सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ३६

सुनको बाछो

सुनको बाछो

लौ, हेर यिनीहरू के गर्दैछन्‌? यिनीहरू बाछोको मूर्तिलाई पो पुजिरहेका छन्‌! यिनीहरूले किन त्यसो गरेका होलान्‌?

मोशाले माथि होरेब पर्वतमा धेरै समय लगाएको देखेर तल इस्राएलीहरू यसो भन्‍न थाल्छन्‌: ‘मोशालाई के भयो, हामी जान्दैनौं। यसकारण हामीलाई यस उजाड-स्थानबाट निकालेर लैजान एउटा देवता बनाऔं।’

इस्राएलीहरूको कुरा सुनेर मोशाको दाइ हारून यसो भन्छ: ‘हुन्छ। तिमीहरूले आफ्नो कानमा लगाउने सुनको गहना फुकाल र मकहाँ ल्याउ।’ त्यसपछि हारूनले त्यो सुन पगालेर बाछोको मूर्ति बनाउँछ। अनि इस्राएलीहरू ‘हामीलाई मिश्रबाट निकालेर ल्याउने परमेश्‍वर यही हो’ भन्दै बाछोको पूजा गर्न थाल्छन्‌। उनीहरू ठूलो भोज पनि मनाउँछन्‌।

यो देखेर यहोवा असाध्यै रिसाउनुहुन्छ। उहाँ मोशालाई यसो भन्‍नुहुन्छ: ‘झट्ट तल गइहाल्‌। इस्राएलीहरूले असाध्यै नराम्रो काम गरिरहेका छन्‌। तिनीहरूले मेरो आज्ञा बिर्सेर सुनको बाछोलाई ढोगिरहेका छन्‌!’

मोशा हतार-हतार तल ओर्लन्छ। नजिक पुगेपछि उसले इस्राएलीहरू सुनको बाछो वरिपरि गाइरहेका र नाचिरहेका देख्छ! यो देखेर मोशालाई धेरै रिस उठ्‌छ। उसले दस आज्ञा लेखिएका दुई वटा पाटी भुइँमा फालिदिन्छ र ती टुक्रा-टुक्रा हुन्छन्‌। यसपछि मोशाले सुनको बाछोलाई पगालेर त्यसको मसिनो धूलो बनाउँछ।

इस्राएलीहरूले असाध्यै नराम्रो काम गरे। यसकारण, मोशाले केही लोग्नेमान्छेलाई तरबार बोक्न लगाउँछ। अनि मोशा यसो भन्छ: ‘सुनको बाछोको पूजा गर्ने मान्छेहरू मर्नै पर्छ।’ त्यसपछि ती लोग्नेमान्छेहरूले ३,००० इस्राएलीलाई तरबारले मार्छन्‌! हामीले यहोवा परमेश्‍वरको मात्र उपासना गर्नुपर्छ, अरू झूटा देवताको उपासना गर्नु हुँदैन भनेर यो कथाबाट राम्रो पाठ सिक्न सक्छौं।