सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ३७

यहोवाको उपासना गर्ने पाल

यहोवाको उपासना गर्ने पाल

यो के हो, तिमीलाई थाह छ? यो यहोवाको उपासना गर्न बनाइएको विशेष पाल हो। यसलाई बासस्थान पनि भनिन्छ। मिश्र देशबाट निस्केर आएको एक वर्षपछि इस्राएलीहरूले यो पाल बनाउने काम सिध्याए। यो पाल बनाउने आज्ञा कसले दियो, तिमीलाई थाह छ?

यहोवाले। मोशा सीनै पर्वतमा हुँदा यहोवाले यो पाल बनाउने तरिका बताउनुभएको थियो। यहोवाले यो पाललाई सजिलैसित अलग अलग पार्न मिल्ने गरी बनाउन लगाउनुभयो। पाललाई अलग अलग पार्न मिल्ने भएकोले यसलाई अर्को ठाउँमा लैजान र त्यहाँ फेरि जस्ताको तस्तै बनाएर राख्न सकिन्थ्यो। इस्राएलीहरू उजाड-स्थानमा एक ठाउँबाट अर्को ठाउँ जाँदा यो पाललाई बोकेर लैजान्थे।

पाल छेउको सानो कोठालाई हेर त। त्यहाँ एउटा बाकस छ। यसलाई करारको सन्दुक भनिन्छ। सन्दुकको दुवैतिर सुनका एक-एक वटा स्वर्गदूत अर्थात्‌ करूबहरू छन्‌। दस आज्ञा लेखिएको ढुंगाका दुई पाटी मोशाले फुटाइदिएको हुँदा परमेश्‍वरले ती आज्ञा फेरि अर्को दुई वटा पाटीमा लेखेर दिनुभयो। यी दुई पाटीलाई करारको सन्दुकभित्र राखिन्थ्यो। सन्दुकभित्र एउटा भाँडोमा मन्‍न पनि राखिन्थ्यो। मन्‍न के हो, तिमीलाई याद छ?

यहोवाले मोशाका दाइ हारूनलाई प्रधान पूजाहारी बनाउनुभयो। त्यसपछि हारूनले इस्राएलीहरूलाई यहोवाको उपासना गर्न मदत दिन थाल्यो। हारूनका छोराहरू पनि पूजाहारी भए।

अब पालको ठूलो कोठालाई हेर त। यो कोठा, कुनाको सानो कोठाभन्दा दुई गुणा ठूलो छ। तिमीले राम्ररी हेऱ्‍यौ भने यो कोठाभित्र एउटा बाकस अथवा सानो सन्दुक अनि त्यसबाट धुवाँ निस्किरहेको देख्नेछौ। यो वेदी हो। पूजाहारीहरूले वेदीमा सुगन्धित धूप जलाउँथे। ठूलो कोठामा सात वटा बत्ती बाल्न मिल्ने पानस पनि छ। कोठामा एउटा टेबुल पनि छ। यो टेबुलमा १२ वटा रोटी राखिन्थ्यो।

पालको बाहिर आँगनमा पानीले भरिएको एउटा ठूलो बाटा छ। पूजाहारीहरूले यो बाटोको पानीले धोइधाइ गर्थे। आँगनमा ठूलो वेदी पनि छ। इस्राएलीहरूले जनावरहरू मारेर यो ठूलो वेदीमा यहोवाको लागि बलिदान चढाउँथे। यहोवाको उपासना गर्न बनाइएको यो पाललाई बीचमा पारेर इस्राएलीहरू त्यसको वरिपरि आ-आफ्ना पालहरूमा बस्थे।