सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ६७

यहोशापात यहोवामाथि भरोसा गर्छ

यहोशापात यहोवामाथि भरोसा गर्छ

यी मान्छेहरू को हुन्‌? उनीहरू के गर्दैछन्‌, तिमीलाई थाह छ? उनीहरू लडाइँ गर्न जाँदैछन्‌। सिपाहीहरूको अघि-अघि हिंड्‌ने मान्छेहरू चाहिं गीत गाउँदैछन्‌। गीत गाउने यी मान्छेहरूले लडाइँ गर्न तरबार र भाला किन नबोकेको होला? हामी हेरौं है त।

यहोशापात इस्राएलको दुई गोत्रे राज्यको राजा थियो। त्यतिखेर उत्तरको दस गोत्रे राज्यमा राजा आहाब र ईजेबेलले शासन गरिरहेका थिए। तर यहोशापात असल राजा थियो र उसको बुबा आसा पनि असल राजा थियो। यसकारण, दक्षिणको दुई गोत्रे राज्यले धेरै समयसम्म सुखसित जीवन बिताउन पाउँछ।

तर अहिले भने एउटा कुराले गर्दा मान्छेहरू डराउँछन्‌। ‘मोआब, अम्मोन र सेईरको पहाडी इलाकाबाट एउटा ठूलो सेना आक्रमण गर्न आउँदैछ’ भनेर यहोशापातले खबर पाउँछ। यो खबर पाएपछि यहोवासित मदत माग्न थुप्रै इस्राएलीहरू यरूशलेममा भेला हुन्छन्‌। उनीहरू मन्दिरमा जान्छन्‌ र त्यहाँ यहोशापातले यसो भन्दै प्रार्थना गर्छ: ‘हे हाम्रा परमेश्‍वर यहोवा, हामी के गरौं? हामी यो ठूलो सैन्यदलसित लड्‌न सक्दैनौं। त्यसकारण हामीलाई मदत गर्नुहोस्‌।’

यहोवाले उनीहरूको प्रार्थना सुन्‍नुहुन्छ र आफ्नो सेवकलाई यो खबर पठाउनुहुन्छ: ‘लडाइँ तिमीहरूको हातमा होइन, परमेश्‍वरको हातमा छ। यो लडाइँ तिमीहरूले लड्‌नेछैनौ। यहोवाले तिमीहरूलाई कसरी बचाउनुहुन्छ, तिमीहरूले देख्नेछौ।’

यसकारण, भोलिपल्ट बिहान यहोशापात आफ्ना मान्छेहरूलाई यसो भन्छ: ‘यहोवामाथि भरोसा राख!’ त्यसपछि उसले गीत गाउने मान्छेहरूलाई बोलाएर आफ्ना सिपाहीहरूको अघिअघि हिंड्‌न लगाउँछ। अनि उनीहरू यहोवाको भजन गाउँदै अघि बढ्‌छन्‌। उनीहरू लडाइँ गर्ने ठाउँनेर पुग्दा के हुन्छ, तिमीलाई थाह छ? यहोवाले उनीहरूका शत्रुहरूलाई आपसमै लडाएर नाश गर्नुहुन्छ। इस्राएलीहरू त्यहाँ पुग्दा आफ्ना सबै शत्रुहरू मरिसकेको पो भेट्टाउँछन्‌!

यहोवामाथि भरोसा गरेर यहोशापातले कत्ति बुद्धिमानी काम गऱ्‍यो नि, होइन र? हामीले पनि त्यसै गर्नुपर्छ।