सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ७

बाबेलको धरहरा

बाबेलको धरहरा

जलप्रलयपछि नुहका छोराहरूका धेरै सन्तान भए। तिनीहरूको परिवार बढ्‌दै गयो र यहोवा परमेश्‍वरले भन्‍नुभएजस्तै तिनीहरू पृथ्वीभरि फैलिँदै गए।

तर कुनै-कुनै परिवारले यहोवाको आज्ञा मानेनन्‌। तिनीहरूले यसो भने: ‘आओ, हामी एउटा सहर बनाऔँ र त्यहीँ बसौँ। स्वर्गसम्मै पुग्ने एउटा धरहरा बनाऔँ। त्यसो गऱ्‍यौँ भने हामीले ठूलो नाम कमाउनेछौँ।’

ती मानिसहरूको काम देखेर यहोवा खुसी हुनुभएन। त्यसैले उहाँले तिनीहरूलाई रोक्ने निर्णय गर्नुभयो। उहाँले तिनीहरूलाई कसरी रोक्नुभयो, के तिमीलाई थाह छ? परमेश्‍वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूले अचानक फरक-फरक भाषा बोल्न थाले। त्यसपछि तिनीहरूले एकअर्काको कुरा बुझेनन्‌ र धरहरा बनाउने काम छोडिदिए। तिनीहरूले बनाउन थालेको सहरको नाम बाबेल राखियो, जसको अर्थ हो, “गोलमाल।” त्यसपछि मानिसहरू पृथ्वीभरि तितरबितर भए। तर तिनीहरू जहाँसुकै बसे तापनि खराब काम गर्न छोडेनन्‌। के त्यतिबेला यहोवालाई प्रेम गर्ने अझै कोही थियो? यसबारे हामी अर्को पाठमा थाह पाउनेछौँ।

“जसले आफूलाई उच्च पार्छ, उसलाई खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”—लुका १८:१४