सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३८

यहोवा परमेश्‍वरले सिमसोनलाई बल दिनुभयो

यहोवा परमेश्‍वरले सिमसोनलाई बल दिनुभयो

धेरैजसो इस्राएलीले फेरि मूर्तिपूजा गर्न थाले। त्यसैले यहोवा परमेश्‍वरले तिनीहरूलाई पलिस्तियालीहरूको हातमा सम्पिदिनुभयो। तर केही इस्राएलीले भने यहोवा परमेश्‍वरलाई प्रेम गर्थे। तिनीहरूमध्ये एक मानोह भन्‍ने व्यक्‍ति थिए। तिनी र तिनकी पत्नीको सन्तान थिएन। एकदिन यहोवा परमेश्‍वरले एक जना स्वर्गदूत मानोहकी पत्नीकहाँ पठाउनुभयो। ती स्वर्गदूतले उनलाई भने: ‘तिमीले एउटा छोरा जन्माउनेछ्यौ। उसले इस्राएलीहरूलाई पलिस्तियालीहरूको हातबाट बचाउनेछ। ऊ नाजिरी हुनेछ।’ नाजिरीहरू को थिए, के तिमीलाई थाह छ? तिनीहरू यहोवा परमेश्‍वरका विशेष सेवकहरू थिए। तिनीहरूले आफ्नो कपाल काट्‌न पाउँदैनथे।

केही समयपछि मानोहको छोरा जन्मियो। तिनको नाम सिमसोन राखियो। सिमसोन हुर्केपछि यहोवा परमेश्‍वरले तिनलाई धेरै बलियो बनाउनुभयो। तिनले हतियारविना हातैले सिंह मार्न सक्थे। एकचोटि सिमसोन एक्लैले ३० जना पलिस्तियालीलाई मारे। पलिस्तियालीहरूले तिनलाई घृणा गर्थे। तिनीहरू सिमसोनलाई मार्ने मौका खोजिरहेका थिए। एक रात सिमसोन गाजा भन्‍ने ठाउँमा निदाइरहेको बेला पलिस्तियालीहरू सहरको मूलढोकामा गए र उज्यालो भएपछि तिनलाई मार्न रातभरि ढुकेर बसे। तर मध्यरातमा सिमसोन जुरुक्क उठे र सहरको मूलढोकातिर गएर त्यो उखेलिदिए। तिनी त्यो आफ्नो काँधमा बोकेर हेब्रोननजिकै पर्ने डाँडाको टुप्पोसम्म गए!

पछि पलिस्तियालीहरू सिमसोनकी प्रेमिका दलिलालाई भेट्‌न गए र भने: ‘सिमसोन यत्तिको बलियो हुनुको कारण पत्ता लगाउन सक्यौ भने हामी तिमीलाई चाँदीका हजारौँ टुक्रा दिनेछौँ। हामी तिनलाई पक्रेर झ्यालखानामा हाल्न चाहन्छौँ।’ दलिला पैसा चाहन्थिन्‌, त्यसैले उनले तिनीहरूको कुरा मानिन्‌। सुरुमा त सिमसोनले आफू बलियो हुनुको कारण बताउन मानेनन्‌। तर उनले कचकच गरिरहिन्‌ र केही सीप नलागेपछि सिमसोनले भने: ‘मेरो कपाल अहिलेसम्म काटिएको छैन किनभने म नाजिरी हुँ। मेरो कपाल काटेमा मेरो बल जानेछ।’ सिमसोनले आफू बलियो हुनुको कारण बताएर ठूलो गल्ती गरे नि, होइन र?

दलिलाले तुरुन्तै पलिस्तियालीहरूलाई यस्तो खबर पठाइन्‌: ‘मलाई तिनी बलियो हुनुको रहस्य थाह भयो!’ उनले सिमसोनलाई आफ्नो काखमा सुताइन्‌ र एक जना मानिस बोलाएर तिनको कपाल ठुट्टो पार्न लगाइन्‌। दलिला यसो भनेर कराइन्‌: “सिमसोन! पलिस्तियालीहरू तपाईँलाई आक्रमण गर्न आए!” सिमसोन ब्युँझिँदा तिनको बल हटिसकेको थियो। त्यसपछि पलिस्तियालीहरूले तिनलाई पक्रेर अन्धो बनाइदिए र झ्यालखानामा हाले।

एकदिन हजारौँ पलिस्तियालीहरू आफ्ना देवता दागोनको मन्दिरमा भेला भएर यसो भन्दै कराए: ‘हाम्रा देवताले सिमसोनलाई हाम्रो हातमा सुम्पिदिएका छन्‌! त्यसलाई झ्यालखानाबाट यहाँ ल्याओ, हामी त्यसको रमिता हेरौँ।’ तिनीहरूले सिमसोनलाई ल्याएर दुई वटा खम्बाको बीचमा उभ्याए र तिनको खिसी गरे। तब सिमसोनले यसरी पुकारे: ‘हे यहोवा! कृपया मलाई यही एक पटकको लागि बल दिनुहोस्‌।’ यतिबेलासम्म सिमसोनको कपाल फेरि लामो भइसकेको थियो। तिनले भएभरको बल लगाएर मन्दिरका खम्बाहरूलाई ठेले। तब मन्दिर गर्ल्यामगुर्लुम ढल्यो र त्यहाँ भएका सबै पलिस्तियाली मरे। सिमसोनको पनि मृत्यु भयो।

“किनकि जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।”—फिलिप्पी ४:१३