सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३३

रुथ र नाओमी

रुथ र नाओमी

इस्राएलमा अनिकाल पर्दा नाओमी नाम गरेकी इस्राएली स्त्री आफ्नो पति र दुई छोरासँगै मोआबमा सरेकी थिइन्‌। पछि नाओमीको पतिको मृत्यु भयो। तिनका छोराहरूले मोआबी स्त्रीहरू रुथ र ओर्पासँग बिहे गरे। तर दुःखको कुरा, नाओमीका दुवै छोराको मृत्यु भयो।

नाओमीले इस्राएलमा अनिकाल सिद्धिएको सुनेपछि आफ्नो घर फर्कने निर्णय गरिन्‌। रुथ र ओर्पा पनि तिनीसँगै आए तर बाटोमा नाओमीले तिनीहरूलाई भनिन्‌: ‘तिमीहरू दुवै असल पत्नी र असल बुहारी थियौ। म तिमीहरूले फेरि बिहे गरेको चाहन्छु। त्यसैले तिमीहरू आफ्नो घर मोआब फर्क।’ ती स्त्रीहरूले भने: ‘हामी तपाईँलाई माया गर्छौँ! तपाईँलाई छोडेर जाँदैनौँ।’ नाओमीले तिनीहरूलाई फर्किन कर गरिन्‌। त्यसपछि ओर्पा आफ्नो माइती फर्किन्‌ तर रुथ भने फर्किनन्‌। नाओमीले रुथलाई भनिन्‌: ‘ओर्पा आफ्ना मानिस र आफ्ना देवीदेवताकहाँ फर्की। तिमी पनि ऊसितै फर्क र आफ्नै माइतीमा जाऊ।’ तर रुथले भनिन्‌: ‘म तपाईँलाई छोडेर जान्‍नँ। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌ अनि तपाईँका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ।’ तिम्रो विचारमा रुथले यसो भन्दा नाओमीलाई कस्तो लाग्यो होला?

रुथ र नाओमी इस्राएल आइपुग्दा जौ काट्‌ने समय भएको थियो। एकदिन रुथ बोअज भन्‍ने मानिसको खेतमा सिलाबाला बटुल्न गइन्‌। बोअज राहाबको छोरा थिए। बोअजले मोआबी स्त्री रुथले नाओमीको साथ नछोडेको कुरा सुनेका थिए। तिनले खेतालाहरूलाई रुथको लागि खेतमा सदाभन्दा अलि धेरै सिलाबाला छोडिदिन भने।

साँझ नाओमीले रुथलाई सोधिन्‌: ‘आज कसको खेतमा सिलाबाला बटुल्यौ?’ रुथले भनिन्‌: ‘बोअज भन्‍ने मानिसको खेतमा।’ नाओमीले बुहारीलाई भनिन्‌: ‘बोअज हाम्रा नातेदार हुन्‌। अरू स्त्रीसँगै तिनकै खेतमा काम गर्नू। त्यहाँ तिमी सुरक्षित हुनेछ्यौ।’

बाली काट्‌ने समय नसिद्धिउन्जेल रुथले बोअजको खेतमा काम गरिन्‌। बोअजले रुथ परिश्रमी र असल स्त्री भएको याद गरे। त्यतिबेला कुनै पुरुषको मृत्यु भयो तर तिनका छोराहरू छैनन्‌ भने तिनको नातेदारले तिनकी पत्नीसित बिहे गर्ने चलन थियो। त्यसैले बोअजले रुथसँग बिहे गरे। तिनीहरूको एउटा छोरा जन्मियो र उसको नाम ओबेद राखियो। ओबेद राजा दाउदका हजुरबुबा थिए। नाओमीका साथीहरू खुसी भए। तिनीहरूले भने: ‘तपाईँलाई यहोवा परमेश्‍वरले पहिला रुथ दिनुभयो, जसले तपाईँलाई असाध्यै माया गर्छिन्‌। अहिले एउटा नाति दिनुभएको छ। यहोवा परमेश्‍वरको जय होस्‌!’

“कुनै-कुनै साथी भने साक्खै दाजुभाइभन्दा पनि घनिष्ठ हुन्छ।”—हितोपदेश १८:२४