सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ६१

दाऊद राजा बन्छ

दाऊद राजा बन्छ

शाऊलले दाऊदलाई फेरि समात्न खोज्छ। ऊ आफ्ना ३,००० जना सबैभन्दा राम्रा सिपाही लिएर दाऊदलाई खोज्न हिंड्‌छ। यो थाह पाएपछि दाऊदले आफ्ना मान्छेहरूलाई शाऊल र उसका मान्छेहरू राती कहाँ बास बस्दैछन्‌ पत्ता लगाउन पठाउँछ। त्यसपछि दाऊदले आफ्ना दुई जना मान्छेलाई सोध्छ: ‘शाऊलको छाउनीमा मसित जान कसले आँट गर्छ?’

अबीशै भन्छ: ‘म आउँछु।’ अबीशै दाऊदकै दिदी सरूयाहको छोरो हो। शाऊल र उसका मान्छेहरू सुतिरहेको बेला दाऊद र अबीशै छाउनीभित्र लुसुक्क पस्छन्‌। उनीहरू शाऊलको टाउकोनेर राखेको भाला र पानीको सुराही उठाउँछन्‌। सबै मस्त निदाइरहेको हुनाले उनीहरू आएको वा बोलेको कसैले पनि चालै पाउँदैन।

चित्रमा दाऊद र अबीशैलाई हेर त। उनीहरू अब छाउनीबाट निस्केर डाँडामाथि पुगिसकेका छन्‌। त्यसपछि दाऊदले इस्राएलको सेनापतिलाई माथिबाट कराउँदै यसो भन्छ: ‘अबनेर, तिमीले किन आफ्ना महाराजलाई रक्षा गरेनौ? हेर त! उहाँको भाला र पानीको सुराही कहाँ छ?’

शाऊल निद्राबाट जाग्छ। उसले दाऊदको आवाज चिनेर सोध्छ: ‘के तिमी नै हौ, मेरो छोरा दाऊद?’ तिमीले तल चित्रमा शाऊल र अबनेरलाई देख्यौ?

‘हजुर, म नै हुँ’ भन्दै दाऊदले जवाफ दिन्छ। त्यसपछि दाऊदले सोध्छ: ‘महाराजले मेरो खेदो किन गर्नुहुन्छ? मैले के गरेको छु र? हजुरको भाला यहाँ छ। हजुरको कुनै एक जना मान्छे आएर त्यो लैजाओस्‌।’

आफ्नो गल्ती स्वीकार्दै शाऊल यसो भन्छ: ‘मैले ठूलो भूल गरें। म मूर्ख भएँ।’ यसपछि दाऊद आफ्नो बाटो लाग्छ र शाऊल पनि आफ्नो घर फर्कन्छ। तर दाऊदले सोच्छ: ‘एक न एकदिन शाऊलले मलाई मार्नेछ। यसकारण पलिश्‍तीहरूको इलाकामा भाग्नु मेरो लागि असल होला।’ अनि उसले त्यसै गर्छ। दाऊदले पलिश्‍तीहरूलाई आफू उनीहरूकै पक्षमा छु भनी झुक्याउँछ।

केही समयपछि पलिश्‍तीहरू इस्राएलसित लडाइँ गर्न जान्छन्‌। युद्धमा शाऊल र जोनाथन दुवै मारिन्छन्‌। दाऊद असाध्यै दुःखी हुन्छ। उसले आफ्नो दुःख व्यक्‍त गर्दै एउटा सुन्दर गीत लेख्छ अनि यसरी गाउँछ: ‘हे जोनाथन, मेरो दाइ, तिम्रो निम्ति म विलाप गर्छु। तिमी मेरो निम्ति प्रिय र मनपर्दा थियौ!’

यसपछि दाऊद इस्राएलको हेब्रोन सहर फर्कन्छ। शाऊलको छोरो ईश्‍बोशेतलाई राजा बनाउन खोज्ने मान्छे र दाऊदलाई राजा बनाउन खोज्ने मान्छेहरूबीच त्यहाँ लडाइँ हुन्छ। तर अन्तमा दाऊदका मान्छेहरूको जीत हुन्छ। दाऊद ३० वर्षको उमेरमा इस्राएलको राजा बन्छ। उसले हेब्रानमा साढे सात वर्ष राज्य गर्छ। ऊ त्यहाँ छँदा जन्मेका केही छोराहरूको नाउँ अम्नोन, अब्शालोम र अदोनियाह हो।

पछि दाऊद र उसका मान्छेहरू यरूशलेम नाउँको सुन्दर सहर कब्जा गर्न जान्छन्‌। दाऊदकी दिदी सरूयाहको अर्को छोरो योआबले ठूलो बहादुरी देखाएर यो युद्ध लड्‌छ। यसकारण दाऊदले उसलाई सेनापति बनाएर उसको बहादुरीको इनाम दिन्छ। त्यसपछि दाऊदले यरूशलेम सहरमा राज्य गर्न थाल्छ।