सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ३५

यहोवा आफ्ना आज्ञाहरू दिनुहुन्छ

यहोवा आफ्ना आज्ञाहरू दिनुहुन्छ

मिश्र छोडेको करिब दुई महिनापछि इस्राएलीहरू सीनै पर्वतमा पुग्छन्‌। यस पर्वतलाई होरेब पनि भनिन्छ। यही पर्वतमा यहोवाले मोशासित बलिरहेको पोथ्राबाट बोल्नुभएको थियो। इस्राएलीहरू आ-आफ्ना पाल टाँगेर केही समयका लागि यहीं बस्छन्‌।

इस्राएलीहरू तल पर्खेर बस्दा मोशाचाहिं पर्वतमा उक्लिन्छ। माथि पुगेपछि यहोवा मोशासित बोल्नुहुन्छ। इस्राएलीहरूले उहाँको आज्ञा पालन गरेको अनि उहाँको विशेष जन बनेको उहाँ चाहनुहुन्छ भनेर यहोवाले मोशालाई भन्‍नुहुन्छ। तल ओर्लेपछि मोशाले इस्राएलीहरूलाई यहोवाले भन्‍नुभएका सबै कुरा बताउँछ। मोशाको कुरा सुनेपछि इस्राएलीहरूले पनि हामी यहोवाको आज्ञा मान्‍नेछौं अनि उहाँको विशेष जन बन्‍न चाहन्छौं भनेर जवाफ दिन्छन्‌।

त्यसपछि यहोवाले अनौठो काम गर्नुहुन्छ। उहाँले पर्वतको टाकुराबाट धुवाँ निकाल्नुहुन्छ, गड्याङगुडुङ हुन्छ र बिजुली चम्कन्छ। अनि इस्राएलीहरूसित कुरा गर्दै यसो भन्‍नुहुन्छ: ‘म यहोवा तेरा परमेश्‍वर हुँ जसले तँलाई मिश्रबाट निकालेर ल्यायो।’ यसपछि उहाँले यो आज्ञा दिनुहुन्छ: ‘तैंले मबाहेक अरू कुनै देवता नमान्‍नू।’

परमेश्‍वरले इस्राएलीहरूलाई अझ अरू नौ वटा आज्ञा अथवा नियमहरू दिनुहुन्छ। इस्राएलीहरू असाध्यै डराउँछन्‌। उनीहरू मोशालाई यसो भन्छन्‌: ‘हामीसित तपाईं नै कुरा गर्नुहोस्‌ किनभने हामीसित परमेश्‍वरले कुरा गर्नुभयो भने हामी मर्नेछौं।’

अनि केही समयपछि यहोवाले मोशालाई भन्‍नुहुन्छ: ‘मकहाँ पर्वतमा आइज। म तँलाई ढुंगाको दुई वटा पाटी दिन्छु। त्यसमा इस्राएलीहरूले पालन गर्नुपर्ने आज्ञाहरू मैले लेखेको छु।’ यसकारण मोशा फेरि पर्वतमा उक्लिन्छ। चालीस दिन र चालीस रात ऊ त्यहीं बस्छ।

यहोवाले आफ्ना जनहरूलाई अरू थुप्रै नियम पनि दिनुहुन्छ। मोशाले ती जम्मै लेख्छ। परमेश्‍वरले मोशालाई ढुंगाको दुई वटा पाटी पनि दिनुहुन्छ। त्यसमा परमेश्‍वर आफैले १० वटा नियम लेख्नुहुन्छ। ती नियमहरूलाई दस आज्ञा भनिन्छ। यी आज्ञाहरू उहाँले पहिल्यै इस्राएलीहरूलाई बताइसक्नुभएको थियो।

यहोवाले दिनुभएको दस आज्ञा महत्त्वपूर्ण नियमहरू हुन्‌। तर परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएका अरू नियमहरू पनि महत्त्वपूर्ण छन्‌। तीमध्ये एउटा नियम यो हो: ‘तिमीहरूले यहोवा आफ्नो परमेश्‍वरलाई आफ्नो सारा हृदय, आफ्नो सारा मन, आफ्नो सारा प्राण र आफ्नो सारा शक्‍तिले प्रेम गर्नू।’ अर्कोचाहिं यो हो: ‘तैंले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू।’ यहोवाले आफ्ना जन इस्राएलीहरूलाई दिनुभएका नियमहरूमध्ये यी दुई नियम सबैभन्दा ठूला नियम हुन्‌ भनेर परमेश्‍वरका छोरा येशू ख्रीष्टले भन्‍नुभयो। परमेश्‍वरका छोराबारे र उहाँले सिकाउनुभएका थुप्रै कुराहरू हामी पछि सिक्नेछौं।