सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ८६

ताराले डोऱ्‍याएका मान्छेहरू

ताराले डोऱ्‍याएका मान्छेहरू

चित्रमा हेर त। एक जना मान्छेले त्यो उज्यालो तारालाई औंलाले देखाइरहेको छ। यिनीहरूले यरूशलेम छोड्‌ने बित्तिकै त्यो तारा देखापरेको थियो। यी मान्छेहरू पूर्वबाट आएका हुन्‌ र यिनीहरू ताराहरूको अध्ययन गर्छन्‌। यो नयाँ ताराले विशेष व्यक्‍तिकहाँ डोऱ्‍याउँदैछ भनेर यिनीहरू विश्‍वास गर्छन्‌।

यरूशलेम पुगेपछि यी मान्छेहरूले सोधे: ‘यहूदीहरूका राजा भएर जन्मेको बालक कहाँ छ?’ इस्राएलीहरूलाई “यहूदीहरू” पनि भनिन्छ। यी मान्छेहरू यहूदीहरूलाई यसो भन्छन्‌, ‘हामीले उहाँको तारा पूर्वतिर देख्यौं र हामी उहाँको दर्शन गर्न आएका हौं।’

अब यी मान्छेहरूको कुरा सुनेपछि यरूशलेमको राजा हेरोद विचलित हुन्छ। ऊ आफ्नो ठाउँमा अर्को मान्छे राजा भएको चाहँदैन। यसकारण हेरोदले मुख्य पूजाहारीहरूलाई बोलाएर सोध्छ: ‘प्रतिज्ञा गरिएको राजाको जन्म कहाँ हुने हो?’ ‘बाइबलले बेतलेहेममा भन्छ,’ पूजाहारीहरू जवाफ दिन्छन्‌।

यसपछि, हेरोदले पूर्वबाट आएका यी मान्छेहरूलाई बोलाउँछ र भन्छ: ‘जाओ र त्यो सानो बालकको विषयमा खोजेर पत्ता लगाओ र भेट्टाएपछि मलाई खबर गर र म पनि गएर दर्शन गर्नेछु।’ तर खासमा हेरोद येशूलाई फेला पारेर मार्न चाहन्थ्यो।

अब फेरि त्यो तारा यी मान्छेहरूको अघिअघि बेतलेहेमतिर जान्छ र बालक भएको ठाउँमाथि टक्क अडिन्छ। उनीहरू घरभित्र मरियम र सानो येशूलाई भेट्टाउँछन्‌। उनीहरूले उपहारहरू निकालेर येशूलाई दिन्छन्‌। तर यसपछि हेरोदकहाँ फर्केर नजानू भनेर यहोवाले उनीहरूलाई सपनामा चेतावनी दिनुहुन्छ। यसकारण उनीहरू अर्कै बाटो हुँदै आफ्नो देश फर्कन्छन्‌।

पूर्वका मान्छेहरू घर फर्किसकेछन्‌ भनेर थाह पाएपछि हेरोद असाध्यै रिसाउँछ। यसकारण उसले बेतलेहेममा दुई वर्ष र त्यसमुनिका सबै केटाहरूलाई मार्ने हुकुम गर्छ। तर यहोवाले यूसुफलाई पहिले नै सपनामा सचेत गराउनुहुन्छ र यूसुफ आफ्नो परिवार लिएर मिश्र भाग्छ। हेरोद मरेको खबर पाएपछि मरियम र येशूलाई लिएर यूसुफ आफ्नो घर नासरत फर्कन्छ। यही ठाउँमा येशू हुर्कनुहुन्छ।

तिम्रो विचारमा त्यो नयाँ तारा कसले चम्काएको होला? त्यो तारा देखेर पूर्वका मान्छेहरू पहिले यरूशलेम गएका थिए। शैतान परमेश्‍वरको छोरोलाई मार्न चाहन्थ्यो र यरूशलेमको राजा हेरोदले येशूलाई मार्ने कोसिस गर्नेछ भनेर शैतानलाई राम्ररी थाह थियो। यसकारण त्यो तारा चम्काउने व्यक्‍ति शैतान नै हुनुपर्छ।