पाठ ४४
यहोवा परमेश्वरको लागि मन्दिर
सुलेमान इस्राएलको राजा भएपछि यहोवा परमेश्वरले तिनलाई सोध्नुभयो: ‘मैले तिमीलाई के दिएको चाहन्छौ?’ सुलेमानले भने: ‘म भर्खरको ठिटो हुँ र मसँग त्यत्ति अनुभव छैन। कृपया तपाईँको प्रजाको ख्याल राख्न मलाई बुद्धि दिनुहोस्।’ परमेश्वरले भन्नुभयो: ‘तिमीले बुद्धि मागेकोले म तिमीलाई संसारकै सबैभन्दा बुद्धिमान् मानिस बनाउनेछु। अनि म तिमीलाई धेरै धनसम्पत्ति दिनेछु। तिमीले मेरा आज्ञाहरू पालन गऱ्यौ भने म तिमीलाई दीर्घायु बनाउनेछु।’
सुलेमानले मन्दिर निर्माण गर्न सुरु गरे। तिनले निखुर सुन, चाँदी, काठ र ढुङ्गा प्रयोग गरे। यस काममा हजारौँ सिपालु पुरुष र स्त्रीले सघाए। सात वर्षपछि मन्दिर यहोवालाई समर्पण गर्नको लागि तयार भयो। त्यहाँ वेदी थियो र त्यसमाथि भेटीहरू राखिएका थिए। सुलेमानले वेदीसामु घुँडा टेकेर यसरी प्रार्थना गरे: ‘हे यहोवा, तपाईँको अगाडि यो मन्दिर न भव्य छ न त सुन्दर नै। तैपनि बिन्ती छ, हाम्रो उपासना स्विकार्नुहोस् र हाम्रो प्रार्थना सुन्नुहोस्।’ यहोवाले सुलेमानको प्रार्थना सुनेपछि के गर्नुभयो? सुलेमानको प्रार्थना सिद्धिनेबित्तिकै स्वर्गबाट आगोको मुस्लो झऱ्यो अनि वेदीमाथिको भेटीलाई भस्म गऱ्यो। यसरी उहाँले मन्दिरलाई स्विकार्नुभयो। यो देखेर इस्राएलीहरू धेरै रमाए।
राजा सुलेमान आफ्नो बुद्धिको लागि इस्राएलभरि र टाढाटाढाको ठाउँसम्म चिनिए। मानिसहरू समस्याहरू लिएर सुलेमानकहाँ आउँथे। सेबाकी महारानी पनि सुलेमानको परीक्षा लिन गाह्रा-गाह्रा प्रश्नहरू लिएर आइन्। तिनको जवाफ सुनेपछि उनले भनिन्: ‘तपाईँबारे मानिसहरूले भनेको कुरामा मलाई पत्यारै लागेको थिएन तर तपाईँ त मैले सुनेभन्दा पनि कता हो कता बुद्धिमान् हुनुहुँदो रहेछ। तपाईँका परमेश्वर यहोवाले तपाईँलाई आशिष् दिनुभएको छ।’ इस्राएलका मानिसहरूको जीवन सुखमय थियो। तर परिस्थिति परिवर्तन हुनै लागेको थियो।
“हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।”—मत्ति १२:४२