सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ४९

घाम अडिरहन्छ

घाम अडिरहन्छ

यहोशूलाई हेर! ऊ यसो भन्दैछ: ‘ए घाम, त जहाँ छस्‌, त्यहीं अडी!’ र घाम साँच्चै नै अडिरहन्छ। दिनभरि आकाशको बीचमा यहोवाले घामलाई अडाइराख्नुहुन्छ तर यहोशू किन घाम अडिरहेको चाहन्छ, हामी बुझौं।

कनान देशका पाँच जना खराब राजाले गिबोनीहरूसित लडाइँ गर्न थाल्दा गिबोनीहरूले यहोशूकहाँ मदत माग्न एक जना मान्छे पठाउँछन्‌। यो मान्छेले यहोशूलाई यसो भन्छ: ‘चाँडो आएर हामीलाई बचाउनुहोस्‌! हामी तपाईंका दासहरूसित लडाइँ गर्न पहाडी देशमा बस्ने जम्मै राजाहरू आएका छन्‌।’

यहोशू आफ्ना सिपाहीहरू लिएर तुरुन्तै जान्छ। उनीहरू रातभरि हिंड्‌छन्‌। उनीहरू गिबोन आइपुग्दा पाँच जना राजाका सिपाहीहरू डराएर भाग्न थाल्छन्‌। अनि यहोवाले आकाशबाट ठूल्ठूला असिनाहरू वर्षाउनुहुन्छ। यहोशूका सिपाहीहरूले मारेकोभन्दा पनि धेरै मान्छेहरू त असिनाको चोटले नै मर्छन्‌।

यहोशूले घाम अस्ताउन थालेको देख्छ। घाम अस्तायो भने त ती पाँच जना खराब राजाका धेरैजसो सिपाहीहरू उम्कनेछन्‌। त्यसकारण यहोशूले यहोवालाई प्रार्थना गर्छ अनि यसो भन्छ: ‘ए घाम, त जहाँ छस्‌, त्यहीं अडी!’ अनि घाम लागुन्जेल इस्राएलीहरूले लडाइँ सिध्याउन पाउँछन्‌।

कनानमा परमेश्‍वरका जनहरूलाई घृणा गर्ने अरू खराब राजाहरू पनि छन्‌। कनानका ३१ जना राजालाई हराउन यहोशू र उसको सेनालाई झन्डै छ वर्ष लाग्छ। यहोशूले त्यसपछि कनान देशलाई आफ्नो हिस्सा नपाउने कुलहरूलाई बाँड्‌छ।

धेरै वर्षपछि यहोशू ११० वर्षको उमेरमा मर्छ। यहोशू र उसका साथीहरू बाँचुन्जेल इस्राएलीहरूले यहोवाको आज्ञा मान्छन्‌। तर यी असल मान्छेहरू मरेपछि इस्राएलीहरूले खराब कुराहरू गर्न थाल्छन्‌ र फेरि सकंटमा पर्छन्‌। यस्तो बेलामा उनीहरूलाई परमेश्‍वरको मदतको खाँचो पर्न थाल्छ।