कथा २४
यूसुफ आफ्ना दाइहरूको जाँच लिन्छ
आफ्ना दाइहरू अझ पनि कठोर अनि निर्दयी स्वभावकै छन् कि भनेर यूसुफ जान्न चाहन्छ। त्यसैले ऊ यसो भन्छ: ‘तिमीहरू सबै जासूसहरू हौ। तिमीहरू हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ।’
यूसुफका दाइहरू हत्त न पत्त यसो भन्छन्: ‘होइन, हामी जासूसहरू होइनौं। हामी सोझा मान्छे हौं। हामी सबै दाजुभाइ हौं। हामी जम्मा १२ जना थियौं। तर एक जना भाइ अब छैन र कान्छोचाहिं घरमा बुबासित छ।’
यूसुफ उनीहरूलाई नपत्याएको जस्तै गर्छ। उसले शिमोन नाउँ भएको दाइलाई जेलमा हाल्छ र बाँकी अरूलाई चाहिं खानेकुरा दिएर घर फर्काउँछ। तर उनीहरू जानुअघि यूसुफले यसो भन्छ: ‘फर्केर आउँदा, तिमीहरूले आफूसित आफ्नो कान्छो भाइ पनि लिएर आउनू।’
आफ्नो घर कनान फर्केपछि यूसुफका दाइहरूले आफ्नो बुबा याकूबलाई सबै कुरा सुनाउँछन्। याकूब धेरै अफसोस मान्छ। ऊ यसो भन्दै रुन्छ: ‘यूसुफ छैन। अब शिमोन पनि छैन। म तिमीहरूलाई मेरो कान्छो छोरा बिन्यामीन लैजान दिन्न।’ तर खानेकुरा सिद्धिन थालेपछि बिन्यामीनलाई मिश्र देशमा पठाउन याकूबलाई करै लाग्छ।
त्यसपछि फेरि यूसुफले आफ्ना दाइहरूलाई भेट्छ। ऊ आफ्नो कान्छो भाइ बिन्यामीनलाई देखेर धेरै खुसी हुन्छ। तर, उनीहरूसित कुरा गर्ने मिश्रको ठूलो मान्छे यूसुफ हो भनेर चाहिं त्यतिबेलासम्म उनीहरू कसैलाई थाह हुँदैन। यूसुफ आफ्ना १० जना सौतेनी दाइहरूको जाँच लिने विचार गर्छ।
यूसुफले आफ्ना नोकरहरूलाई दाइहरूका झोलामा खानेकुरा राख्न लगाउँछ। त्यसपछि दाइहरूले थाह नपाउने गरी आफ्नो चाँदीको कचौरा बिन्यामीनको झोलामा हाल्न लगाउँछ। उनीहरू अलि पर पुगेपछि यूसुफले पछिपछि आफ्ना नोकरहरू पठाउँछ। यूसुफका नोकरहरूले उनीहरूलाई बाटोमा फेला पारेपछि यसो भन्छन्: ‘तिमीहरूले हाम्रो मालिकको कचौरा किन चोऱ्यौ?’
तर सबै दाजुभाइहरू भन्छन्: ‘हामीले कचौरा चोरेका छैनौं। हामीमध्ये जससँग त्यो कचौरा फेला पार्नुहुन्छ, त्यो व्यक्ति मारियोस्।’
यूसुफका नोकरहरूले सबैको झोला खोलेर हेर्दा बिन्यामीनको झोलामा कचौरा फेला पर्छ। बिन्यामीनको झोलाबाट कचौरा निकाल्दै गरेको तल चित्रमा हेर त। यूसुफका नोकरहरू यसो भन्छन्: ‘तिमीहरू सबै गए पनि हुन्छ तर बिन्यामीनचाहिं हामीसित फर्कनुपर्छ।’ परेन फसाद! अब के गर्ने?
उनीहरू सबै बिन्यामीनसँगै यूसुफको घर फर्कन्छन्। त्यहाँ पुगेपछि यूसुफले आफ्ना दाइहरूलाई यसो भन्छ: ‘तिमीहरू सबै घर जाओ तर बिन्यामीनचाहिं यहाँ मेरो नोकर भएर बस्नुपर्छ।’
यूसुफको कुरा सुनेपछि उसको दाइ यहूदा अघि सरेर भन्छ: ‘म यो केटालाई नलिईकन घर फर्कें भने यसको पीरले मेरो बुबाको ज्यान जान्छ। किनभने यसलाई हाम्रो बुबाले धेरै माया गर्नुहुन्छ। यसकारण कृपया, मलाई तपाईंको नोकर बनाउनुहोस् तर यो केटालाई चाहिं घर जान दिनुहोस्।’
आफ्ना दाइहरूको स्वभाव बद्लिएछ भनेर यूसुफले बुझ्छ। उनीहरू पहिलेजस्तो कठोर अनि निर्दयी रहेनछन्। अब यूसुफले के गर्छ, हामी अर्को कथा पढेर थाह लगाऔं।