सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ५

दुःखी जीवन सुरु हुन्छ

दुःखी जीवन सुरु हुन्छ

अदनको बगैंचाबाट बाहिर निस्केपछि आदम र हव्वाले असाध्यै दुःख पाए। उनीहरूले खानेकुरा उमार्न धेरै मेहनत गर्नुपऱ्‍यो। उनीहरूले आफ्नो वरिपरि फलफूलका सुन्दर रूखको साटो थुप्रै काँडा र सिस्नु उम्रेको देखे। परमेश्‍वरको आज्ञा नमानेर उहाँको साथी हुन छोडेकोले आदम र हव्वाले दुःख पाए।

योभन्दा पनि नराम्रो कुरा त आदम र हव्वा मर्ने भए। परमेश्‍वरले उनीहरूलाई के भन्‍नुभएको थियो, तिमीलाई याद छ? उहाँले एउटा रूखको फल नखानू, नत्र मर्नेछौ भन्‍नुभएको थियो। तर उनीहरूले त्यो फल खाए र त्यसै दिनदेखि मर्न थाले। परमेश्‍वरको कुरा नसुनेर उनीहरूले असाध्यै मूर्ख काम गरे!

परमेश्‍वरले अदनको बगैंचाबाट निकालिदिनु भएपछि आदम र हव्वाका छोराछोरी जन्मे। तर उनीहरूका छोराछोरी पनि बूढाबूढी भएर मर्ने थिए।

यहोवाको आज्ञा मानेको भए आदम र हव्वा अनि उनीहरूका छोराछोरीको जीवन सुखी हुने थियो। उनीहरू पृथ्वीमा सधैंभरि खुसी भएर बाँच्न सक्ने थिए। कोही पनि बूढो हुने, बिरामी हुने अनि मर्ने थिएन।

मान्छेहरू खुसी भएर सधैंभरि बाँचेको परमेश्‍वर चाहनुहुन्छ र एक दिन फेरि यस्तै हुनेछ भनी उहाँले प्रतिज्ञा गर्नुभएको छ। त्यसपछि, पूरै पृथ्वी सुन्दर हुनेछ र त्यहाँ बस्ने सबै मान्छेहरू स्वस्थ पनि हुनेछन्‌। पृथ्वीमा बस्ने सबै एकअर्काको र परमेश्‍वरको असल साथी हुनेछन्‌।

हव्वा परमेश्‍वरको साथी भइरहन सकिन। त्यसकारण, छोराछोरी पाउने बेला उसलाई धेरै गाह्रो भयो। उसले असाध्यै दुःख पाई। यहोवाको आज्ञा नमानेकोले हव्वाले यस्तो दुःख भोग्नुपऱ्‍यो!

आदम र हव्वाका थुप्रै छोराछोरी भए। उनीहरूले आफ्नो जेठो छोरोको नाउँ कयिन राखे। माहिलो छोरोको नाउँ हाबिल राखे। यी छोराहरूलाई के भयो, तिमीलाई थाह छ?