सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ७१

परमेश्‍वर प्रमोदवनको प्रतिज्ञा गर्नुहुन्छ

परमेश्‍वर प्रमोदवनको प्रतिज्ञा गर्नुहुन्छ

यो प्रमोदवनको चित्र हो। परमेश्‍वरले आफ्नो अगमवक्‍ता यशैयालाई चित्रमा देखाइएको जस्तै राम्रो ठाउँको वर्णन गर्नुभएको थियो। यशैया योनाभन्दा अलि पछिका व्यक्‍ति थिए।

प्रमोदवनको अर्थ बगैंचाहो। प्रमोदवनको चित्र देखेर तिमीलाई हामीले पहिल्यै यो किताबमा पढिसकेको कुनै कुरा याद आयो कि? हो, यो चित्र यहोवाले आदम र हव्वाका लागि बनाउनुभएको सुन्दर बगैंचाजस्तै छ नि, होइन र? तर के पूरै पृथ्वी नै प्रमोदवन हुन्छ होला त?

यहोवाले आफ्ना जनहरूका लागि नयाँ प्रमोदवन बनाउनुहुनेछ भनेर आफ्नो अगमवक्‍ता यशैयालाई लेख्न लगाउनुभयो। परमेश्‍वरले यसो भन्‍नुभयो: ‘ब्वाँसा र भेडा मिलेर बस्नेछन्‌। भर्खर जन्मेका बाछा र सिंहका डमरूहरू एकैसाथ चर्नेछन्‌ र साना केटाकेटीहरूले तिनीहरूको हेरविचार गर्नेछन्‌। विषालु सर्पको नजिक गएर खेल्दासमेत सानो बच्चालाई केही हानि हुनेछैन।’

‘यस्तो पनि कतै हुन सक्ला र’ भनेर धेरैले भन्‍न सक्छन्‌। ‘किनकि पृथ्वीमा पहिलेदेखि दुःखै-दुःख मात्र छ, त्यसकारण पछि पनि त्यस्तै हुने त हो नि।’ तर एकछिन यसो विचार गर त, परमेश्‍वरले आदम र हव्वालाई कस्तो घर दिनुभएको थियो।

परमेश्‍वरले आदम र हव्वालाई प्रमोदवनमा राख्नुभएको थियो। परमेश्‍वरको आज्ञा पालन नगरेको हुनाले मात्र उनीहरूले आफ्नो सुन्दर घर गुमाए, बूढो भए अनि अन्तमा मरे। तर ज-जसले परमेश्‍वरलाई माया गर्छ, उनीहरूलाई उहाँले आदम र हव्वाले पाएकै जस्तो सुन्दर बगैंचा फेरि दिने प्रतिज्ञा गर्नुभएको छ।

नयाँ प्रमोदवनमा अरूलाई दुःख दिने वा बिगार्ने कुनै पनि कुरा हुनेछैन। चारैतिर शान्ति नै शान्ति हुनेछ। सबै जना स्वस्थ र सुखी हुनेछन्‌। परमेश्‍वरले पहिले जस्तो चाहनुभएको थियो, ठीक त्यस्तै हुनेछ। तर परमेश्‍वरले यी सबै कुरा कसरी गर्नुहुनेछ, हामी पछि बुझ्नेछौं।