कथा ३०
बलिरहेको पोथ्रो
एक दिनको कुरा हो, मोशा आफ्ना भेडाहरू चराउँदै होरेब पर्वतसम्म पुग्यो। त्यहाँ उसले पोथ्रो अर्थात् सानो रूख दनदनी बलिरहेको देख्यो। तर कस्तो अचम्म! त्यो पोथ्रो बलिरहेको थियो, तरै पनि भस्म भएको थिएन!
मोशाले मनमनै सोच्यो: ‘यो त कति अनौठो पोथ्रो रहेछ! नजिकै गएर अझ राम्ररी हेर्नु पऱ्यो क्यार।’ तर ऊ नजिक मात्र के पुगेको थियो त्यो बलिरहेको पोथ्रोबाट यस्तो आवाज आयो: ‘अझ नजिक नआइज। तेरो जुत्ता फुकाल् किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो।’ वास्तवमा त्यो आवाज परमेश्वरको स्वर्गदूतको थियो। यसकारण मोशाले हत्त न पत्त आफ्नो अनुहार ढाक्यो।
अनि परमेश्वरले भन्नुभयो: ‘मैले मिश्रमा मेरा मान्छेहरूको दुःख देखेको छु। अब म उनीहरूलाई मिश्रबाट छुटाएर ल्याउनेछु। मेरा मान्छेहरूलाई मिश्रबाट बाहिर निकाल्न म तँलाई नै पठाउँछु।’ यहोवाले आफ्ना मान्छेहरूलाई मिश्र देशबाट छुटाएर कनानको सुन्दर ठाउँमा लैजान लाग्नुभएको थियो।
तर मोशाले यस्तो जवाफ दियो: ‘म जस्तो मान्छेले पनि यस्तो काम कसरी गर्न सक्छु र? म गएँ भने पनि “तिमीलाई कसले पठायो?” भनेर इस्राएलीहरूले मलाई सोध्नेछन्। अनि त्यतिखेर मैले के भन्ने?’
त्यसपछि परमेश्वरले मोशालाई यसो भन्नुभयो: ‘ “अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर र याकूबको परमेश्वर, यहोवाले मलाई पठाउनुभएको हो” भनेर तैंले भन्नू।’ अनि यहोवाले यसो पनि भन्नुभयो: ‘मेरो नाउँ सधैं यही हुनेछ।’
‘तर मलाई तपाईंले पठाउनुभएको हो भन्दा पनि उनीहरूले विश्वास गरेनन् भने नि?’ मोशाले सोध्यो।
मोशाको कुरा सुनेर परमेश्वरले सोध्नुभयो: ‘तेरो हातमा के छ?’
मोशाले भन्यो: ‘लट्ठी।’
परमेश्वरले भन्नुभयो: ‘त्यसलाई भुइँमा फालिदे।’ मोशाले भुइँमा लट्ठी फल्दा त्यो सर्प पो बन्यो। यसपछि यहोवाले मोशालाई अर्को चमत्कार देखाउनुभयो। उहाँले भन्नुभयो: ‘तेरो हात लुगाभित्र हाल्।’ मोशाले त्यसै गऱ्यो र फेरि हात बाहिर निकाल्दा त कुष्ठरोग लागेको मान्छेको हातजस्तै सेतो न सेतो भयो! यसपछि यहोवाले मोशालाई तेस्रो चमत्कार गर्ने शक्ति पनि दिनुभयो। अन्तमा उहाँले यसो भन्नुभयो: ‘तैंले यी चमत्कारहरू गरेपछि मैले नै तँलाई पठाएको हो भनेर इस्राएलीहरूले पत्याउनेछन्।’
यसपछि मोशा घर गयो अनि यित्रोलाई यसो भन्यो: ‘कृपया मलाई मिश्रमा मेरा नातेदारहरू भेट्न जान दिनुहोस्।’ यित्रोले बिदाबारी गरेपछि मोशाले मिश्र देशतिर लामो यात्रा सुरु गऱ्यो।