सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा २३

फिरऊनका सपना

फिरऊनका सपना

दुई वर्ष बितिसक्यो तर यूसुफ जेलमै छ। फिरऊनलाई रक्सी दिने नोकरले उसलाई सम्झँदैन। एक रात फिरऊनले दुइटा विशेष सपना देख्छ र ऊ त्यसको अर्थ के होला भन्दै सोच्न थाल्छ। फिरऊनलाई मस्त निदाइरहेको तल चित्रमा हेर त। भोलिपल्ट बिहान फिरऊन आफ्ना बाठा मान्छेहरूलाई बोलाउन पठाउँछ र आफूले सपनामा देखेको कुरा उनीहरूलाई बताउँछ। तर उनीहरूले फिरऊनको सपनाको अर्थ बताउनै सक्दैनन्‌।

त्यसपछि बल्ल फिरऊनको नोकरले यूसुफलाई सम्झन्छ। उसले फिरऊनलाई यसो भन्छ: ‘म जेलमा छँदा सपनाको अर्थ बताउन सक्ने एक जना मान्छे थियो।’ फिरऊनले तुरुन्तै यूसुफलाई जेलबाट बाहिर निकाल्न लगाउँछ।

अनि फिरऊनले यूसुफलाई आफ्नो सपना बताउँछ: ‘मैले सातवटा मोटा र राम्रा गाई देखें। त्यसपछि मैले सातवटा हड्डी र छाला मात्र भएका असाध्यै दुब्ला गाई देखें। ती दुब्ला गाईले मोटा गाईलाई खाइहाले।’

‘अर्को सपनामा चाहिं मैंले एउटै डाँठमा सात-सातवटा पोटिला अनि पाकेका अन्‍नका बाला देखें। त्यसपछि मैले सातवटा सेप्रो अनि ओइलाएका बाला देखें। मैले हेर्दाहेर्दै ती ओइलाएका बालाले सातवटा पोटिला बालालाई निल्न थाले।’

यूसुफले फिरऊनलाई भन्छ: ‘यी दुईवटा सपनाको एउटै अर्थ छ। सातवटा मोटा गाई र सातवटा पोटिला बालाको अर्थ सात वर्ष हो र सातवटा दुब्ला गाई र सातवटा ओइलाइसकेका बालाको अर्थचाहिं अरू सात वर्ष हो। मिश्रमा सात वर्षसम्म धेरै खानेकुरा उम्रनेछ। तर त्यसको सात वर्षपछि चाहिं असाध्यै थोरै खानेकुरा उम्रनेछ।’

यसकारण यूसुफले फिरऊनलाई भन्छ: ‘एक जना बाठो मान्छे छान्‍नुहोस्‌ र उसलाई सात वर्षभरि खानेकुरा जम्मा गर्ने जिम्मा दिनुहोस्‌। त्यसो गर्नुभयो भने अर्को सात वर्षभरि थोरै खानेकुरा उम्रँदा मान्छेहरू भोकले मर्नेछैनन्‌।’

फिरऊनलाई यो कुरा मनपर्छ। खानेकुरा बटुलेर त्यसलाई भकारीमा जम्मा गर्ने काम उसले यूसुफलाई नै दिन्छ। त्यसपछि फिरऊनले यूसुफलाई मन्त्री पनि बनाउँछ।

आठ वर्षपछि, अनिकालको बेलामा यूसुफले केही मान्छे आइरहेको देख्छ। उनीहरू को थिए, तिमीलाई थाह छ? यूसुफकै १० जना दाइहरू! याकूबले उनीहरूलाई मिश्रमा पठाएको थियो। किनभने कनानमा खानेकुरा सिद्धिन लागेको थियो। यूसुफले आफ्ना दाइहरूलाई चिन्छ तर उनीहरूले भने यूसुफलाई चिन्दैनन्‌। किन होला, भन्‍न सक्छौ? किनभने यूसुफ अब ठूलो भइसकेको थियो। अनि उसले लगाउने लुगा पनि बेग्लै थियो।

यूसुफले केटाकेटी छँदा दाइहरू आएर ढोगेको सपना देखेको थियो। अहिले यूसुफलाई त्यो सपना झलझली याद आउँछ। तिमीलाई याद छ, यसबारे हामीले पहिल्यै पढिसक्यौं नि? अब भने परमेश्‍वरले उसलाई राम्रै कारणले गर्दा मिश्रमा पठाउनुभएको रहेछ भनेर यूसुफले बुझ्छ। यूसुफले आफ्ना दाइहरूसित कस्तो व्यवहार गर्ला जस्तो तिमीलाई लाग्छ? हामी अर्को कथा पढेर थाह लगाऔं है त।