सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा २१

यूसुफलाई दाइहरूले घृणा गर्छन्‌

यूसुफलाई दाइहरूले घृणा गर्छन्‌

यो केटालाई हेर त। बिचरा, ऊ कत्ति दुःखी देखिन्छ। ऊ यूसुफ हो। ऊ किन दुःखी भएको होला, के तिमीलाई थाह छ? दाइहरूले उसलाई मिश्र जान लागेका मान्छेहरूको हातमा बेचिदिएकोले। अब ऊ त्यहाँ दास बन्‍नु पर्नेछ। यूसुफका सौतेनी दाइहरूले किन यस्तो नराम्रो काम गरेका होलान्‌? किनभने उनीहरू यूसुफको डाह गर्थे।

उनीहरूका बुबा याकूबले यूसुफलाई धेरै मन पराउँथ्यो। याकूबले यूसुफका लागि भनेर लामो अनि बेग्लै किसिमको सुन्दर कोट बनाइदिएको थियो। याकूबले यूसुफलाई धेरै माया गरेको देखेर उसका १० जना दाइले डाह अनि घृणा गर्न थाले। तर उनीहरूले यूसुफलाई घृणा गर्नुको अर्को कारण पनि थियो।

एकचोटि यूसुफले दुइटा सपना देखेको थियो। दुइटै सपनामा यूसुफले आफ्ना दाइहरूले उसलाई ढोगेको देखेको थियो। यूसुफले आफ्ना दाइहरूलाई सपना बताएपछि उनीहरूले झन्‌ घृणा गर्न थाले।

एकदिनको कुरा हो, दाइहरूले आफ्नो बुबाका भेडाहरू चराइरहेको बेलामा याकूबले यूसुफलाई हालखबर बुझ्न पठाउँछ। यूसुफलाई आइरहेको देखेर उसका केही दाइहरूले यसो भने: ‘अब हामी त्यसलाई मारौं!’ तर सबैभन्दा जेठो दाइ रूबेन मान्दैन। उसले ‘होइन, तिमीहरूले त्यसो गर्नु हुँदैन’ भन्छ। त्यसपछि उनीहरूले यूसुफलाई समातेर पानी नभएको सुक्खा खाल्डोमा फालिदिए। अनि सबै बसेर यूसुफलाई अब के गर्ने भनेर छलफल गर्न थाले।

ठीक त्यसैबेला केही इश्‍माएली यात्रीहरू त्यहाँबाट गइरहेका हुन्छन्‌। यहूदा आफ्ना सौतेनी दाजुभाइलाई यसो भन्छ: ‘बरु हामी यूसुफलाई यही इश्‍माएलीहरूको हातमा बेचिदिउँ।’ र उनीहरू त्यसै गर्छन्‌। उनीहरू २० टुक्रा चाँदीमा यूसुफलाई बेच्छन्‌। यूसुफका दाइहरू कत्ति निष्ठुरी हगि?

तर अब बुबाले यूसुफलाई खोज्नुभयो भने के गर्ने? यूसुफका दाइहरू सोच्न थाल्छन्‌। त्यसपछि, उनीहरूले एउटा बाख्रा मारेर त्यसको रगतमा यूसुफको सुन्दर कोट दुई-तीन खेप चोपल्छन्‌। अनि त्यो कोट घरमा लगेर बुबालाई देखाउँछन्‌: ‘हामीले यो कोट भेट्टायौं। हेर्नुहोस्‌ त, कतै यूसुफको पो हो कि?’

त्यो कोट यूसुफकै हो भनेर याकूबले चिनिहाल्छ। ऊ यसो भन्दै रुन्छ: ‘पक्कै पनि जंगली जनावरले यूसुफलाई माऱ्‍यो होला।’ वास्तवमा यूसुफका दाइहरू पनि आफ्नो बुबाले त्यस्तै सोचेको चाहन्थे। याकूब धेरै अफसोस गर्छ। ऊ धेरै दिनसम्म रोइरहन्छ। तर यूसुफ मरेको छैन। उसलाई लगेको ठाउँमा के-के हुन्छ, हामी अर्को कथा पढौं है।