सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग १

सृष्टिकर्ता मानिसलाई प्रमोदवन दिनुहुन्छ

सृष्टिकर्ता मानिसलाई प्रमोदवन दिनुहुन्छ

परमेश्‍वर भौतिक ब्रह्‍माण्ड र पृथ्वीमा जीवित प्राणी सृष्टि गर्नुहुन्छ; सिद्ध पुरुष र स्त्री सृष्टि गरेर तिनीहरूलाई एउटा सुन्दर बगैंचामा राख्नुहुन्छ र तिनीहरूले पालन गर्नुपर्ने आज्ञा दिनुहुन्छ

“आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” (उत्पत्ति १:१) यी शब्दहरूलाई अहिलेसम्म लेखिएका सुरुका शब्दहरूमध्ये सबैभन्दा प्रख्यात मानिएको छ। यो सरल तर सानदार वाक्यद्वारा बाइबल हामीलाई पवित्र धर्मशास्त्रका मुख्य व्यक्‍ति—सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवालाई चिनाउँछ। यो विशाल भौतिक ब्रह्‍माण्डलगायत हामी बसिरहेको ग्रहको सृष्टिकर्ता परमेश्‍वर हुनुहुन्छ भनी बाइबलको पहिलो पद प्रकट गर्छ। त्यसपछिका पदहरूअनुसार लाक्षणिक अर्थमा दिनहरू भनी चिनाइएको लामो समयावधिमा परमेश्‍वरले प्रकृतिका सम्पूर्ण अद्‌भुत कुरालाई सृष्टि गरेर पृथ्वीलाई हामी बस्न योग्य घर बनाउनुभयो।

परमेश्‍वरले पृथ्वीमा सृष्टि गर्नुभएको सबैभन्दा विशिष्ट प्राणी मानिस थियो। परमेश्‍वरकै स्वरूपमा अर्थात्‌ प्रेम र बुद्धिजस्ता यहोवाका गुणहरू झल्काउन सक्नेगरि सृष्टि गरिएको प्राणी मानिसमात्रै थियो। परमेश्‍वरले मानिसलाई भूमिको माटोबाट बनाउनुभयो। उहाँले ती मानिसलाई आदम नाउँ दिनुभयो र तिनलाई प्रमोदवन अर्थात्‌ अदनको बगैंचामा राख्नुभयो। परमेश्‍वर स्वयम्‌ले त्यो बगैंचा लगाउनुभयो र सुन्दर अनि फल दिने रूखहरूले भर्नुभयो।

मानिसको लागि जोडी आवश्‍यक परेको परमेश्‍वरले याद गर्नुभयो। आदमको एउटा करङ निकालेर परमेश्‍वरले स्त्री बनाउनुभयो र उक्‍त स्त्रीलाई आदमकी पत्नीको रूपमा तिनीकहाँ ल्याउनुभयो। पछि ती स्त्रीको नाउँ हव्वा राखिदिनुभयो। दङ्‌ग पर्दै आदमले कवितात्मक शैलीमा यसो भने: “यो ता मेरै हाडको हाड र मासुको मासु हो।” परमेश्‍वरले भन्‍नुभयो: “यसैकारण मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।”—उत्पत्ति २:२२-२४; ३:२०.

परमेश्‍वरले आदम र हव्वालाई दुइटा आज्ञा दिनुभयो। पहिलो, उहाँले पृथ्वीलाई खनजोत तथा हेरविचार गर्न र तिनीहरूका सन्तानले पृथ्वी भर्दै जान भन्‍नुभयो। दोस्रो, त्यो विशाल बगैंचामा भएका रूखहरूमध्ये “असल र खराबको ज्ञान दिने रूखको फलचाहिं” नखान आज्ञा गर्नुभयो। (उत्पत्ति २:१७) आज्ञा नमानेको खण्डमा तिनीहरू मर्ने थिए। यी आज्ञाहरू पालन गरेर परमेश्‍वरलाई आफ्नो शासक स्वीकारेको देखाउने मौका उहाँले तिनीहरूलाई दिनुभयो। आज्ञा मान्दा तिनीहरूले प्रेम र कृतज्ञता देखाउने मौका पनि पाउने थिए। उहाँको दयालु शासन स्वीकार्नुपर्ने हर कारण तिनीहरूसँग थियो। ती सिद्ध मानवमा कुनै त्रुटि थिएन। बाइबल भन्छ: “आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।”—उत्पत्ति १:३१.

उत्पत्ति अध्याय १ र २ मा आधारित।