सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ३१

मोशा र हारून फिरऊनलाई भेट्‌न जान्छन्‌

मोशा र हारून फिरऊनलाई भेट्‌न जान्छन्‌

मिश्र पुगेपछि मोशाले आफ्नो दाइ हारूनलाई सबै कुरा बतायो। मोशा र हारूनले इस्राएलीहरूलाई चमत्कार गरेर देखाएपछि यहोवाले भन्‍नुभएको कुरा उनीहरूले पत्याए।

तब मोशा र हारून फिरऊनलाई भेट्‌न गए। उनीहरूले फिरऊनलाई यसो भने: ‘इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ, “मेरा मान्छेहरूलाई तीन दिनको बाटो हिंडेर उजाड-स्थानमा मेरो उपासना गर्न जान दे।” ’ तर फिरऊनले मानेन। बरु उल्टो यस्तो जवाफ पो दियो: ‘म यहोवालाई चिन्दिनँ र इस्राएलीहरूलाई जान पनि दिन्‍नँ।’

इस्राएलीहरूले यहोवाको उपासना गर्न कामबाट छुट्टी मागे भनेर फिरऊन रिसायो। यसकारण उसले झन्‌ बेस्सरी काममा दलायो। फिरऊनले यसरी झन्‌ दुःख दिएको देखेर इस्राएलीहरूले मोशालाई दोष लगाए। मोशा दुःखी भयो। तर यहोवाले मोशालाई चिन्ता नगर्नू भन्‍नुभयो। उहाँले भन्‍नुभयो: ‘मेरा मान्छेहरूलाई मिश्र देशबाट नफर्काएसम्म म फिरऊनलाई छोड्‌नेछैन।’

मोशा र हारून फेरि फिरऊनलाई भेट्‌न गए। यस पटक उनीहरूले एउटा चमत्कार गरेर देखाए। हारूनले आफ्नो लट्ठी भुइँमा फाल्यो र त्यो ठूलो सर्प बन्यो। तर फिरऊनका जादूगरहरूले पनि आ-आफ्ना लट्ठीहरू फालेर सर्प बनाए। तर चित्रमा हेर त। हारूनको सर्पले ती जादूगरहरूका सर्पहरूलाई निल्दैछ। तैपनि, फिरऊनले इस्राएलीहरूलाई जान दिएन।

यहोवाले त्यो घमन्डी फिरऊनलाई पाठ सिकाउने निधो गर्नुभयो। उहाँले के गर्नुभयो, तिमीलाई थाह छ? उहाँले मिश्रमाथि १० वटा ठूल्ठूला विपत्ति ल्याउनुभयो।

एकपछि अर्को विपत्ति भोगेपछि फिरऊनले मोशालाई बोलाउन पठाउँथ्यो र यसो भन्थ्यो: ‘यी विपत्तिहरू रोक, म इस्राएलीहरूलाई जान दिन्छु।’ तर विपत्ति रोकिएपछि फिरऊनको मन फेरि बद्‌लिन्थ्यो। ऊ इस्राएलीहरूलाई जान दिंदैनथ्यो। तर अन्तमा, १० औं विपत्ति भोगेपछि फिरऊनले इस्राएलीहरूलाई मिश्रबाट पठायो।

ती १० विपत्तिहरू के-के हुन्‌, के तिमीलाई थाह छ? हामी पाना पल्टाएर अर्को कथाबाट पत्ता लगाऔं है।