सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २१

दसौँ विपत्ति

दसौँ विपत्ति

मोसाले फारोकहाँ फेरि कहिल्यै देखा नपर्ने वाचा गरे। तर त्यहाँबाट निस्कनुअघि तिनले फारोलाई यसो भने: ‘मध्यरातमा मिश्रभरि सबैको पहिलो सन्तान मर्नेछन्‌—फारोको जेठो छोरादेखि लिएर कमाराहरूको जेठो छोरासम्म।’

यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई विशेष खाना तयार पार्न भन्‍नुभयो। उहाँले यसो भन्‍नुभयो: ‘एक वर्षको पाठो ल्याउनू; त्यो पाठो कि भेडाको कि त बाख्राको होस्‌। अनि त्यस पाठोको रगत घरको ढोकामा छर्कनू। त्यसको मासु आगोमा पोल्नू अनि खमिर नहालेको रोटीसित खानू। लुगा, जुत्ता लगाएर जान तयार रहनू। त्यस रात म तिमीहरूलाई छुटाउनेछु।’ इस्राएलीहरू कत्ति खुसी भए होलान्‌!

मध्यरातमा यहोवा परमेश्‍वरको स्वर्गदूत मिश्रभरिका सबै घरमा गए। रगत नछर्किएको सबै घरका पहिलो सन्तान मरे। तर रगत छर्किएको घरमा स्वर्गदूतले केही पनि गरेनन्‌। धनी होस्‌ वा गरिब, प्रत्येक मिश्री परिवारमा जेठो छोराको मृत्यु भयो। तर इस्राएलीहरूको सन्तानको मृत्यु भएन।

फारोको छोराको समेत मृत्यु भयो। फारोलाई धेरै पीडा भयो। तिनले मोसा र हारुनलाई तुरुन्तै बोलाएर यसो भने: ‘तिमीहरू यहाँबाट गइहाल! तिमीहरूका परमेश्‍वर यहोवाको उपासना गर्न जाओ! तिमीहरूका जनावरहरू पनि सँगै लैजाओ।’

पूर्णिमाको दिन इस्राएलीहरू परिवार-परिवार र कुल-कुल गरेर मिश्रबाट निस्किए। इस्राएली पुरुषहरू ६ लाख थिए र तिनीहरूसँग थुप्रै स्त्री र केटाकेटी पनि थिए। अरू जातिका थुप्रै मानिस तिनीहरूसँगै गए किनभने तिनीहरू पनि यहोवा परमेश्‍वरको उपासना गर्न चाहन्थे। इस्राएलीहरूले बल्ल छुटकारा पाए!

यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट छुटाउनुभएको दिन सम्झिन तिनीहरूले हरेक वर्ष त्यस्तै विशेष खाना खान्थे। यसलाई निस्तार चाड भनिन्थ्यो।

“तिमीद्वारा मेरो शक्‍ति प्रकट होस्‌ अनि मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।”—रोमी ९:१७