सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 अध्याय दुई

बाइबल परमेश्वरले दिनुभएको किताब

बाइबल परमेश्वरले दिनुभएको किताब
  • बाइबल कसरी अरू किताबभन्दा फरक छ?

  • बाइबलले कसरी तपाईंलाई समस्या सुल्झाउन मदत गर्छ?

  • बाइबलका भविष्यवाणीहरूमा तपाईं किन भरोसा राख्न सक्नुहुन्छ?

१, २. बाइबललाई किन परमेश्वरले दिनुभएको उपहार भन्न सकिन्छ?

आफ्नो मिल्ने साथीबाट विशेष उपहार पाउँदा कस्तो लागेको थियो, तपाईंलाई याद छ? त्यतिबेला तपाईं खुसीले गदगद हुनुभयो होला र मन पनि छोयो होला। त्यो उपहारले तिनी तपाईंको मित्रतालाई कतिको मूल्यवान्‌ ठान्छन्‌ भनी देखाउँछ। यसरी विचार पुऱ्याएर उपहार दिने मित्रलाई तपाईंले पक्कै पनि धन्यवाद दिनुभयो होला।

बाइबल परमेश्वरले दिनुभएको उपहार हो, जसको लागि हामी साँच्चै धन्यवादी छौं। हामीले आफ्नै भरमा कहिल्यै थाह पाउन नसक्ने कुराहरू यस अनुपम किताबले बताउँछ। उदाहरणका लागि, ताराहरूले भरिएको आकास, पृथ्वी, प्रथम पुरुष तथा स्त्रीको सृष्टिबारे यस किताबमा बताइएको छ। जीवनका समस्याहरू समाधान गर्न अनि फिक्री हटाउन मदत गर्ने भरपर्दो सल्लाह बाइबलमा पाइन्छ। परमेश्वरले कसरी आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ र पृथ्वीलाई अझ राम्रो बनाउनुहुनेछ भनी बाइबल बताउँछ। बाइबल साँच्चै यस्तो उपहार हो, जसले हामीलाई खुसी बनाउँछ!

३. यहोवाले हामीलाई किन बाइबल दिनुभयो?

बाइबलजस्तो उपहार पाएकोमा हामी खुसी छौं किनभने यसले यहोवा परमेश्वरबारे विभिन्न कुरा बताउँछ। उहाँले यस्तो बहुमूल्य उपहार दिनु नै  हामीले उहाँलाई राम्ररी चिनेको चाहनुहुन्छ भन्ने प्रमाण हो। हो, बाइबलले हामीलाई यहोवासित घनिष्ठ हुन मदत गर्छ।

४. बाइबल कत्तिको व्यापक वितरण भएको छ?

के तपाईंसित बाइबल छ? थुप्रै मानिससित छ। बाइबल पूरा वा आंशिक गरी २,५०० भन्दा धेरै भाषामा अनुवाद भएको छ। त्यसैले विश्वको ९० प्रतिशतभन्दा धेरै मानिसले आफ्नै भाषामा बाइबल पढ्न सक्छन्‌। प्रत्येक हप्ता सरदर दस लाखभन्दा धेरै बाइबल वितरण हुन्छ! पूरा वा आंशिक गरी बाइबलका अरबौं प्रति प्रकाशित भएका छन्‌। बाइबलजस्तो किताब अरू कुनै छैन।

“नयाँ संसार अनुवाद” थुप्रै भाषामा पाइन्छ

५. बाइबललाई “परमेश्वरको प्रेरणाद्वारा” लेखिएको किताब किन भन्न सकिन्छ?

बाइबल “परमेश्वरको प्रेरणाद्वारा” लेखिएको किताब हो। (२ तिमोथी ३:१६) किन यसो भन्न सकिन्छ? बाइबल भन्छ: “पवित्र शक्ति पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोल्थे।” (२ पत्रुस १:२१) मानिलिनुहोस्, एक जना व्यापारीले सेक्रेटरीलाई चिठी लेख्न लगाउँछ। चिठी लेख्ने सेक्रेटरी भए तापनि त्यसमा भएका विचार तथा निर्देशनहरू व्यापारीको हो। त्यसकारण चिठी वास्तवमा व्यापारीकै हुन्छ, सेक्रेटरीको हुँदैन। त्यसैगरि बाइबल मानिसहरूले लेखेको भए तापनि यसमा भएका  सन्देश परमेश्वरकै हो। वास्तवमा पूरै बाइबल “परमेश्वरको वचन” हो।—१ थिस्सलोनिकी २:१३.

आपसमा नबाझिएको र सही

६, ७. बाइबलको कुन पक्ष उल्लेखनीय छ?

बाइबल लेख्न लगभग १,६०० वर्ष लाग्यो। विभिन्न समय, पेसा र रहनसहनका मानिसहरूले बाइबल लेखेका हुन्‌। कोही किसान थिए त कोही मछुवा अनि कोही गोठाला। कोहीचाहिं भविष्यवक्ता, न्यायाधीश र राजा थिए। येशूको जीवनी लेख्ने लूका नामका लेखक डाक्टर थिए। यसका लेखकहरूको पेसा, रहनसहन फरक-फरक भए तापनि बाइबलको कुरा सुरुदेखि अन्तसम्म कतै बाझिएको छैन। *

बाइबलको पहिलो किताबले मानिसजातिको समस्या कसरी सुरु भयो भनी बताउँछ। अन्तिम किताबले सारा पृथ्वी सुन्दर बगैंचा बनाइनेछ भनी बताउँछ। बाइबलमा सयौं वर्षको इतिहास पाइन्छ र त्यसले परमेश्वरको उद्देश्य के हो र त्यो कसरी पूरा हुनेछ भनी बुझ्न मदत गर्छ। बाइबलका ६६ वटा किताबमा भएका कुनै पनि कुरा आपसमा बाझिएको छैन। परमेश्वरले दिनुभएको किताबबाट हामी यही आशा गर्छौं नि, होइन र?

८. बाइबल विज्ञानसित कसरी मेल खान्छ, उदाहरण दिनुहोस्।

बाइबल विज्ञानसित पनि मेल खान्छ। बाइबलका कतिपय कुराहरू त्यतिबेला विज्ञानले पत्ता लगाइसकेको थिएन। उदाहरणका लागि, बाइबलको लेवी भन्ने किताबमा सरसफाइसम्बन्धी विभिन्न नियम दिनुका साथै रोग लागेको मानिसलाई समुदायबाट अलग्गै राख्नुपर्ने नियम पनि दिइएको छ। त्यतिखेर तिनीहरूका छिमेकी राष्ट्रहरूलाई त्यस्ता विषयमा केही ज्ञान थिएन। पृथ्वीको आकारबारे गलत धारणाहरू व्याप्त भएको बेला बाइबलले यसको परिधिबारे उल्लेख गरेको थियो। (यशैया ४०:२२, NRV) त्यसैगरि पृथ्वीलाई ‘शून्यतामा झुन्डाइएको’ छ  भनी बाइबलले सही कुरा बताएको छ। (अय्यूब २६:७, NRV) हुन त बाइबल विज्ञानको किताब होइन। तर यसमा उल्लेख भएका विज्ञानसम्बन्धी कुराहरू सही छन्‌। परमेश्वरले दिनुभएको किताबबाट के हामी यही आशा गर्दैनौं र?

९. (क) बाइबल कसरी ऐतिहासिक दृष्टिकोणबाट सही र भरपर्दो छ? (ख) बाइबल लेखकहरूको इमानदारीले के प्रकट गर्छ?

बाइबल ऐतिहासिक दृष्टिकोणबाट पनि सही र भरपर्दो छ। यसमा भएका ऐतिहासिक विवरणहरू स्पष्ट छन्‌। यसमा मानिसको नाम मात्र होइन, तिनीहरूको पुर्खा पनि उल्लेख गरिएको छ। * इतिहासकारहरू आफ्नो देशका मानिसहरूको हार अक्सर उल्लेख गर्दैनन्‌। तर बाइबल लेखकहरू भने इमानदार थिए। तिनीहरूले आफ्नो र आफ्ना मानिसहरूको गल्तीहरूसमेत नलुकाई लेखे। उदाहरणको लागि, बाइबलको गन्ती नाम गरेको किताबका लेखक मोशाले आफ्नो गम्भीर गल्ती र आफूले पाएको सजायबारे बताएका छन्‌। (गन्ती २०:२-१२) यस्तो इमानदारी अन्य ऐतिहासिक विवरणहरूमा हतपती पाइँदैन तर बाइबल परमेश्वरले दिनुभएको किताब भएकोले यसमा पाइन्छ।

राम्रो सल्लाहले भरिएको किताब

१०. बाइबलमा राम्रो सल्लाह किन पाइन्छ?

१० बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको किताब भएकोले यो ‘सिकाउन, सुधार्न, सच्याउन उपयोगी छ।’ (२ तिमोथी ३:१६) हो, बाइबलमा राम्रो सल्लाह पाइन्छ। बाइबलले मानिसको स्वभावलाई राम्ररी बुझेको छ भन्ने कुरा ती सल्लाहमा देखिन्छ। नदेखियोस् पनि किन, यसका लेखक यहोवा हाम्रा सृष्टिकर्ता हुनुहुन्छ! उहाँले हाम्रो सोचविचार तथा भावनालाई हामीले भन्दा राम्ररी बुझ्नुहुन्छ। साथै हामी कसरी सुखी हुन सक्छौं, यहोवालाई थाह छ। हामी कस्ता कुराहरूबाट टाढा बस्नुपर्छ, त्यो पनि उहाँलाई थाह छ।

११, १२. (क) येशूले आफ्नो प्रवचनमा के-कस्ता कुरा बताउनुभयो? (ख) बाइबलमा अन्य कस्ता सल्लाह पाइन्छ र ती किन सधैंका लागि उपयोगी छन्‌?

 ११ बाइबलको मत्ती भन्ने किताबको अध्याय ५ देखि ७ मा पाइने येशूको प्रवचनलाई विचार गर्नुहोस्। त्यो प्रवचन दिंदा येशूले विभिन्न विषयमा कुरा गर्नुभयो। जस्तै: साँच्चै आनन्दित कसरी हुने, झगडा कसरी सुल्झाउने, प्रार्थना कसरी गर्ने, धनसम्पत्तिप्रति कसरी सही दृष्टिकोण राख्ने। येशूले त्यतिबेला भन्नुभएका कुराहरू अहिले पनि उत्तिकै प्रभावकारी र उपयोगी छन्‌।

 १२ बाइबलमा पारिवारिक जीवन, काम गर्ने बानी र अरूसितको सम्बन्धबारे पनि सल्लाह पाइन्छ। बाइबलका सल्लाह सबै मानिसलाई लागू हुन्छ र सधैं उपयोगी हुन्छ। बाइबलमा पाइने सल्लाह-सुझावबारे भविष्यवक्ता यशैयामार्फत यहोवाले यसो भन्नुभयो: “म परमप्रभु तेरा परमेश्वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ।”—यशैया ४८:१७.

भविष्यवाणीको किताब

बाइबलका लेखक यशैयाले बेबिलोनको पतनबारे भविष्यवाणी गरे

१३. यहोवाले बेबिलोनको विनाशबारे कस्तो भविष्यवाणी गर्नुभयो?

१३ बाइबलमा थुप्रै भविष्यवाणी पाइन्छ र तीमध्ये धेरैजसो त पूरा भइसके। एउटा उदाहरण विचार गर्नुहोस्। आजभन्दा लगभग ३,००० वर्षअगाडि ईसापूर्व आठौं शताब्दीका भविष्यवक्ता यशैयामार्फत यहोवाले बेबिलोन सहरको विनाशबारे बताउनुभएको थियो। (यशैया १३:१९; १४:२२, २३) यस सहरमाथि कसरी विजय हासिल गरिनेछ भनेर उहाँले विस्तृत जानकारी दिनुभयो। भविष्यवाणीअनुसार आक्रमणकारी सेनाहरूले बेबिलोनको नदी सुकाउने थिए र युद्ध नलडीकनै सहरलाई कब्जा गर्ने थिए। यति मात्र कहाँ हो र, यशैयाको भविष्यवाणीमा बेबिलोनलाई हराउने राजाको नामसमेत उल्लेख गरिएको थियो! ती राजा हुन्‌, कोरेस।—यशैया ४४:२७-४५:२.

१४, १५. यशैयाको भविष्यवाणी कसरी पूरा भयो?

१४ त्यसको झन्डै २०० वर्षपछिको कुरा हो, ईसापूर्व ५३९, अक्टोबर ५ तारिखको रात सिपाहीहरू बेबिलोन सहरनजिकै पाल टाँगेर बसेका थिए। यस सेनाका प्रमुख को थिए? फारसी राजा कोरेस। बाइबलको आश्चर्यजनक भविष्यवाणी अब पूरा हुनै लागेको थियो। तर भविष्यवाणी गरिएझैं कोरेसले युद्ध नलडीकनै बेबिलोनलाई हराउने थिए त?

१५ त्यो रात बेबिलोनीहरू भोजभतेरमा मस्त थिए। आफ्नो सहरका ठूलठूला पर्खालभित्र तिनीहरू ढुक्क थिए। त्यसबीच कोरेसले चलाखीपूर्ण ढङ्गमा सहरभित्र बग्ने नदीको पानीलाई थुनेर अर्कैतिर मोडिदिए। नदीको  पानी घटेपछि सिपाहीहरू नदी पार गरेर सहरको पर्खालसम्म पुग्न सफल भए। तर तिनीहरू कसरी भित्र पसे? किन हो कुन्नि, बेबिलोनीहरूले वास्तै नगरेर ढोकाहरू खुल्लै छोडेका थिए!

१६. (क) बेबिलोनको पतनबारे यशैयाले कस्तो भविष्यवाणी गरे? (ख) बेबिलोन उजाड हुनेछ भन्ने भविष्यवाणी कसरी पूरा भयो?

१६ बेबिलोन सहरबारे यस्तो भविष्यवाणी गरिएको थियो: “त्यसको कहिल्यै आबादी हुनेछैन। पुस्तौंसम्म त्यहाँ कोही बस्नेछैन। कुनै अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन। गोठालाहरूले आफ्नो बगाल त्यहाँ विश्राम गर्नदिनेछैनन्‌।” (यशैया १३:२०) यस भविष्यवाणीमा सहरको पतनबारे मात्र होइन, त्यो कहिल्यै आबाद हुनेछैन भनेर पनि बताइएको थियो। यो भविष्यवाणी पूरा भएको तपाईं आफ्नै आँखाले देख्न सक्नुहुन्छ। यहोवाले यसो भन्नुभएको थियो: “म त्यसलाई सर्वनाशरूपी खरेटोले बढार्नेछु।” (यशैया १४:२२, २३) यो भविष्यवाणी पूरा भएको प्रमाण इराकको राजधानी बग्दादको लगभग ८० किलोमिटर दक्षिणतिर पर्ने प्राचीन बेबिलोनको भग्नावशेषले दिन्छ। *

बेबिलोनको भग्नावशेष

१७. भविष्यवाणीहरू पूरा भएको देख्दा हाम्रो विश्वास कसरी बलियो हुन्छ?

 १७ बाइबलका भविष्यवाणीहरू भरपर्दा छन्‌ भनी विचार गर्दा हाम्रो विश्वास पक्कै बलियो हुन्छ नि, होइन र? यहोवा परमेश्वरले आफूले पहिले गरेका प्रतिज्ञाहरू पूरा गर्नुभयो। त्यसैले पृथ्वीलाई सुन्दर बगैंचा बनाउने उहाँको प्रतिज्ञा पनि पक्कै पूरा हुनेछ भनेर हामी विश्वस्त हुन सक्छौं। (गन्ती २३:१९) हामीसित ‘अनन्त जीवनको आशा छ, जसको विषयमा कहिल्यै झूट नबोल्नुहुने परमेश्वरले धेरै पहिले प्रतिज्ञा गर्नुभएको थियो।’—तीतस १:२. *

“परमेश्वरको वचन जीवित” छ

१८. “परमेश्वरको वचन”-बारे पावलले के भने?

१८ यस अध्यायमा हामीले जे-जति छलफल गऱ्यौं, त्यसबाट बाइबल साँच्चै अतुलनीय किताब हो भनी स्पष्ट हुन्छ। बाइबलको विशेषता यसमा  पाइने आपसी तालमेल, वैज्ञानिक र ऐतिहासिक सत्यता, राम्रो सल्लाह र भरपर्दो भविष्यवाणीमा मात्र सीमित छैन। येशूका चेला पावलले यस्तो लेखे: “परमेश्वरको वचन जीवित र प्रबल अनि कुनै दुई-धारे तरबारभन्दा धारिलो छ। यसले मानिसको बाहिरी स्वरूप र भित्री मनुष्यत्वलाई अलग पार्छ, जोर्नी र त्यसको मासीलाई छुट्टयाउँछ अनि मनको विचार र आशय जाँच्न सक्छ।”—हिब्रू ४:१२.

१९, २०. (क) आफ्नो जीवनलाई राम्ररी केलाएर हेर्न बाइबलले कसरी मदत गर्छ? (ख) तपाईं कसरी बाइबलको मोल गर्न सक्नुहुन्छ?

१९ “परमेश्वरको वचन” पढ्यौं भने त्यसले हाम्रो जीवन परिवर्तन गर्न सक्छ। आफ्नो जीवनलाई राम्ररी केलाएर हेर्न यसले मदत गर्छ। हामी सायद यसो भन्छौं होला, ‘म परमेश्वरलाई प्रेम गर्छु।’ तर बाइबलअनुसार चल्छौं कि चल्दैनौं, त्यसले हाम्रो भित्री सोचाइ र साँचो मनसाय प्रकट गर्नेछ।

२० बाइबल साँच्चै परमेश्वरले दिनुभएको किताब हो। यो हामीले पढ्नुपर्ने, अध्ययन गर्नुपर्ने र मूल्यवान्‌ ठान्नुपर्ने किताब हो। त्यसैले गहिरो अध्ययन गरेर परमेश्वरले दिनुभएको यस उपहारको मोल गर्नुहोस्। त्यसो गर्नुभयो भने परमेश्वरले कुन उद्देश्यले मानिस सृष्टि गर्नुभयो, तपाईंले अझ राम्ररी बुझ्नुहुनेछ। त्यो उद्देश्य के हो र कसरी पूरा हुनेछ, त्यसबारे अर्को अध्यायमा छलफल गर्नेछौं।

^ अनु. 6 बाइबलको कुनै-कुनै कुरा आपसमा मेल खाँदैन भनी केही मानिसले दाबी गरे तापनि त्यसको कुनै आधार छैन। यहोवाका साक्षीहरूद्वारा प्रकाशित पुस्तिका, सबैका लागि उपयोगी किताब-को पृष्ठ १४-१७ हेर्नुहोस्।

^ अनु. 9 उदाहरणको लागि, लूका ३:२३-३८ मा उल्लिखित येशूको विस्तृत वंशावली।

^ अनु. 16 थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित पुस्तिका, सबैका लागि उपयोगी किताब-को पृष्ठ २७-२९ हेर्नुहोस्।

^ अनु. 17 बेबिलोनको पतन एउटा उदाहरण मात्र हो। प्राचीन सहर टायर र निनवेको विनाशबारे गरिएका भविष्यवाणी पनि पूरा भएका छन्‌। (इजकिएल २६:१-५; सपन्याह २:१३-१५) बेबिलोनपछि देखा पर्ने विश्वशक्तिहरूबारे दानियलको किताबमा भविष्यवाणी गरिएको थियो। यसमा मादी-फारसी र ग्रीस पनि पर्थ्यो, जुन भविष्यवाणीअनुसारै देखा परे। (दानियल ८:५-७, २०-२२) त्यसैगरि मसीहसम्बन्धी थुप्रै भविष्यवाणी येशू ख्रीष्टमा पूरा भए। यसबारे बुझ्न पृष्ठ १९९-२०१ हेर्नुहोस्।