सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ६९

एउटी केटीले शक्‍तिशाली मान्छेलाई मदत गर्छे

एउटी केटीले शक्‍तिशाली मान्छेलाई मदत गर्छे

यो सानी केटी के भन्दैछे, तिमीलाई थाह छ? ऊ यहोवाको अगमवक्‍ता एलीशाबारे बताउँदैछे। एलीशाले यहोवाको शक्‍ति पाएर ठूलठूलो चमत्कार गरेको कुरा उसले सुनाउँदैछे। तिमीले चित्रमा देखेको आइमाईलाई यहोवाबारे केही पनि थाह छैन। किनभने ऊ इस्राएली होइन। त्यसोभए त्यो केटी कसरी यो आइमाईको घरमा पुगी त?

यो आइमाई अराम देशकी बासिन्दा हो। उसको पति अरामका प्रधान सेनापति नामान हो। अरामका मान्छेहरूले यो सानी केटीलाई पक्रेर नामानकी पत्नीकी नोकर्नी बनाएका थिए।

नामानलाई कोर भन्‍ने नराम्रो रोग लागेको थियो। यो रोग लागेको मान्छेको मासु कुहिएर झर्न सक्छ। यसकारण, यो केटीले नामानकी पत्नीलाई यसो भन्छे: ‘मेरो मालिकले इस्राएलमा यहोवाको अगमवक्‍तासित भेट्‌नुभए हुन्थ्यो। किनकि उहाँले मेरो मालिकको कोर निको पारिदिनुहुने थियो।’ केही समयपछि त्यो आइमाईले यो कुरा आफ्नो पतिलाई भन्छे।

नामान निको हुन असाध्यै इच्छुक छ। यसकारण उसले इस्राएल जाने फैसला गर्छ। त्यहाँ पुगेपछि ऊ एलीशाको घरमा जान्छ। एलीशाले आफ्नो नोकरलाई पठाएर नामानलाई यर्दन नदीमा सात पटक नुहाउन लगाउँछ। यो सुनेर नामान धेरै रिसाउँछ र भन्छ: ‘इस्राएलको नदीभन्दा त हाम्रै देशका नदीहरू कता हो कता असल छन्‌!’ यति भनेर नामान आफ्नो बाटो लाग्छ।

तर उसको एक जना नोकरले यसो भन्छ: ‘हजुर, एलीशाले अरू नै गाह्रो कुरा गर्न लगाएको भए हजुरले गर्नुहुने थियो। यसकारण, अहिले पनि उहाँले भनेझैं गर्दा के बिग्रन्छ र?’ नामानले आफ्नो नोकरको कुरा सुन्छ र यर्दनमा सात पटक डुबुल्की लगाउँछ। त्यसपछि उसको शरीर स्वस्थ हुन्छ!

नामान असाध्यै खुसी हुन्छ। ऊ एलीशाकहाँ फर्कन्छ र यसो भन्छ: ‘सारा पृथ्वीमा इस्राएलको परमेश्‍वर मात्रै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर अब मलाई थाह भयो। यसकारण, कृपया यो उपहार मबाट लिनुहोस्‌।’ तर एलीशाले लिन मान्दैन। एलीशालाई यो उपहार लिनु गलत हो भनेर थाह थियो। किनभने नामानलाई वास्तवमा यहोवाले निको पार्नुभएको थियो। तर एलीशाको नोकर गेहजीले त्यो उपहारको लोभ गर्छ।

यसकारण नामान हिंड्‌ने बित्तिकै गेहजी पछिपछि दगुर्दै जान्छ र नामानलाई भेट्टाएर यसो भन्छ: ‘एलीशाले भर्खरै आइपुगेका केही साथीहरूका लागि उपहार लिएर आऊ भनेर मलाई तपाईंकहाँ पठाउनु भएको छ।’ तर यो सरासर झूट थियो। यो झूट हो भनेर नामानलाई चाहिं थाह छैन। यसकारण उसले गेहजीलाई केही सामान दिन्छ।

तर गेहजी घर पुग्नुभन्दा पहिल्यै उसले गरेको काम एलीशालाई थाह भइसकेको हुन्छ। किनकि उसलाई यहोवाले सबै कुरा बताउनुहुन्छ। गेहजी आउने बित्तिकै एलीशाले उसलाई यसो भन्छ: ‘तैंले यो खराब काम गरेको हुनाले अबदेखि नामानको कोर तँलाई लाग्नेछ।’ अनि तुरुन्तै, त्यस्तै भइहाल्छ!

हामी यो कथाबाट तीन वटा कुरा सिक्न सक्छौं। पहिलो, हामीले त्यो सानी केटीले जस्तै यहोवाको विषयमा कुरा गर्नुपर्छ। किनकि हामीले त्यसो गऱ्‍यौं भने यसको नतिजा धेरै राम्रो हुन सक्छ। दोस्रो, नामान सुरुसुरुमा घमन्डी भएजस्तै हामी घमण्डी हुनु हुँदैन। बरु हामी परमेश्‍वरका सेवकहरूप्रति आज्ञाकारी हुनुपर्छ। तेस्रो, हामीले गेहजीले जस्तो झूट बोल्नु हुँदैन। बाइबल पढेर हामी साँच्चै कत्ति धेरै कुरा सिक्न सक्छौं!