सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ११

विश्‍वासको जाँच

विश्‍वासको जाँच

अब्राहामले छोरा इसहाकलाई यहोवालाई प्रेम गर्न र उहाँका सबै प्रतिज्ञाहरूमा विश्‍वास गर्न सिकाए। तर इसहाक करिब २५ वर्षको हुँदा यहोवाले अब्राहामलाई असाध्यै गाह्रो काम अह्राउनुभयो। त्यो काम के थियो?

परमेश्‍वरले अब्राहामलाई यसो भन्‍नुभयो: ‘तिमीले असाध्यै माया गर्ने तिम्रो एक मात्र छोरा इसहाकलाई लिएर मोरियाह डाँडामा जाऊ र उनलाई बलिको रूपमा चढाऊ।’ यहोवा परमेश्‍वरले किन त्यस्तो काम अह्राउनुभयो भनेर अब्राहामलाई थाह थिएन। तैपनि तिनी त्यसो गर्न तयार भए।

भोलिपल्ट बिहान सबेरै इसहाक र दुई जना दासलाई लिएर अब्राहाम मोरियाह डाँडातर्फ लागे। तीन दिनको यात्रापछि तिनीहरूले टाढाबाट त्यो डाँडा देखे। त्यसपछि अब्राहामले दासहरूलाई तिनी र इसहाक बलि चढाएर नफर्कुन्जेल पर्खेर बस्न भने। अब्राहामले दाउरा इसहाकलाई बोकाए र आफूले चाहिँ छुरी बोके। इसहाकले बुबालाई यसो भने: ‘बुबा, बलि चढाउनको लागि भेडा खोइ त?’ अब्राहामले यस्तो जवाफ दिए: ‘यहोवा परमेश्‍वरले नै जुटाइदिनुहुनेछ।’

डाँडामा पुगेपछि तिनीहरूले एउटा वेदी बनाए। अब्राहामले इसहाकको हातगोडा बाँधेर उनलाई वेदीको दाउरामाथि राखे।

अनि अब्राहामले छोरालाई बलि चढाउन छुरी उठाए। त्यति नै बेला यहोवा परमेश्‍वरको दूतले स्वर्गबाट भने: ‘ए अब्राहाम! त्यो केटोलाई केही हानि नगर। तिमी परमेश्‍वरको डर राख्ने मानिस हौ भनेर अब मैले जानेँ। किनभने आफ्नो एउटै छोरालाई समेत बलि चढाउनदेखि तिमी पछि हटेनौ।’ त्यसपछि अब्राहामले नजिकैको झाडीमा सिङ अल्झेर बसेको एउटा भेडा देखे। तिनले हतारिँदै इसहाकको डोरी फुकाए र छोराको सट्टा त्यस भेडालाई बलि चढाए।

त्यस दिनदेखि अब्राहाम यहोवाको मित्र भनेर चिनिए। किन, तिमीलाई थाह छ? अब्राहामलाई यहोवा परमेश्‍वरले इसहाकलाई बलि चढाउन भन्‍नुको कारण थाह नभए तापनि तिनले उहाँको आज्ञा माने।

यहोवा परमेश्‍वरले अब्राहामलाई आफ्नो यो प्रतिज्ञा दोहोऱ्‍याउनुभयो: ‘म तिमीलाई आशिष्‌ दिनेछु र तिम्रा सन्तानलाई बढाउनेछु।’ यसको मतलब, यहोवा परमेश्‍वरले सबै असल मानिसलाई अब्राहामको सन्तानमार्फत आशिष्‌ दिनुहुने थियो।

“परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।”—युहन्‍ना ३:१६