सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा १४

परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ

परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ

अब्राहाम के गर्दैछ, हेर त। उसित चक्कु पो छ। लौ, उसले त आफ्नै छोरोलाई मार्न लागेको जस्तो छ नि। उसले किन यस्तो काम गर्न लागेको होला? तर अब्राहाम र साराको कसरी छोरो भयो, पहिले त्यो बुझौं।

उनीहरूले एउटा छोरो जन्माउनेछन्‌ भनेर परमेश्‍वरले भन्‍नुभएको के तिमीलाई याद छ? तर अब्राहाम र सारा धेरै बूढाबूढी भइसकेका थिए। त्यसैले उनीहरूले छोरो जन्माउन असम्भवजस्तो देखिन्थ्यो। तर असम्भव देखिने कुरा पनि परमेश्‍वरले पूरा गर्न सक्नुहुन्छ भनेर अब्राहामले विश्‍वास गऱ्‍यो। त्यसोभए के अब्राहामको साँच्चै छोरो भयो त?

एक वर्षपछि परमेश्‍वरले भन्‍नुभएको कुरा साँच्चै पूरा भयो। अब्राहामको उमेर १०० वर्ष र साराको उमेर ९० वर्ष हुँदा उनीहरूले छोरो जन्माए। उनीहरूले उसको नाउँ इसहाक राखे। हो, परमेश्‍वरले आफूले भन्‍नुभएको कुरा पूरा गर्नुभयो!

इसहाक ठूलो भएपछि यहोवाले अब्राहामको जाँच लिनुभयो। उहाँले ‘अब्राहाम!’ भनेर बोलाउनुभयो। अब्राहामले ‘हजुर!’ भनेर जवाफ दियो। त्यसपछि परमेश्‍वरले भन्‍नुभयो: ‘तेरो छोरो, तेरो एकमात्र छोरो इसहाकलाई लिएर मैले देखाएको पहाडमा जा। त्यहाँ तेरो छोरोलाई मारेर बलिदान चढा।’

परमेश्‍वरको कुरा सुनेर अब्राहाम असाध्यै दुःखी भयो। किनकि ऊ आफ्नो छोरालाई धेरै माया गर्थ्यो। अब्राहामका छोराछोरी कनान देशमा बस्नेछन्‌ भनेर परमेश्‍वरले भन्‍नुभएको थियो। तर इसहाक नै मऱ्‍यो भने परमेश्‍वरले भन्‍नुभएको कुरा कसरी पूरा हुने? अब्राहामले बुझ्नै सकेन। तैपनि उसले परमेश्‍वरको आज्ञा मान्यो।

पहाडमा पुगेपछि अब्राहामले एउटा वेदी बनायो, अनि इसहाकलाई बाँधेर त्यसमाथि राख्यो त्यसपछि उसले आफ्नो छोरोलाई मार्न चक्कु निकाल्यो। तर ठीक त्यसैबेला परमेश्‍वरको स्वर्गदूतले ‘अब्राहाम! अब्राहाम!’ भनेर बोलाए। अब्राहामले जवाफ दिंदै भन्यो, ‘हजुर!’

परमेश्‍वरले अब्राहामलाई यसो भन्‍नुभयो: ‘तेरो हात त्यस केटोमाथि नउठा। त्यसलाई केही नगर्‌। किनभने अब मलाई थाह भयो तैंले ममाथि साँच्चै विश्‍वास गर्दोरहेछस्‌ र तैंले आफ्नो छोरो, आफ्नो एकमात्र छोरोलाई पनि मबाट रोकेर राखिनस्‌।’

अब्राहामले परमेश्‍वरमाथि कत्ति धेरै विश्‍वास गरेको रहेछ! इसहाक मरे तापनि यहोवाले उसलाई जिउँदो बनाउन सक्नुहुन्छ भनेर अब्राहामलाई विश्‍वास थियो। यहोवालाई कुनै पनि काम असम्भव छैन। तर अब्राहामले इसहाकलाई साँच्चै मारेको परमेश्‍वर चाहनुहुन्‍न थियो। यसकारण परमेश्‍वरले नजिकैको झाडीमा एउटा भेडा अल्झाइदिनुभएर अब्राहामलाई उसको छोरोको साटो त्यही भेडा बलिदान चढाउन लगाउनुभयो।