कथा ९३
येशू भीडलाई खुवाउनुहुन्छ
एकदिनको कुरा हो, येशूले नराम्रो खबर पाउनुहुन्छ। बप्तिस्मा दिने यूहन्ना मारिएछ। राजाकी पत्नी हेरोदियासलाई यूहन्ना मन पर्दैनथ्यो। उसले नै राजालाई यूहन्नाको शिर काट्न लगाएकी रहिछे।
यूहन्ना मारिएको खबर पाएर येशू धेरै दुःखी हुनुहुन्छ। उहाँ एक्लै एकान्त ठाउँमा जानुहुन्छ। तर मान्छेहरूको भीड उहाँको पछि-पछि लाग्छ। भीड देखेर येशूलाई दया लाग्छ। यसकारण उहाँ तिनीहरूसित परमेश्वरको राज्यबारे कुरा गर्नुहुन्छ र रोगीहरूलाई निको पार्नुहुन्छ।
त्यही बेलुकी उहाँका चेलाहरू उहाँकहाँ आएर यसो भन्छन्: ‘धेरै अबेर भइसक्यो। यो ठाउँ अनकन्टार छ। मान्छेहरूलाई पठाइदिनुहोस्। उनीहरूले नजिकका गाउँहरूमा गएर आफ्ना लागि केही खानेकुरा किन्न सकून्।’
तर येशूले यसरी जवाफ दिनुहुन्छ: ‘तिनीहरूलाई जाने खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई खानेकुरा देओ।’ र फिलिपतिर फर्केर उहाँ भन्नुहुन्छ: ‘हामी कहाँबाट खानेकुरा किनेर यिनीहरूलाई खान दिन सक्छौं?’
फिलिपले उत्तर दिन्छ: ‘सबैलाई अलि-अलि पुग्ने खानेकुरा किन्न मात्रै पनि धेरै पैसा लाग्छ।’ त्यसपछि अन्द्रियासले भन्छ: ‘यहाँ एउटा ठिटोसँग पाँच वटा रोटी र दुई वटा माछा छ। तर यत्ति धेरै मान्छेलाई त्यत्तिले के पुग्ला र?’
तब येशूले यसो भन्नुहुन्छ: ‘मान्छेहरूलाई बस्न लगाओ।’ यसपछि उहाँले खानेकुराका लागि परमेश्वरलाई धन्यवाद चढाउनुहुन्छ र रोटी अनि माछा टुक्रा पार्न थाल्नुहुन्छ। त्यसपछि चेलाहरूले रोटी र माछा सबैलाई दिन्छन्। त्यहाँ ५,००० लोग्नेमान्छेबाहेक हजारौं आइमाई अनि केटाकेटीहरू पनि थिए। तैपनि उनीहरू सबैले अघाउन्जेल खान्छन्। चेलाहरूले उब्रेको खानेकुरा जम्मा गर्दा १२ वटा डाला भरिन्छ!
येशूले अब चेलाहरूलाई डुंगा चढेर गालील समुद्र पारि जान लगाउनुहुन्छ। राती ठूलो आँधीबेहरी चल्छ र समुद्रका छालहरूले गर्दा डुंगा यताउता पछारिन थाल्छ। अचानक, मध्यरातमा येशूका चेलाहरूले पानीमा एक जना मान्छे हिंड्दै आफूतिर आइरहेको देख्छन्। त्यो मान्छे को हो, चिन्न नसकेर उनीहरू डरले चिच्याउन थाल्छन्।
नजिक आएपछि येशू भन्नुहुन्छ: ‘म हुँ, नडराओ!’ तर चेलाहरूले पत्याउनै सक्दैनन्। यसकारण पत्रुस यसो भन्छ: ‘हे प्रभु, तपाईं नै हुनुहुन्छ भने मलाई तपाईंकहाँ पानी माथिमाथि आउने आज्ञा गर्नुहोस्।’ येशूले ‘आऊ!’ भन्नुहुन्छ। त्यसपछि पत्रुस पानीमा हिंड्न थाल्छ! तर ऊ डराउँछ र डुब्न लाग्छ। येशूले उसलाई च्याप्प समातेर बचाउनुहुन्छ।
यसपछि पनि येशूले फेरि हजारौं मान्छेहरूलाई खुवाउनुहुन्छ। त्यतिखेर उनीहरूसित सात वटा रोटी र केही साना माछाहरू मात्र हुन्छ। तैपनि येशूले सबैलाई पुग्ने गरी खुवाउनुहुन्छ। येशूले कत्ति राम्ररी हेरविचार गर्नुहुँदो रहेछ, हगि? उहाँले राज्य गर्न थाल्नुभएपछि हामीले कहिल्यै कुनै कुराको चिन्ता गर्नुपर्ने छैन!