सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ७३

इस्राएलको अन्तिम असल राजा

इस्राएलको अन्तिम असल राजा

इस्राएलको दुई गोत्रे राज्यको राजा बन्दा योशियाह आठ वर्षको मात्र थियो। उसको उमेर धेरै कम भएकोले सुरुसुरुमा ठूलो उमेरका मान्छेहरूले उसलाई राज्य चलाउन मदत गर्छन्‌।

आफू राजा भएको सात वर्षपछि योशियाहले यहोवाको खोजी गर्न थाल्छ। उसले दाऊद, यहोशापात र हिजकियाहजस्ता असल राजाहरूको सिको गर्छ। किशोरावस्थामै छँदा योशियाहले एउटा साहसी काम गर्छ।

इस्राएलीहरूले खराब काम गर्न थालेको निकै लामो समय भइसकेको थियो। उनीहरू झूटा देवताहरूको उपासना गर्थे। उनीहरू मूर्तिलाई ढोग्थे। यसकारण योशियाहले आफ्नो देशबाट झूटो उपासना हटाउन सुरु गर्छ। यो चानचुने काम थिएन। किनभने झूटा देवताहरूको उपासना गर्ने थुप्रै मान्छेहरू थिए। चित्रमा हेर त। योशियाह र उसका मान्छेहरूले मूर्तिहरू फोड्‌दैछन्‌।

यसपछि यहोवाको मन्दिरको मर्मत गर्न योशियाहले तीन जना मान्छे खटाउँछ। मन्दिरको मर्मत गर्न मान्छेहरूबाट पैसा जम्मा गरिन्छ र त्यो पैसा ती तीन जनालाई दिइन्छ। मन्दिरमा काम गरिरहेको बेलामा प्रधान पूजाहारी हिल्कियाहले अत्यन्तै महत्त्वपूर्ण कुरा फेला पार्छ। उसले फेला पारेको त्यो कुरा यहोवाले धेरै वर्षअघि मोशालाई लेख्न लाउनुभएका नियमहरूको किताब थियो। यो किताब हराएको धेरै वर्ष भइसकेको थियो।

त्यसपछि त्यो किताबलाई योशियाहकहाँ लगिन्छ अनि उसले त्यसलाई पढ्‌न लगाउँछ। किताबमा भएका कुराहरू सुन्दै जाँदा मान्छेहरूले यहोवाका आज्ञाहरू पालन गरेका रहेनछन्‌ भनी उसलाई थाह हुन्छ। ऊ असाध्यै दुःखी हुन्छ र आफूले लगाएको लुगासमेत च्यात्छ। चित्रमा हेर त। त्यसपछि उसले यसो भन्छ: ‘यहोवा हामीसित रिसाउनुभएको छ। किनभने हाम्रा पुर्खाहरूले यो किताबमा लेखिएका आज्ञाहरू पालन गरेनन्‌।’

अब यहोवाले के गर्नुहुनेछ भनेर पत्ता लगाउन योशियाहले हिल्कियाहलाई अह्राउँछ। हिल्कियाहले अगमवादिनी हुल्दाकहाँ गएर सोध्छ। ऊ योशियाहलाई यहोवाको यस्तो खबर पठाउँछे: ‘यरूशलेम र त्यहाँका जम्मै मान्छेहरूलाई दण्ड दिइनेछ। किनभने उनीहरूले झूटा देवताहरूको उपासना गरेका छन्‌ र देशलाई नराम्रो कामले भरेका छन्‌। तर तिमी योशियाहले चाहिं असल काम गरेको हुनाले तिमी मरेपछि मात्र यो दण्ड दिइनेछ।’