कथा १००
येशू बगैंचामा
माथिल्लो तलाको कोठाबाट निस्कनुभएपछि येशू आफ्ना प्रेरितहरूसित गेतसमनीको बगैंचामा जानुहुन्छ। उहाँहरू पहिले पनि यो ठाउँमा आइरहनुहुन्थ्यो। बगैंचामा पुगेपछि येशूले चेलाहरूलाई जागा बस्नू र प्रार्थना गर्नू भन्नुहुन्छ। त्यसपछि अलि पर भुइँमा घोप्टो परेर उहाँ प्रार्थना गर्न थाल्नुहुन्छ।
पछि येशू प्रेरितहरू भएको ठाउँमा आउनुहुन्छ। तिम्रो विचारमा उनीहरू के गरिरहेका होलान्? उनीहरू त भुसुक्क निदाएछन्! येशूले उनीहरूलाई जागा बस्नू भनेर तीन पटक भन्नुहुन्छ। तर तीनै पटक उनीहरूलाई निदाइरहेको भेटाउनुहुन्छ। अन्तमा येशू यसो भन्नुहुन्छ: ‘यस्तो बेला पनि तिमीहरू कसरी सुत्न सकेको होला? अब मलाई मेरा शत्रुहरूको हातमा सुम्पिने बेला आइसक्यो।’
ठीक त्यही बेला एउटा भीड आउँदै गरेको आवाज सुनिन्छ। हेर त! मान्छेहरू तरबार अनि लठ्ठी बोकेर पो आउँदैछन्! उनीहरूको हातमा राँको पनि छ। भीड अलि नजिक आइसकेपछि एक जना मान्छे अघि बढेर येशूको छेउमै आउँछ। उसले के गर्छ, चित्रमा हेर त। हो, उसले येशूलाई म्वाइँ खान्छ। त्यो मान्छे यहूदा इस्करयोती हो! तर उसले किन येशूलाई म्वाइँ खाएको?
येशूले उसलाई सोध्नुहुन्छ: ‘यहूदा, तिमी मलाई म्वाइँ खाएर धोका दिन्छौ?’ हो, त्यो म्वाइँ वास्तवमा संकेत थियो। किनकि यहूदाले म्वाइँ खाएपछि उसित आएको भीडले येशू को हुनुहुन्छ भनेर चिन्ने थियो। त्यसपछि उहाँलाई पक्रन उनीहरू अघि बढ्छन्। तर पत्रुस येशूलाई लैजान दिन मान्दैन। उसले आफूले भिरेको तरबार निकालेर नजिकैको मान्छेलाई आक्रमण गर्छ। झन्डै त्यो मान्छेको टाउको छिनेको! उसको टाउको त बच्छ तर दाहिने कान भने च्वाट्टै काटिन्छ। तर येशूले उसको कान छोएर निको पार्नुहुन्छ।
त्यसपछि येशूले पत्रुसलाई यसो भन्नुहुन्छ: ‘तिम्रो तरबार त्यसकै ठाउँमा राख। के म आफ्नो बुबालाई बिन्ती गर्न सक्दिनँ र? के उहाँले मलाई बचाउन हजारौं स्वर्गदूत पठाउन सक्नुहुन्न र?’ हो, उहाँले सक्नुहुन्छ! तर येशूले स्वर्गदूतहरू पठाइदिनोस् भनेर परमेश्वरलाई बिन्ती गर्नुहुन्न। किनकि उहाँका शत्रुहरूले लैजाने बेला भइसक्यो भनेर उहाँलाई थाह छ। उहाँ उनीहरूसँग चुपचाप जानुहुन्छ। अब येशूलाई के हुन्छ, अर्को कथा पढेर हेरौं।