पाठ २३
यहोवा परमेश्वरसित बाँधेको वाचा
मिश्रबाट निस्केको करिब दुई महिनापछि इस्राएलीहरू सिनै डाँडामा आइपुगे र त्यहाँ पाल टाँगेर बसे। यहोवा परमेश्वरले मोसालाई बोलाउनुभयो र तिनी डाँडामा उक्ले। त्यहाँ उहाँले तिनलाई भन्नुभयो: ‘मैले इस्राएलीहरूलाई मिश्रबाट छुटाएँ। तिनीहरूले मैले भनेको सबै कुरा माने र मेरो व्यवस्थाअनुसार चले भने तिनीहरू मेरा विशेष मानिसहरू हुनेछन्।’ मोसा तल ओर्ले र यहोवा परमेश्वरले भन्नुभएको कुरा इस्राएलीहरूलाई सुनाए। तिनीहरूले कस्तो जवाफ दिए? तिनीहरूले भने: ‘यहोवा परमेश्वरका सबै कुरा मान्न तयार छौँ।’
मोसा फेरि डाँडामा उक्ले। त्यहाँ परमेश्वरले तिनलाई भन्नुभयो: ‘तेस्रो दिन म तिमीसित कुरा गर्नेछु। यो डाँडा नचढ्नू भनेर चेतावनी दिनू।’ मोसा तल ओर्ले र इस्राएलीहरूलाई तेस्रो दिन यहोवा परमेश्वरले भन्नुहुने कुरा सुन्न तयार हुनू भने।
तेस्रो दिन इस्राएलीहरूले डाँडामा बिजुली चम्केको र कालो बादल मडारिएको देखे। तिनीहरूले मेघ गर्जेको र सिङ फुकेको ठूलो आवाज पनि सुने। त्यसपछि डाँडामा परमेश्वर आगोमा ओर्लेर आउनुभयो। इस्राएलीहरू डरले काम्न थाले। डाँडा बेसरी हल्लियो र धुवाँले ढाक्यो। सिङ फुकेको आवाज चर्को हुँदै गयो। उहाँले भन्नुभयो: ‘म यहोवा हुँ। तिमीहरूले मबाहेक अरू कुनै देवीदेवतालाई नमान्नू।’
मोसा फेरि डाँडामा उक्ले। यहोवा परमेश्वरले तिनलाई मानिसहरूले उहाँको उपासना गर्ने तरिकाबारे र तिनीहरूले गर्न हुने र नहुने कुराबारे व्यवस्था दिनुभयो। मोसाले परमेश्वरको व्यवस्था लेखे र इस्राएलीहरूलाई पढेर सुनाए। तिनीहरूले यस्तो वाचा गरे: ‘यहोवा परमेश्वरका सबै कुरा मान्न तयार छौँ।’ हो, तिनीहरूले परमेश्वरसित वाचा बाँधे। तर के तिनीहरूले यो वाचा पूरा गर्ने थिए?
“तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।”—मत्ति २२:३७