सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा १०

ठूलो जलप्रलय

ठूलो जलप्रलय

जहाजबाहिर मान्छेहरू आ-आफ्नो काममा मस्त थिए। उनीहरूले जलप्रलय हुन्छ भनेर अझै पत्याएका थिएनन्‌। उनीहरू बेस्सरी हाँसे। तर अचानक उनीहरू हाँस्न छोडे।

किनकि आकाशबाट एक्कासि पानी पर्न थाल्यो। बाल्टिनबाट पानी खन्याएको जस्तै गरी आकाशबाट बेस्सरी पानी पऱ्‍यो। नूहले ठीकै भनेको रहेछ! तर अब त जहाजभित्र कोही पनि पस्न सक्दैनथ्यो। यहोवाले बलियोसित ढोका बन्द गरिसक्नुभएको थियो।

केही बेरमै होचा ठाउँलाई पानीले ढाक्यो। पानीको भल ठूल्ठूला नदीजस्तै बग्न थाल्यो। पानीको भलले गर्दा रूखहरू ढलेको अनि ठूल्ठूला ढुंगाहरू यताउता पल्टेको ठूलो आवाज सुनिन थाल्यो। मान्छेहरू डराए। उनीहरू अग्ला-अग्ला ठाउँतिर भाग्न थाले। कठै, उनीहरूले नूहको कुरा सुनेर जहाजभित्र पसेको भए हुने थियो नि! तर अब त असाध्यै ढिलो भइसकेको थियो।

पानी बढ्‌दै-बढ्‌दै जान थाल्यो। चालीस दिन र चालीस रातसम्म आकाशबाट पानी परेकोपऱ्‍यै भयो। पानी बढेर पहाडका टुप्पा-टुप्पासम्म पुग्यो र केही बेरमै सबैभन्दो अग्लो पहाड पनि डुब्यो। परमेश्‍वरले भन्‍नुभएझैं जहाजबाहिर भएका सबै मान्छे र जनावर मरे। तर जहाजभित्र बस्नेजति सबैलाई केही पनि भएन।

नूह र उसका छोराहरूले जहाज राम्ररी बनाएका थिए। पानी माथि-माथि बढ्‌दै गए पनि जहाज पानीमा तैरिरह्‍यो। अनि एकदिन पानी पर्न बन्द भयो र घाम लाग्न थाल्यो। कस्तो गजब! जताततै विशाल समुद्रबाहेक केही थिएन। पानीमाथि एउटा जहाज मात्र तैरिरहेको थियो।

सबै राक्षसहरू पानीमा डुबेर मरिसकेका थिए। अब उनीहरूले मान्छेलाई फेरि दुःख दिन पाउने थिएनन्‌। ती राक्षसका आमाहरू अनि अरू सबै खराब मान्छेहरू पनि मरिसकेका थिए। तर राक्षसका बुबाहरूलाई चाहिं के भयो नि?

ती राक्षसका बुबाहरू वास्तवमा हामीजस्ता मान्छे थिएनन्‌। उनीहरू त मान्छेहरू जस्तै भएर पृथ्वीमा बस्न आएका स्वर्गदूतहरू पो थिए। त्यसैले जलप्रलय हुँदा उनीहरू अरू मान्छेजस्तै मरेनन्‌। उनीहरू मान्छेबाट फेरि स्वर्गदूत भए र फेरि स्वर्गतिरै फर्के। तर उनीहरूले फेरि परमेश्‍वरका अरू स्वर्गदूतसँगै बस्न पाएनन्‌। त्यसैले उनीहरू शैतानका स्वर्गदूत भए। बाइबलले उनीहरूलाई प्रेत भन्छ।

परमेश्‍वरले त्यसपछि बतास चलाउनुभयो। जलप्रलयको पानी पनि कम हुँदै गयो। पाँच महिनापछि जहाज पहाडको टुप्पोमा पुगेर अडियो। अझ धेरै दिन बित्यो अनि जहाजभित्र हुनेहरूले बाहिर हेर्दा पहाडका टुप्पा देख्न थाले। पानी झन्‌झन्‌ कम हुँदै गयो।

अनि नूहले एउटा कागलाई जहाजबाहिर उडाइदियो। तर बस्ने कुनै राम्रो ठाउँ नपाएर त्यो काग केही छिन उडेर फेरि फर्किहाल्यो। त्यो बारम्बार फर्केर जहाजमाथि आएर बस्थ्यो।

जमिन सुक्यो कि सुकेन भनेर थाह लगाउन नूहले त्यसपछि एउटा ढुकुरलाई जहाजबाहिर उडायो। तर बस्ने ठाउँ नपाएर ढुकुर पनि फर्केर आयो। नूहले दोस्रो पटक ढुकुरलाई उडाउँदा त्यसले आफ्नो चुच्चोमा जैतुनको पात लिएर आयो। पानी घट्‌न थालेछ भनेर अब नूहलाई थाह भयो। नूहले ढुकुरलाई तेस्रो पटक बाहिर उडाउँदा त्यसले बल्ल सुखा ठाउँ पायो।

परमेश्‍वरले त्यसपछि नूहसित कुरा गर्नुभयो। उहाँले यसो भन्‍नुभयो: ‘जहाजबाट बाहिर निस्की। तेरो सारा परिवार र जनावरहरूलाई तँसित बाहिर निकाल्‌।’ नूह र उसको परिवारले जहाजभित्र पसेको एक वर्षभन्दा धेरै भइसकेको थियो। त्यसैले जहाजबाट फेरि बाहिर निस्कन पाउँदा उनीहरू असाध्यै रमाए!