सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा १०९

पत्रुस कर्नीलियसलाई भेट्‌न जान्छ

पत्रुस कर्नीलियसलाई भेट्‌न जान्छ

चित्रमा उभिरहेका मान्छेहरू प्रेरित पत्रुस र उसका साथीहरू हुन्‌। अनि त्यो एक जना मान्छेले चाहिं पत्रुसलाई किन ढोगेको? के त्यसो गर्नु ठीक हो? ऊ को हो तिमी भन्‍न सक्छौ?

ऊ रोमी पल्टनको कप्तान कर्नीलियस हो। कर्नीलियसले पत्रुसलाई चिन्दैन। तर उसले पत्रुसलाई आफ्नो घरमा बोलाउने आज्ञा पाएको हुन्छ। यो सबै कसरी भयो, हामी थाह लगाऔं है त!

येशूका सुरुका चेलाहरू यहूदी थिए। तर कर्नीलियस यहूदी होइन। तैपनि ऊ परमेश्‍वरलाई माया गर्छ। उहाँलाई प्रार्थना गर्छ र अरूसित राम्रो व्यवहार गर्छ। एकदिन दिउँसो एक जना स्वर्गदूत ऊकहाँ देखा पर्छन्‌ र भन्छन्‌: ‘ए कर्नीलियस, परमेश्‍वर तिमीसित खुसी हुनुहुन्छ। उहाँले तिम्रा प्रार्थनाहरू सुन्‍नुभएको छ। अब तिम्रा केही मान्छे पठाएर पत्रुस नाउँको मान्छेलाई बोलाएर ल्याऊ। ऊ जोप्पाको समुद्री किनारमा शिमोनको घरमा बसेको छ।’

तुरुन्तै कर्नीलियसले पत्रुसलाई खोज्न मान्छेहरू पठाउँछ। अर्को दिन उनीहरू जोप्पा पुग्नै लाग्दा पत्रुस शिमोनको घरको कौसीमा बसिरहेको हुन्छ। ऊ बसिरहेकै बेला परमेश्‍वरले चमत्कार गरेर उसको मनमा केही विचार हालिदिनुहुन्छ। पत्रुसलाई स्वर्गबाट एउटा ठूलो कपडा झरेको जस्तो लाग्छ। त्यो कपडामा अनेक थरीका जनावरहरू हुन्छन्‌। परमेश्‍वरको व्यवस्थाअनुसार ती जनावरहरू अशुद्ध भएकोले खानु हुँदैनथ्यो। त्यसपछि, एउटा आवाज आउँछ: ‘उठ, पत्रुस। मार र खाऊ।’

पत्रुसले ‘नाइँ! मैले अशुद्ध कुरा कहिल्यै खाएको छैनँ’ भन्छ। तर पत्रुसले फेरि यसो भनेको आवाज सुन्छ: ‘परमेश्‍वरले जे-जे शुद्ध गर्नुभएको छ त्यसलाई तिमी अशुद्ध नभन।’ पत्रुसले तीन पटकसम्म यस्तै आवाज सुन्छ। यी सबै कुराको अर्थ के होला भनेर पत्रुसले सोचिरहेकै बेला कर्नीलियसले पठाएका मान्छेहरू उसलाई खोज्दै ठ्याक्कै आइपुग्छन्‌।

पत्रुस तल ओर्लेर भन्छ: ‘तपाईंहरूले खोजिरहेको मान्छे मै हुँ। तपाईंहरू किन आउनुभयो?’ स्वर्गदूतको आदेश पाएर कर्नीलियसले बोलाउन पठाएको हो भनी ती मान्छेहरूले भनेपछि पत्रुस उनीहरूसित जान तयार हुन्छ। भोलिपल्ट पत्रुस अरू साथीहरूलाई लिएर कर्नीलियसलाई भेट्‌न सिजरिया जान्छ।

उता कर्नीलियसचाहिं आफ्ना नातेदार अनि घनिष्ठ साथीहरूलाई घरमा बोलाएर बसिरहेको हुन्छ। तिमीले चित्रमा देखेझैं पत्रुस आउने बित्तिकै कर्नीलियस उसको खुट्टैमा ढोग्न जान्छ। तर पत्रुस यसो भन्छ: ‘उठनुहोस्‌, म पनि मान्छे नै हुँ।’ हो, बाइबलले कुनै पनि मान्छेलाई ढोगेर उपासना गर्नुहुँदैन भन्छ। हामीले यहोवाको मात्र उपासना गर्नुपर्छ।

त्यसपछि पत्रुस त्यहाँ भेला भएका मान्छेहरूलाई प्रचार गर्न थाल्छ। ‘परमेश्‍वरको सेवा गर्न चाहनेजति सबैलाई परमेश्‍वरले स्वीकार्नुहुन्छ’ भनेर पत्रुसले भन्छ। ऊ बोल्दाबोल्दै यहोवा परमेश्‍वरले कर्नीलियस र ऊकहाँ आउने मान्छेहरूलाई पवित्र आत्मा दिनुहुन्छ। त्यसपछि उनीहरू विभिन्‍न भाषामा बोल्न थाल्छन्‌। यो देखेर पत्रुससित आउने यहूदी चेलाहरू छक्क पर्छन्‌। किनभने उनीहरू परमेश्‍वरले यहूदीहरूलाई मात्र मन पराउनुहुन्छ भन्ठान्थे। तर यो घटना भएपछि वास्तवमा परमेश्‍वरले कुनै एउटा जातिलाई मात्र नभएर सबै जातिका मान्छेहरूलाई मन पराउनुहुँदो रहेछ भनेर उनीहरूले राम्ररी बुझे। हामीले पनि यो कुरा कहिल्यै बिर्सनुहुन्‍न।