सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा १

परमेश्‍वर थरीथरीका कुराहरू बनाउन थाल्नुहुन्छ

परमेश्‍वर थरीथरीका कुराहरू बनाउन थाल्नुहुन्छ

हामीसित भएका सबै असल कुरा परमेश्‍वरले दिनुभएको हो। उहाँले हामीलाई दिउँसो धेरै उज्यालो दिन घाम अनि राति थोरै उज्यालो दिन जून तथा ताराहरू बनाउनुभयो। हामी बस्नका लागि चाहिं परमेश्‍वरले पृथ्वी पनि बनाउनुभयो।

तर परमेश्‍वरले सबैभन्दा पहिले घाम, जून, तारा अनि पृथ्वी बनाउनुभएको होइन। उहाँले सबैभन्दा पहिले के बनाउनुभयो, तिमीलाई थाह छ? परमेश्‍वरले सबैभन्दा पहिला उहाँ जस्तै व्यक्‍तिहरू बनाउनुभयो। हामीले परमेश्‍वरलाई देख्न नसके जस्तै यी व्यक्‍तिहरूलाई पनि हामी देख्न सक्दैनौं। यी व्यक्‍तिहरूलाई बाइबलमा स्वर्गदूत भनिन्छ। परमेश्‍वरले स्वर्गदूतलाई आफूसितै स्वर्गमा बस्नका लागि बनाउनुभयो।

परमेश्‍वरले बनाउनुभएको पहिलो स्वर्गदूत अति नै विशेष व्यक्‍ति हुनुहुन्थ्यो। उहाँ परमेश्‍वरको जेठो छोरा हुनुहुन्छ र उहाँ आफ्नो बुबासँगै काम गर्नुहुन्थ्यो। अरू सबै थोक बनाउन उहाँले परमेश्‍वरलाई मदत गर्नुभयो। उहाँले परमेश्‍वरलाई घाम, जून, तारा अनि हाम्रो पृथ्वीसमेत बनाउन मदत गर्नुभयो।

त्यतिखेर पृथ्वी कस्तो थियो? सुरुमा त पृथ्वीमा कोही पनि बस्न सक्दैनथ्यो। पानी नै पानीले भरिएको ठूलो समुद्रले जम्मै पृथ्वीलाई ढाकेको थियो। तर परमेश्‍वर पृथ्वीमा मान्छे बसेको चाहनुहुन्थ्यो। त्यसैले, उहाँले पृथ्वीलाई मान्छे बस्न सक्ने बनाउन थाल्नुभयो। उहाँले के गर्नुभयो?

पहिले त पृथ्वीमा उज्यालो चाहियो। यसकारण परमेश्‍वरले घाम बनाएर पृथ्वीमाथि चम्कन दिनुभयो। उहाँले दिन र रात पनि छुट्याउनुभयो। त्यसपछि उहाँले जमिनलाई समुद्रको पानीभन्दा माथि उचाल्नुभयो।

सुरुमा त पृथ्वीमा केही पनि थिएन। त्यो यहाँ देखाइएको चित्रजस्तै थियो। त्यहाँ कुनै फूल, रूख अनि जनावर थिएन। समुद्रमा एउटा माछोसमेत थिएन। पृथ्वीलाई जनावर अनि मान्छे बस्नसक्ने किसिमको बनाउन परमेश्‍वरले अझ धेरै काम गर्न बाँकी नै थियो।