सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ४७

इस्राएलमा एक जना चोर

इस्राएलमा एक जना चोर

हेर, यो मान्छेले आफ्नो पालभित्र के गाड्‌दैछ! एउटा राम्रो ओढ्‌ने, सुनको लाप्सो र चाँदीका केही टुक्राहरू। उसले यी सबै कुरा यरीहो सहरबाट ल्याएको हो। तर यरीहोबाट ल्याएका चीजहरूलाई के गर्नुपर्थ्यो, तिमीलाई याद छ?

सुन र चाँदीलाई चाहिं यहोवाको बासस्थानको भण्डारमा हाल्नुपर्थ्यो। बाँकी जम्मै चीजलाई इस्राएलीहरूले नाश गर्नुपर्थ्यो। तर यी मान्छेहरूले परमेश्‍वरको आज्ञा मानेनन्‌। यिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने सामान चोरेर आफूसित राखे। यो मान्छेको नाउँ आकान हो र ऊसित भएका अरू उसकै परिवार हो। अब उनीहरूलाई के हुन्छ, हामी हेरौं।

आकानले यी सामानहरू चोरेर लुकाएपछि यहोशूले केही इस्राएलीहरूलाई ऐ सहरमा लडाइँ गर्न पठाउँछ। तर उनीहरू लडाइँमा हार्छन्‌। केहीलाई शत्रुहरूले मार्छन्‌। बाँकी भागेर आउँछन्‌। यहोशू धेरै दुःखी हुन्छ। ऊ भुइँमा घोप्टो परेर यहोवालाई यसो भन्दै प्रार्थना गर्छ: ‘तपाईंले हामीमाथि किन यस्तो हुन दिनुभयो?’

यहोवाले यो जवाफ दिनुहुन्छ: ‘उठ्‌! इस्राएलले पाप गरेको छ। नाश गर्नुपर्ने अथवा यहोवाको बासस्थानमा राख्नुपर्ने सामान तिनीहरूले लिएका छन्‌। तिनीहरूले एउटा राम्रो ओढ्‌ने चोरेर लुकाएका छन्‌। तैंले त्यो चोर र त्यसले चोरेको सामान नाश नगरेसम्म म तँलाई आशिष्‌ दिनेछैन।’ त्यसपछि यहोवाले यहोशूलाई त्यो चोर चिनाइदिन्छु भन्‍नुहुन्छ।

यहोवाको कुरा सुनिसकेपछि यहोशूले सबै इस्राएलीलाई भेला गर्छ। अनि यहोवाले त्यो चोर आकान हो भनेर चिनाइदिनुहुन्छ। आफ्नो चोरी थाह लागेपछि आकानले यसो भन्छ: ‘मैले पाप गरें। मैले एउटा राम्रो ओढ्‌ने, सुनको लाप्सो र चाँदीका केही टुक्राहरू देखें। मलाई असाध्यै लोभ लाग्यो र मैले ती लिएँ। ती सबै सामान मैले आफ्नो पालभित्र गाडेर राखेको छु।’

चोरीको सामान फेला परेपछि यहोशू आकानलाई यसो भन्छ: ‘तैंले किन हामीमाथि यस्तो संकट ल्याइस्‌? अब यहोवाले तँमाथि संकट ल्याउनुहुनेछ!’ यति भनेपछि सबै इस्राएलीले आकान र उसको परिवारलाई ढुंगाले हानेर मार्छन्‌। हामीले कहिल्यै अरूको सामान लिनुहुँदैन भनेर यो कथाबाट राम्रो पाठ सिक्छौं।

केही समयपछि इस्राएलीहरू फेरि ऐ सहरमा लडाइँ गर्न जान्छन्‌। यस पटक यहोवाले आफ्ना जनहरूलाई मदत गर्नुहुन्छ र उनीहरूले लडाइँ जित्छन्‌।