सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १७

येशू परमेश्‍वरको राज्यबारे सिकाउनुहुन्छ

येशू परमेश्‍वरको राज्यबारे सिकाउनुहुन्छ

येशू आफ्ना चेलाहरूलाई धेरै कुरा सिकाउनुहुन्छ। तर उहाँले सिकाउने मुख्य विषय परमेश्‍वरको राज्य हो

येशू पृथ्वीमा आउनुको कारण के थियो? उहाँ आफैले भन्‍नुभयो: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार . . . सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) उहाँको प्रचारकार्यको मुख्य विषय अर्थात्‌ परमेश्‍वरको राज्यबारे उहाँले सिकाएका चारवटा कुरा विचार गर्नुहोस्‌।

१. येशू नियुक्‍त राजा हुनुहुने थियो। भविष्यवाणी गरिएका मसीह आफू नै हो भनी येशूले सीधै भन्‍नुभयो। (यूहन्‍ना ४:२५, २६) भविष्यवक्‍ता दानिएलले दर्शनमा देखेका राजा आफै हो भनेर पनि येशूले प्रमाणित गर्नुभयो। आफू एकदिन “महिमाको सिंहासनमा” बस्ने र तिनीहरू पनि सिंहासनहरूमा बस्ने कुरा येशूले आफ्ना प्रेरितहरूलाई a बताउनुभयो। (मत्ती १९:२८) शासन गर्ने त्यो समूहलाई उहाँले “सानो बगाल” भन्‍नुभयो र उहाँका “अरू भेडा” छन्‌ भनेर पनि बताउनुभयो जो त्यस समूहका थिएनन्‌।—लूका १२:३२; यूहन्‍ना १०:१६.

२. परमेश्‍वरको राज्यले साँचो न्यायलाई बढवा दिने थियो। परमेश्‍वरको राज्यले यहोवाको नाउँलाई पवित्र पारेर अनि अदनको बगैंचाको विद्रोहदेखि शैतानले थोपरेको सबै कलङ्‌कलाई नामेट पारेर सबैभन्दा ठूलो अन्याय हटाउनेछ भनी येशूले संकेत गर्नुभयो। (मत्ती ६:९, १०) कुनै भेदभाव नराखी पुरुष/स्त्री, धनी/गरिब सबैलाई सिकाएर येशूले निष्पक्ष भएको निरन्तर देखाउनुभयो। हुन त उहाँले मुख्यतया इस्राएलीहरूलाई सिकाउनुपर्ने थियो तर सामरी र अन्यजाति अर्थात्‌ गैर-यहूदीहरूलाई मदत गर्न पनि उहाँ अघि बढ्‌नुभयो। आफ्नो समयका धर्मगुरुहरूले जस्तो उहाँले कसैलाई काखा, कसैलाई पाखा पटक्कै गर्नुभएन।

३. परमेश्‍वरको राज्य यस संसारको भाग हुने थिएन। येशूको समयमा राजनैतिक उथलपुथल थियो। उहाँको जन्मभूमिमा विदेशी शक्‍तिले प्रभुत्व जमाएको थियो। तर मानिसहरूले उहाँलाई त्यतिबेलाको राजनैतिक मामिलामा मुछ्‌न खोज्दा उहाँ पछि हट्‌नुभयो। (यूहन्‍ना ६:१४, १५) एक राजनीतिज्ञलाई उहाँले भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन।” (यूहन्‍ना १८:३६) आफ्ना अनुयायीहरूलाई चाहिं यसो भन्‍नुभयो: “तिमीहरू यस संसारका होइनौ।” (यूहन्‍ना १५:१९) उहाँले तिनीहरूलाई युद्धका हातहतियार चलाउन छुट दिनुहुने थिएन, उहाँकै सुरक्षा गर्नसमेत।—मत्ती २६:५१, ५२.

“उहाँ . . . गाउँ-गाउँहुँदो प्रचार गर्दै र परमेश्‍वरको राज्यको सुसमाचार सुनाउँदै हिंड्‌नुभयो।”—लूका ८:१

४. ख्रीष्टको शासन प्रेममा आधारित हुने थियो। येशूले मानिसहरूलाई स्फूर्ति दिने र तिनीहरूको बोझ हलुको पारिदिने प्रतिज्ञा गर्नुभयो। (मत्ती ११:२८-३०) उहाँले आफूले भनेअनुरूपै गर्नुभयो। डाँडाको उपदेश भनेर चिनिने भाषणमा उहाँले फिक्रीको सामना गर्ने, आपसी सम्बन्ध सुधार्ने, भौतिकवादी झुकावविरुद्ध संघर्ष गर्ने र आनन्द प्राप्त गर्नेबारे मायालु र व्यावहारिक सल्लाह दिनुभयो। (मत्ती, अध्याय ५-७) उहाँले प्रेम देखाएकोले गर्दा सबै प्रकारका मानिस—एकदमै दबिएकाहरूसमेत उहाँकहाँ जान सजिलो महसुस गर्थे। उहाँले तिनीहरूलाई दयालु र मर्यादित ढंगमा व्यवहार गर्नुहुनेछ भनेर तिनीहरूलाई थाह थियो। येशू कत्ति उत्तम शासक हुनुहुनेछ!

अर्को सशक्‍त तरिकाद्वारा पनि येशूले परमेश्‍वरको राज्यबारे सिकाउनुभयो। उहाँले थुप्रै चमत्कार गर्नुभयो। किन? आउनुहोस्‌, हामी हेरौं।

मत्ती, मर्कूस, लूका यूहन्‍नाको पुस्तकमा आधारित।

a “प्रेरित” भन्‍ने शब्दले येशूले उहाँसित सेवाको काममा भाग लिन सुरुमा छानेका १२ पुरुषहरूलाई बुझाउँछ। मूल ग्रीकमा यसको अर्थ “पठाइएको जन” हो।