सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा १०५

यरूशलेममा पर्खेर बसिरहेका चेलाहरू

यरूशलेममा पर्खेर बसिरहेका चेलाहरू

तिमीले यहाँ चित्रमा देखेका मान्छेहरू येशूका चेलाहरू हुन्‌। येशूले भन्‍नुभएझैं उनीहरू यरूशलेमबाट कतै पनि गएका छैनन्‌। एकदिन यसरी सबै जना भेला भएर पर्खिरहेको बेला उनीहरूले घरै हल्लिने गरी जोडसित हुरुरुरु बतास चलेको आवाज सुन्छन्‌। त्यसपछि, हरेक चेलाको टाउको-टाउकोमा आगोका जिब्राहरू देखा पर्छन्‌। चित्रमा तिमीले पनि देख्यौ कि? यी सबै के भएको होला?

यो चमत्कार भएको हो! येशू अहिले स्वर्गमा आफ्नो बुबासित हुनुहुन्छ र उहाँले परमेश्‍वरको पवित्र आत्मा आफ्ना चेलाहरूमाथि खन्याउनुहुँदैछ। पवित्र आत्मा पाएपछि चेलाहरू के गर्छन्‌, तिमीलाई थाह छ? उनीहरू सबै बेग्लाबेग्लै भाषा बोल्न थाल्छन्‌।

यरूशलेममा बस्ने अरू थुप्रै मान्छेहरूले पनि जोडसित बतास चलेको जस्तो आवाज सुन्छन्‌ र के भएछ भनेर हेर्न आउँछन्‌। यसरी हेर्न आउनेहरूमध्ये केही त पेन्तिकोसको चाड मान्‍न टाढा-टाढाबाट आएका अरू देशका मान्छेहरू पनि हुन्छन्‌। उनीहरू सबै जना तीनछक पर्छन्‌! किनभने चेलाहरूले परमेश्‍वरले गर्नुभएका ठूलठूला कामबारे उनीहरूकै भाषामा पो कुरा गरिरहेका हुन्छन्‌।

टाढाबाट आएका मान्छेहरू यसो भन्छन्‌: ‘हेर के यी सबै बोल्नेहरू गालीलकै मान्छेहरू होइनन्‌ र? तर यिनीहरू त हाम्रै मातृभाषामा बोलेको पो हामी सुन्दैछौं।’

त्यसपछि उनीहरूलाई कुरा बुझाउन पत्रुस जुरुक्क उठ्‌छ। येशू कसरी मारिनुभयो भनेर बताउनुका साथै उहाँलाई यहोवाले कसरी बिउँताउनुभयो भनेर उसले ठूलो स्वरमा बताउँछ। पत्रुसले यसो पनि भन्छ: ‘अहिले येशू स्वर्गमा परमेश्‍वरको दाहिने हाततिर बसिरहनुभएको छ। उहाँले नै हामीमाथि पवित्र आत्मा खन्याउनुभएको हो। त्यसैकारण तपाईंहरूले यी चमत्कारहरू सुन्‍न र देख्न सक्नुभएको हो।’

पत्रुसको कुरा सुनेपछि येशूप्रति गरिएका सबै नराम्रा कुराहरू सम्झेर मान्छेहरू धेरै दुःखी हुन्छन्‌। ‘अब हामी के गरौं त?’ भनेर उनीहरू पत्रुसलाई सोध्छन्‌। पत्रुस यसो भन्छ: ‘तपाईंहरू आ-आफ्नो बानी-बेहोरा बदल्नुहोस्‌ अनि बप्तिस्मा लिनुहोस्‌।’ त्यसै दिन ३,००० जनाले बप्तिस्मा लिन्छन्‌ र येशूका चेला बन्छन्‌।