सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा २८

बालक मोशालाई कसरी बचाइयो

बालक मोशालाई कसरी बचाइयो

हेर त त्यो सानो बालक एउटी आइमाईको औंला समातेर कस्तो रोइरहेछ। त्यो बालक मोशा हो। अनि ती राम्री आइमाईचाहिं को हो, तिमीलाई थाह छ? ऊ फिरऊनकी छोरी अर्थात्‌ मिश्रकी राजकुमारी हो।

मोशाकी आमा आफ्नो छोरालाई मिश्रीहरूले मार्न नपाओस्‌ भन्‍ने चाहन्थी। त्यसकारण, उसले मोशा तीन महिनाको नहोउन्जेल लुकाइराखी। तर एक न एक दिन मिश्रीहरूले मोशालाई भेट्टाउन सक्छन्‌ भनेर उसलाई थाह थियो। यसकारण आफ्नो छोराको ज्यान बचाउन उसले एउटा जुक्‍ति निकाली।

भित्रपट्टि पानी नपस्ने गरी उसले एउटा टोकरी तयार पारी। अनि त्यसभित्र मोशालाई राखेर उसले नील नदीको छेउमा पलाउने अग्ला-अग्ला घाँसहरूबीच राखी। मोशाकी दिदी मरियमलाई चाहिं नजिकै बसेर भाइलाई के हुँदो रहेछ भनेर हेर्न अह्राई।

एकछिन पछि फिरऊनकी छोरी नील नदीमा नुहाउन आई। अचानक उसले अग्ला-अग्ला घाँसहरूबीच एउटा टोकरी देखी। उसले एउटी कमारीलाई बोलाएर यसो भनी: ‘त्यो टोकरी मकहाँ ल्याऊ।’ राजकुमारीले टोकरी खोलेर हेर्दा त त्यहाँभित्र एउटा असाध्यै सुन्दर बच्चा पो देखी! सानो मोशा रोइरहेको थियो। यो देखेर राजकुमारीलाई असाध्यै दया लाग्यो। उसले बच्चालाई बचाउन खोजी।

यसपछि त्यहाँ मरियम आई। तिमीले उसलाई चित्रमा पनि देख्न सक्छौ। मरियमले फिरऊनकी छोरीलाई यसो भनी: ‘यो बच्चालाई दूध खुवाउन म एउटी इस्राएली आइमाईलाई बोलाइदिऊँ कि?’

राजकुमारीले भनी: ‘हुन्छ, बोलाइदेऊ।’

त्यसपछि मरियम दगुर्दै आफ्नी आमालाई बोलाउन गई। मोशाकी आमा आएपछि राजकुमारीले यसो भनी: ‘तिमी यो बच्चालाई लगेर दूध खुवाऊ। म तिमीलाई पैसा दिन्छु।’

यसरी मोशाकी आमाले आफ्नै छोरोको हेरविचार गर्न पाई। पछि मोशा अलि ठूलो भएपछि उसलाई फिरऊनकी छोरीकहाँ पुऱ्‍याइदिई र फिरऊनकी छोरीले मोशालाई आफ्नै छोरा जस्तै गरी पाली। यसरी मोशा फिरऊनको दरबारमा हुर्क्यो।