पाठ ४९
दुष्ट रानीलाई सजाय दिइन्छ
यिज्रेलमा भएको राजा आहाबको महलबाट एउटा अङ्गुरको बगान देखिन्थ्यो। त्यो बगान नाबोथ नाम गरेका मानिसको थियो। आहाब त्यो अङ्गुरको बगान चाहन्थे र तिनले नाबोथसँग त्यो किन्ने प्रयास पनि गरे। तर नाबोथले बेच्न मानेनन् किनभने परमेश्वरको व्यवस्थाअनुसार पैतृक सम्पत्ति बेच्नु हुँदैन थियो। के आहाबले नाबोथले गरेको सही निर्णयको कदर गरे? अहँ, तिनी असाध्यै रिसाए। तिनी उदास भएर आफ्नो कोठाबाटै निस्किएनन् र खान पनि मानेनन्।
आहाबकी दुष्ट पत्नी ईजेबेलले तिनलाई भनिन्: ‘तपाईँ इस्राएलको राजा हुनुहुन्छ। तपाईँ आफूले चाहेको सबै कुरा पाउन सक्नुहुन्छ। म तपाईँलाई त्यो अङ्गुर बगान दिनेछु।’ उनले सहरका नाइकेहरूलाई पत्र लेखिन् र नाबोथलाई परमेश्वरको निन्दा गरेको आरोप लगाएर ढुङ्गाले हानेर मार्न भनिनन्। सहरका नाइकेहरूले उनले भनेझैँ गरे। त्यसपछि ईजेबेलले आहाबलाई भनिन्: ‘नाबोथ मरिसक्यो। त्यो अङ्गुर बगान अब तपाईँकै हो।’
ईजेबेलले मार्न लगाएको निर्दोष व्यक्ति नाबोथ मात्र त थिएन। यहोवालाई प्रेम गर्ने अरू थुप्रै मानिसलाई उनले मार्न लगाएकी थिइन्। उनी मूर्तिपूजा र अरू थुप्रै खराब काम गर्थिन्। ईजेबेलले गरेको सबै खराब काम यहोवाले देख्नुभएको थियो। उहाँले के गर्नुहुने थियो?
आहाबको मृत्युपछि तिनको छोरा यहोराम राजा भए। ईजेबेल र उनको परिवारलाई सजाय दिन यहोवाले येहु नाम गरेका मानिसलाई पठाउनुभयो।
येहु रथ चढेर ईजेबेल बस्ने ठाउँ यिज्रेलमा गए। तिनलाई भेट्न यहोराम रथ चढेर आए र भने: “के तिमी मित्रभावले आएका हौ?” तिनले जवाफ दिए: ‘तिम्री आमा ईजेबेलले दुष्ट कामहरू गर्न नछोडेसम्म तिमीसँग मित्रता गाँस्न सम्भव छैन।’ तब यहोराम तुरुन्तै आफ्नो रथ घुमाएर त्यहाँबाट भाग्न खोजे। तर येहुले यहोरामलाई धनुले हाने र तिनी मरे।
त्यसपछि येहु ईजेबेलको महलमा गए। येहु आइरहेका छन् भन्ने सुनेपछि उनले शृङ्गार गरिन्, कपाल बाटिन् र झ्यालबाट तल हेरेर बसिन्। येहु आइपुगेपछि उनले रुखो हुँदै अभिवादन गरिन्। तब उनीसँगै उभिरहेका उनका सेवकहरूलाई येहुले ठूलो स्वरमा भने: “त्यस स्त्रीलाई तल फ्याँकिदेओ!” तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए र उनी तल खसेर मरिन्।
त्यसपछि येहुले आहाबका ७० जना छोरालाई मारे र त्यहाँबाट बाआल उपासना हटाए। यहोवा सबै कुरा जान्नुहुन्छ र उहाँ खराब काम गर्नेहरूलाई ठीक समयमा सजाय दिनुहुन्छ भनेर के तिमीले थाह पायौ?
“लोभ गरेर हासिल गरेको धनसम्पत्तिबाट अन्तमा केही आशिष् पाइँदैन।”—हितोपदेश २०:२१