सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ८०

परमेश्‍वरका जनहरू बाबेलबाट फर्कन्छन्‌

परमेश्‍वरका जनहरू बाबेलबाट फर्कन्छन्‌

मादी र फारसीले बाबेल कब्जा गरेको लगभग दुई वर्ष भइसक्यो। अब हेर त, इस्राएलीहरू बाबेल छोड्‌दैछन्‌। तर उनीहरू कसरी स्वतन्त्र भए? उनीहरूलाई कसले जान दियो?

फारसी राजा, कोरेसले। कोरेस जन्मिनुभन्दा धेरैअघि यहोवाले ऊबारे आफ्नो अगमवक्‍ता यशैयालाई यस्तो लेख्न लगाउनुभएको थियो: ‘त्यसले मेरो इच्छा पूरा गर्नेछ। त्यसले सहर कब्जा गर्दा त्यसका मूल ढोकाहरू खुल्लै हुनेछन्‌।’ बाबेललाई कब्जा गर्न वास्तवमा कोरेसले अगुवाइ लिएको थियो। मादी र फारसीहरू बाबेल आइपुग्दा त्यसका मूल ढोकाहरू राती खुल्लै छाडिएका थिए। उनीहरूले त्यही ढोकाबाट भित्र पसेर सहर कब्जा गरे।

तर यरूशलेम र त्यसमा भएको मन्दिरलाई फेरि बनाउने आदेश पनि कोरेसले नै दिनेछ भनेर यहोवाको अगमवक्‍ताले भनेको थियो। के कोरेसले यो आज्ञा दियो? हो, दियो। कोरेसले इस्राएलीहरूलाई यसो भन्यो: ‘अब यरूशलेम जाऊ र तिमीहरूको परमेश्‍वर यहोवाको मन्दिर निर्माण गर।’ इस्राएलीहरूले त्यसै गर्न अहिले बाबेल छोडेर जाँदैछन्‌।

तर बाबेलमा भएका सबै इस्राएलीहरू यरूशलेम जान सक्दैनन्‌। किनकि यरूशलेम करिब ८०० किलोमिटर (५०० माइल) टाढा पर्छ। धेरै जना निकै बूढाबूढी अनि बिरामी भएकोले टाढासम्म यात्रा गर्न सक्दैनन्‌। तर केही मान्छे अरू कारणले गर्दा पनि फर्केर जाँदैनन्‌। फर्केर नजाने इस्राएलीहरूलाई कोरेसले यसो भन्छ: ‘यरूशलेम र त्यसमा भएको मन्दिर बनाउन जानेहरूलाई सुन, चाँदी र अरू धन-सम्पत्ति देओ।’

यसरी यरूशलेम जाने इस्राएलीहरूले थुप्रै सर-सामान पाउँछन्‌। नबूकदनेसरले यरूशलेम सहरलाई नाश गर्दा मन्दिरबाट ल्याएका भाँडा-कुँडा र कचौराहरू पनि कोरेसले उनीहरूसितै फिर्ता पठाउँछ। इस्राएलीहरूसित फिर्ता लैजाने थुप्रै सर-सामान हुन्छ।

करिब चार महिना हिंडेपछि इस्राएलीहरू ठीक समयमै यरूशलेम पुग्छन्‌। किनकि सहर नाश भएर उजाड भएको ठ्याक्कै ७० वर्ष भएको थियो। तर आफ्नै देश फर्केपछि पनि इस्राएलीहरूले अझै दुःख पाइरहन्छन्‌। यसबारे अब हामी अर्को कथामा पढ्‌नेछौं।