सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ३

पहिलो लोग्नेमान्छे र स्वास्नीमान्छे

पहिलो लोग्नेमान्छे र स्वास्नीमान्छे

यस चित्रमा के फरक छ, भन त। हो, यहाँ मान्छेहरू छन्‌। उनीहरू पहिलो लोग्नेमान्छे र स्वास्नीमान्छे हुन्‌। उनीहरूलाई कसले बनायो? परमेश्‍वरले। के तिमीलाई उहाँको नाउँ थाह छ? उहाँको नाउँ यहोवा हो। उहाँले बनाउनुभएको लोग्नेमान्छेको नाउँ आदम र स्वास्नीमान्छेको चाहिं हव्वा हो।

यहोवा परमेश्‍वरले आदमलाई यसरी बनाउनुभयो। उहाँले पहिले जमिनबाट माटो लिनुभयो र त्यसबाट असाध्यै राम्रो शरीर बनाउनुभयो। त्यसपछि उहाँले आदमको नाकमा सास फुकिदिनुभयो अनि ऊ जिउँदो भयो।

यहोवा परमेश्‍वरले आदमलाई एउटा काम दिनुभयो। उहाँले आदमलाई सबै जनावरको नाउँ राख्न लगाउनुभयो। आदमले ती जनावरलाई देखेको धेरै समय भइसकेको थियो। यसकारण उसले तिनीहरूको सबैभन्दा सुहाउने नाउँ राख्न सक्यो। आदमले जनावरको नाउँ राख्दै जाँदा एउटा कुरा देख्न थाल्यो। त्यो के हो, तिमीलाई थाह छ?

सबै जनावरका आ-आफ्नै जोडी थिए। त्यहाँ भाले हात्ती र पोथी हात्ती थिए, त्यहाँ सिंहका पनि भालेपोथी थिए। तर आदमको जोडी हुन सक्नेचाहिं कोही पनि थिएन। यसकारण यहोवाले आदमलाई गहिरो निद्रामा पारेर उसको एउटा करङ निकाल्नुभयो। त्यही करङबाट यहोवाले एउटी स्वास्नीमान्छे बनाइदिनुभयो र ऊ आदमकी पत्नी भई।

आदम असाध्यै खुसी भयो! सुन्दर बगैंचामा बस्न पाउँदा हव्वा पनि असाध्यै खुसी भई! अब उनीहरू पनि छोराछोरी जन्माएर आनन्दसित बस्न सक्थे।

आदम र हव्वा सधैंभरि बाँचेको यहोवा चाहनुहुन्थ्यो। उनीहरूले पूरै पृथ्वीलाई अदनको बगैंचाजस्तै सुन्दर बनाएको उहाँ चाहनुहुन्थ्यो। यस्तो राम्रो काम पाएर आदम र हव्वा दुवै असाध्यै खुसी भए! के तिमी पनि पृथ्वीलाई सुन्दर बगैंचा बनाउन चाहन्छौ? तर आदम र हव्वा धेरै बेरसम्म खुसी भइरहन सकेनन्‌। किन, अब हामी पत्ता लगाऔं