानिसहरूलाई सिकाओ।’
भोलिपल्ट बिहान अफिसरहरूले यहुदी न्यायपरिषद्लाई यस्तो खबर दिए: ‘जेलका ढोकाहरू बन्दै छन् तर तपाईँहरूले पक्रेका मानिसहरू भित्र छैनन्। तिनीहरू मन्दिरमा मानिसहरूलाई सिकाउँदै छन्।’ प्रेषितहरू फेरि पक्राउ परे र तिनीहरूलाई यहुदी न्यायपरिषद्सामु उभ्याइयो। प्रधानपुजारीले भने: ‘हामीले तिमीहरूलाई येसुबारे सिकाउँदै नसिकाउनू भनेका थियौँ।’ तर पत्रुसले भने:
“हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ।”यो सुनेर धर्मगुरुहरू क्रोधित भए र तिनीहरूलाई मार्न खोजे। तर गमलिएल भन्ने फरिसीले खडा भएर भने: ‘राम्ररी सोच्नुहोस्! सायद परमेश्वर यी मानिसहरूको साथमा हुनुहुन्छ। के तपाईँहरू परमेश्वरविरुद्ध लड्न चाहनुहुन्छ?’ धर्मगुरुहरूले गमलिएलको कुरा माने अनि प्रेषितहरूलाई बोलाएर कोर्रा लगाए र येसुको नाममा बोल्दै नबोल्नू भन्ने आदेश फेरि दोहोऱ्याउँदै छोडिदिए। तर तिनीहरूले सुसमाचार घोषणा गर्न छोडेनन्। तिनीहरूले साहसी भई मन्दिर र घरघर गएर सुसमाचार सुनाइरहे।
“हामीले मानिसहरूको भन्दा परमेश्वरको आज्ञा मान्नै पर्छ।”—प्रेषित ५:२९