सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ५५

यहोवाको सेवा गर्ने सानो केटो

यहोवाको सेवा गर्ने सानो केटो

हेर त, यो केटो कति सुन्दर छ। उसको नाउँ शमूएल हो। उसको टाउकोमा हात राख्ने मान्छे इस्राएलको प्रधान पूजाहारी एली हो। चित्रमा देखिने अरू दुई जनाचाहिं उसको बुबा एल्काना र आमा हन्‍ना हुन्‌। उनीहरू शमूएललाई एलीकहाँ पुऱ्‍याउन आएका हुन्‌।

शमूएल भर्खर चार-पाँच वर्षको भयो। अब ऊ यहाँ एली र अरू पूजाहारीहरूसित यहोवाको बासस्थानमै बस्नेछ। एल्काना र हन्‍नाले यति सानो केटोलाई किन यहोवाको सेवा गर्न बासस्थानमा पठाएको होला?

केही वर्षअघि हन्‍ना धेरै दुःखी थिई। हन्‍नालाई बच्चा जन्माउने ठूलो रहर थियो तर उसको एउटै बच्चा थिएन। यसकारण, एकदिन यहोवाको बासस्थानमा गएको बेला हन्‍नाले यसो भन्दै प्रार्थना गरी: ‘हे यहोवा, मलाई सम्झनुहोस्‌! मलाई एउटा छोरा दिनुहोस्‌। मलाई छोरा दिनुभयो भने म उसलाई जीवनभर तपाईंकै सेवा गर्न पठाउनेछु।’

यहोवाले हन्‍नाको प्रार्थना सुन्‍नुभयो। केही महिनापछि उसले शमूएललाई जन्माई। हन्‍ना आफ्नो सानो छोरालाई धेरै माया गर्थी। सानो उमेरदेखि नै शमूएललाई यहोवाको विषयमा सिकाउन थाली। एकदिन हन्‍नाले आफ्नो पतिलाई यसो भनी: ‘शमूएलले ठूलो भएर दूध खान छोडेपछि म उसलाई यहोवाको बासस्थानमा सेवा गर्न पठाउँछु।’

अनि तिमीले चित्रमा देखेझैं, हन्‍ना र एल्कानाले शमूएललाई एलीकहाँ पुऱ्‍याउँछन्‌। आमाबाबुले राम्ररी सिकाएको हुनाले यहोवाको बासस्थानमा सेवा गर्न पाउँदा शमूएल खुसी हुन्छ। त्यसपछि हरेक वर्ष हन्‍ना र एल्काना यहोवाको बासस्थानमा जान्छन्‌ र आफ्नो सानो छोरालाई पनि भेट्‌छन्‌। हन्‍नाले चाहिं शमूएलका लागि भनेर हरेक वर्ष एउटा नयाँ कोट बनाएर लगिदिन्छे।

समय बित्दै जान्छ र शमूएल पनि यहोवाको बासस्थानमा सेवा गरिरहन्छ। यहोवा अनि अरू मान्छेहरूले पनि शमूएललाई मन पराउँछन्‌। तर प्रधान पूजाहारी एलीका छोरा होप्नी र पीनहास शमूएलजस्तो ज्ञानी छैनन्‌। तिनीहरू थुप्रै खराब काम गर्छन्‌ र अरूलाई पनि यहोवालाई मन नपर्ने काम गर्न लगाउन खोज्छन्‌। एलीले उनीहरूलाई पूजाहारी हुनदिनु हुँदैनथ्यो। तर उसले त्यसो गर्दैन।

यहोवाको बासस्थानमा भइरहेको खराब कुरा देखेर शमूएलले परमेश्‍वरको सेवा गर्न छोड्‌दैन। त्यतिखेर थोरैले मात्र यहोवालाई माया गरेको हुनाले उहाँले मान्छेहरूसित कुरा नगर्नुभएको धेरै समय भइसकेको थियो। शमूएल अलि ठूलो भएपछि एक चोटि यस्तो घटना हुन्छ:

बासस्थानमा सुतिरहेको बेला एउटा आवाजले गर्दा शमूएलको निद्रा खुल्छ। आवाज आउने बित्तिकै ऊ यसो भन्दै जवाफ दिन्छ: ‘म यहाँ छु।’ अनि जुरुक्क उठेर एलीकहाँ गएर भन्छ: ‘तपाईंले मलाई बोलाउनुभएको हो? म हाजिर छु।’

तर एलीले ‘मैले तिमीलाई बोलाएको होइन; जाऊ गएर सुत’ भन्छ। शमूएल फेरि गएर ओछ्यानमा पल्टन्छ।

तर दोस्रो चोटि फेरि ‘शमूएल!’ भनेर कसैले बोलाएको आवाज उसले सुन्छ। शमूएल फेरि एलीकहाँ दौडेर जान्छ र भन्छ: ‘तपाईंले मलाई बोलाउनुभएको हो? म हाजिर छु।’ तर एलीले ‘छोरा, मैले बोलाएको छैन। जाऊ, सुत’ भन्छ। यसकारण शमूएल फेरि ओछ्यानमा गएर सुत्छ।

शमूएलले तेस्रो पटक फेरि ‘शमूएल’ भनेको आवाज सुन्छ। यसकारण शमूएल एलीकहाँ दगुर्दै गएर भन्छ: ‘म हाजिर छु। यस पटक तपाईंले पक्कै पनि मलाई बोलाउनुभएकै हो।’ शमूएललाई पक्कै पनि यहोवाले नै बोलाउनुभएको हुनुपर्छ भनेर अब भने एलीलाई थाह हुन्छ। यसकारण उसले शमूएललाई भन्छ: ‘जाऊ र फेरि ओछ्यानमा गएर सुत। तिमीले फेरि बोलाएको आवाज सुन्यौ भने यसो भन्‍नू: “बोल्नुहोस्‌ यहोवा, तपाईंको सेवकले सुन्दैछ।” ’

यहोवाले फेरि बोलाउनुहुँदा शमूएलले त्यसै भन्छ। यहोवाले एली र उसका छोराहरूलाई सजाय दिन्छु भन्‍नुहुन्छ। पछि साँच्चै नै केही समयपछि होप्नी र पीनहास पलिश्‍तीहरूसित लडाइँ गर्न जाँदा मारिन्छन्‌। आफ्ना छोराहरू मारिएको खबर सुनेपछि एली आफू बसेको ठाउँबाट लड्‌छ र घाँटी भाँचिएर मर्छ। यहोवाको वचन यसरी सत्य साबित हुन्छ।

शमूएलचाहिं ठूलो हुँदै जान्छ। ठूलो भएर ऊ इस्राएलको अन्तिम न्यायकर्ता बन्छ। शमूएल बूढो भएपछि इस्राएलीहरू यस्तो माग गर्छन्‌: ‘हामीमाथि शासन गर्नलाई एउटा राजा छान्‍नुहोस्‌।’ शमूएल यसो गर्न चाहँदैन। किनभने वास्तवमा यहोवा नै इस्राएलीहरूको राजा हुनुहुन्थ्यो। तर यहोवाले शमूएललाई इस्राएलीहरूको कुरा सुन्‍न भन्‍नुहुन्छ।