सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ४६

यरीहोको पर्खाल

यरीहोको पर्खाल

लौ, यरीहोको पर्खाल ढल्दैछ! त्यहाँ ठूलो बम पड्‌केछ कि क्या हो? तर त्यतिखेर बम नै थिएन। अझ भनौं भने बन्दुकसमेत थिएन। त्यो पर्खाल यहोवाले चमत्कार गरेर ढाल्नुभएको हो! कसरी, अब हामी पत्ता लगाऔं है त।

यहोवा यहोशूलाई यसो भन्‍नुहुन्छ: ‘तँ र तेरा लडाकूहरू सहरको वरिपरि एक चोटि घुम्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू। घुम्न जाँदा करारको सन्दुक पनि लैजानू। सन्दुकको अघि-अघि सात जना पूजाहारीलाई तुरही फुक्दै हिंड्‌न लगाउनू।’

‘सातौं दिनमा तिमीहरू सहरको वरिपरि सात पटक घुम्नू। यसपछि तुरही जोडसँग फुक्नू र सबैलाई चर्को स्वरमा कराउन लगाउनू। त्यसपछि जम्मै पर्खाल गर्ल्यामगुर्लुम ढल्नेछ!’

यहोशू र इस्राएलीहरू यहोवाले भन्‍नुभएझैं गर्छन्‌। उनीहरू पहिले चुपचाप यरीहो सहरलाई घुम्छन्‌। कसैले एक शब्द पनि बोल्दैन। तुरही फुकेको र उनीहरू हिंडेको आवाजबाहेक केही सुनिंदैन। यरीहोभित्र इस्राएलीका शत्रुहरूलाई पक्कै पनि डर लाग्यो होला। चित्रमा झ्यालबाट रातो डोरी झुन्डिरहेको के तिमीले देख्यौ? त्यो कसको झ्याल हो तिमीलाई थाह छ? हो, राहाबको। उसले दुई जना जासुसले भनेझैं गरेकी छे। उसको जम्मै परिवार कोठाभित्र बसेर हेर्दैछ।

सातौं दिनमा, सहरको वरिपरि सात पटक घुमिसकेपछि इस्राएलीहरू तुरही फुकेर जोडसित कराउँछन्‌। त्यसपछि पर्खाल गर्ल्यामगुर्लुम ढल्छ। यहोशू आफ्ना मान्छेहरूलाई यसो भन्छ: ‘सहरभित्रका सबैलाई मारेर सहरलाई जलाउनू। कुनै पनि कुरा बाँकी नराख्नू, सबै जलाइदिनू। सुन, चाँदी, पित्तल, तामा र फलामचाहिं साँचेर राख्नू र त्यसलाई यहोवाको पालको भण्डारमा राख्नू।’

दुई जना जासुसलाई चाहिं यहोशू यसो भन्छ: ‘राहाबको घरमा जाओ र उसलाई र उसको सबै परिवारलाई बाहिर ल्याओ।’ यसरी जासुसहरूले राहाब र उसको परिवारलाई बचाएर आफ्नो वचन पूरा गर्छन्‌।