सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ९

इस्राएलीहरू राजाको माग गर्छन्‌

इस्राएलीहरू राजाको माग गर्छन्‌

इस्राएलका पहिलो राजा शाऊल अनाज्ञाकारी साबित हुन्छन्‌। तिनीपछि दाऊद राजा हुन्छन्‌ जससित परमेश्‍वर सदा रहिरहने राज्यको करार बाँध्नुहुन्छ

शिमशोनको समयपछि शमूएलले इस्राएलमा अगमवक्‍ता र न्यायकर्ताको रूपमा सेवा गरे। अरू राष्ट्रमा जस्तै आफूमाथि शासन गर्न राजा चाहियो भनी इस्राएलीहरूले शमूएलसित माग गरिरहे। यो माग यहोवाको मन दुखाउने खालको भए तापनि उहाँले शमूएललाई तिनीहरूको कुरा सुन्‍न निर्देशन दिनुभयो। परमेश्‍वरले शाऊल नाउँ गरेका एक नम्र व्यक्‍तिलाई राजा हुन छान्‍नुभयो। तर समयको दौडान यी राजा हठी र अनाज्ञाकारी भए। यहोवाले तिनलाई राजाको रूपमा तिरस्कार गर्नुभयो र अर्का जवान मानिस दाऊदलाई राजा नियुक्‍त गर्न शमूएललाई अह्राउनुभयो। तर दाऊद तुरुन्तै राजा भइहालेनन्‌।

सायद आफ्नो किशोर अवस्थामा दाऊद शाऊलको सेनामा सेवारत आफ्ना दाइहरूलाई भेट्‌न गए। सबै सिपाहीहरू शत्रु पक्षका गोल्यत नाउँ गरेका एक राक्षस योद्धासित एकदमै डराउँथे। ऊ तिनीहरू र तिनीहरूका परमेश्‍वरको खिल्ली उडाउँथ्यो। यी सबै देखेर क्रोधित भएका दाऊदले त्यो राक्षसले ऊसित लड्‌न दिएको चुनौती स्वीकारे। एउटा घुयेंत्रो र केही ढुङ्‌गाहरूको भरमा यी जवान व्यक्‍ति नौ फिटभन्दा अग्लो शत्रुसँग लड्‌न गए। गोल्यतले खिसी गर्दा दाऊदले आफू ऊभन्दा सुसज्जित भएको कुरा बताए किनभने दाऊद यहोवा परमेश्‍वरको नाउँमा लड्‌न आएका थिए! एउटै ढुङ्‌गाको प्रहारमा दाऊदले गोल्यतलाई ढाले र उसकै तरवारले उसको टाउको काटिदिए। पलिश्‍ती सिपाहीहरू डरले भागाभाग गरे।

दाऊदको साहस देखेर पहिला त शाऊल प्रभावित भए र यी युवकलाई सेनाप्रमुख बनाए। तर दाऊदको सफलताले शाऊललाई असाध्यै डाही बनायो। दाऊदले जीवन बचाउन वर्षौंसम्म भगुवा जीवन बिताउनुपऱ्‍यो। तैपनि दाऊद आफूलाई मार्ने षड्यन्त्र गरिरहेका राजाप्रति वफादार भइरहे। किनकि राजा शाऊल यहोवा परमेश्‍वरद्वारा नियुक्‍त व्यक्‍ति हुन्‌ भनेर तिनलाई थाह थियो। अन्ततः शाऊल युद्धमा मारिए। त्यसलगत्तै यहोवाले प्रतिज्ञा गरेझैं दाऊद राजा भए।

“म त्यसको राजकीय सिंहासन सधैंको निम्ति स्थिर गर्नेछु।”—२ शमूएल ७:१३

यहोवाको लागि मन्दिर निर्माण गर्ने राजा दाऊदको ठूलो इच्छा थियो। तर यहोवाले दाऊदलाई तिनको एक जना सन्तानले यो काम गर्नेछ भन्‍नुभयो। ती व्यक्‍ति दाऊदका छोरा सुलेमान साबित भए। तर दाऊदसित एउटा रोमाञ्चकारी करार बाँधेर परमेश्‍वरले तिनलाई इनाम दिनुभयो। त्यो करार अरू कुलबाट नभई तिनको कुलबाट आउने एउटा विशेष राजकीय वंशबारे थियो। आखिरमा त्यस वंशद्वारा अदनमा प्रतिज्ञा गरिएका मुक्‍तिदाता वा सन्तान आउने थिए। ती व्यक्‍ति मसीह अर्थात्‌ परमेश्‍वरले नियुक्‍त गर्नुभएको “अभिषिक्‍त जन” हुने थिए। मसीह सधैंभरि रहिरहने सरकार वा राज्यको शासक हुनेछन्‌ भनेर यहोवाले प्रतिज्ञा गर्नुभयो।

एकदमै कृतज्ञ भई दाऊदले मन्दिर निर्माणको लागि थुप्रै निर्माण सामग्री र बहुमूल्य धातुहरू जम्मा गरे। तिनले थुप्रै प्रेरित भजनहरू पनि रचे। आफ्नो जीवनको अन्ततिर तिनले यो मानिलिए: “परमप्रभुका आत्मा मद्वारा बोल्नुभएको छ, र उहाँको वचन मेरो मुखमा छ।”—२ शमूएल २३:२.

पहिलो शमूएल; दोस्रो शमूएल; १ इतिहास; यशैया ९:७; मत्ती २१:९; लूका १:३२; यूहन्‍ना ७:४२ मा आधारित।