कथा ३४
नौलो खानेकुरा
मान्छेहरूले भुइँबाट के टिप्दैछन्, के तिमी भन्न सक्छौ? हेर्दा त, तुसारोजस्तो सेतो-सेतो, पातलो अनि पत्रै-पत्र परेको देखिन्छ। तर यो तुसारो होइन। यो खानेकुरा हो।
इस्राएलीहरूले मिश्र छोडेको एक महिना जति भइसकेको छ। अहिले उनीहरू उजाड-स्थानमा छन्। यहाँ थोरै मात्र खानेकुरा पाइन्छ। यसकारण इस्राएलीहरू यसो भन्दै गनगन गर्छन्: ‘हामीलाई यहोवाले मिश्रमै मार्नुभएको भए पनि हुन्थ्यो। कमसेकम त्यहाँ हामीसित प्रशस्त खानेकुरा त थियो।’
इस्राएलीहरूको गनगन सुनेर यहोवा यसो भन्नुहुन्छ: ‘म आकाशबाट खानेकुरा बर्षाउनेछु।’ अनि यहोवाले त्यसै गर्नुहुन्छ। भोलिपल्ट बिहान, इस्राएलीहरूले भुइँभरि झरेको सेतो कुरा देख्दा एकअर्कालाई सोध्छन्: ‘यो के हो?’
अनि मोशाले यस्तो जवाफ दिन्छ: ‘यो यहोवाले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।’ इस्राएलीहरू त्यसलाई मन्न भन्ने नाउँ दिन्छन्। त्यसको स्वाद महमा पकाएको पातलो रोटीजस्तै हुन्छ।
मोशा इस्राएलीहरूलाई यसो पनि भन्छ: ‘हरेक व्यक्तिले आफूले खान सक्ने जति मात्र टिप्नू।’ इस्राएलीहरूले हरेक बिहान त्यसै गर्छन्। अनि घाम चर्किएपछि भुइँमा बाँकी रहेको मन्न पग्लेर बिलाउँछ।
मोशा अझै यसो भन्छ: ‘कसैले पनि यो मन्नलाई भोलिको लागि बचाएर नराख्नू।’ तर कुनै-कुनै इस्राएलीले टेर्दैन। नटेर्दाखेरि के हुन्छ, तिमीलाई थाह छ? उनीहरूले साँचेर राखेको मन्न भोलि बिहानसम्ममा स्याउँ-स्याउँती कीरा परेर गन्हाउन थालिसकेको हुन्छ!
तर, हप्ताको एक दिन अर्थात् छैटौं दिनमा चाहिं दुई गुणा मन्न जम्मा गर्नू र केही मन्न भोलिपल्टका लागि साँचेर राख्नू भनेर यहोवाले इस्राएलीहरूलाई भन्नुहुन्छ। किनभने सातौं दिनमा उहाँले मन्न बर्साउनुहुन्न। अचम्मलाग्दो कुरा, इस्राएलीहरूले छैटौं दिन दुई गुणा मन्न जम्मा गरे पनि भोलिपल्ट त्यसमा न त कीरा पर्छ न त्यो गन्हाउँछ!
इस्राएलीहरू उजाड-स्थानमा रहुन्जेल यहोवाले मन्न खुवाउनुहुन्छ।