अध्याय ७
आज्ञाकारी हुनु सुरक्षा हो
आफूलाई जे मन लाग्यो त्यही गर्न पाएको भए के तिमीलाई खुसी लाग्थ्यो? के तिमीलाई कहिलेकाहीं अरूले ‘यसो गर्नुपर्छ, यसो गर्नु हुँदैन’ भनेर नसिकाएको भए हुन्थ्यो जस्तो लाग्छ? नढाँटी भन त!—
तर तिम्रो लागि कुन कुरा राम्रो हो? जे मन लाग्यो त्यही गर्नु बुद्धिमानी हो? अथवा आमाबाबुले भनेअनुसार गर्दा राम्रो हुन्छ?— आमाबाबुको आज्ञा पालन गर्नुपर्छ भनेर परमेश्वरले बताउनुभएको छ। त्यसैले आमाबाबुको कुरा सुन्नुमा पक्कै पनि राम्रो कारण हुनुपर्छ। त्यो के हो हामी पत्ता लगाऔं है त!
तिमी कति वर्षका भयौ?— तिम्रो बुबा कति वर्षको हुनुभयो, तिमीलाई थाह छ?— तिम्री आमा, हजुरआमा अथवा हजुरबुबा कति वर्षको हुनुभयो, भन्न सक्छौं कि?— उहाँहरूले जीवन बिताउनुभएको निकै लामो समय भइसक्यो। मानिस जति लामो समय बाँच्छन्, तिनले उति नै धेरै कुरा सिकेका हुन्छन्। तिनले हरेक वर्ष थुप्रै कुरा सुनेका हुन्छन्, देखेका हुन्छन् र गरेका हुन्छन्। त्यसैले साना केटाकेटीले पाका व्यक्तिहरूबाट सिक्न सक्छन्।
के तिमी आफूभन्दा सानो उमेरको कसैलाई चिन्छौ?— के तिमीलाई उनीहरूलाई भन्दा धेरै कुरा थाह छ?— उनीहरूलाई भन्दा तिमीलाई धेरै कुरा किन थाह भएको?— किनभने उनीहरूले भन्दा तिमीले लामो समय जीवन बिताएका छौ। उनीहरूले भन्दा तिमीले बढी सिक्ने समय पाएका छौ।
तिमी, म अनि अरू कोही मानिसभन्दा लामो समय बाँच्ने को हुनुहुन्छ होला?— हो, उहाँ यहोवा परमेश्वर हुनुहुन्छ। तिमीलाई अनि मलाई भन्दा पनि कता हो कता धेरै कुरा उहाँलाई थाह छ। यदि उहाँले हामीलाई कुनै काम गर भन्नुहुन्छ भने गाह्रै भए तापनि त्यो काम गर्नु नै सही हुनेछ भनेर हामी ढुक्क हुन सक्छौं। एक पटक महान् शिक्षक येशूलाई समेत यहोवाको आज्ञा मान्न गाह्रो भएको थियो भनेर के तिमीलाई थाह छ?—
एक चोटिको कुरा हो, परमेश्वरले येशूलाई असाध्यै गाह्रो काम गर्न भन्नुभयो। त्यसपछि येशूले यहाँ चित्रमा देखाइएझैं यस विषयमा प्रार्थना गर्नुभयो। उहाँले यसरी प्रार्थना गर्नुभयो: ‘यदि तपाईं चाहनुहुन्छ भने यो गाह्रो काम मबाट हटाइदिनुहोस्।’ यस विषयमा प्रार्थना गर्नुभएर येशूले परमेश्वरको इच्छाअनुसार गर्नु सधैं सजिलो हुँदैन भनेर देखाउनुभयो। तर येशूले प्रार्थनाको अन्तमा के भन्नुभयो? के तिमी भन्न सक्छौ?—
येशूले प्रार्थनाको अन्तमा भन्नुभयो: “मेरो होइन तर तपाईंको इच्छाबमोजिम होस्।” (लूका २२:४१, ४२) हो, उहाँ आफ्नो होइन तर परमेश्वरको इच्छा पूरा भएको चाहनुहुन्थ्यो। अनि उहाँले आफूलाई जे ठीक लाग्छ, त्यही गर्नुको साटो परमेश्वर के चाहनुहुन्छ, त्यही गर्नुभयो।
यसबाट हामी के सिक्न सक्छौं?— हो, कहिलेकाहीं परमेश्वरले भन्नुभएअनुसारै गर्न गाह्रो हुन सक्छ, तर सधैं उहाँले भन्नुभएअनुसारै गर्नु ठीक हो। हामी अर्को एउटा कुरा पनि सिक्न सक्छौं। त्यो के हो?— परमेश्वर र येशू एउटै व्यक्ति हुनुहुन्न भन्ने कुरा पनि हामी यसबाट सिक्न सक्छौं। तर अरू मानिसचाहिं उहाँहरू एउटै व्यक्ति हुनुहुन्छ भन्ने गर्छन्। यहोवा परमेश्वर आफ्नो छोरा येशूभन्दा पाको हुनुहुन्छ र येशूलाई भन्दा उहाँलाई धेरै कुरा थाह छ।
परमेश्वरको आज्ञा मान्दा हामी उहाँलाई प्रेम गर्छौं भनी देखाइरहेका हुन्छौं। बाइबल भन्छ: “परमेश्वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो।” १ यूहन्ना ५:३) अब तिमीले बुझ्यौ होला, हामी सबैले परमेश्वरको आज्ञा पालन गर्नै पर्छ। तिमी उहाँको आज्ञा पालन गर्न चाहन्छौ नि, होइन र?—
(ल अब हामी आ-आफ्नो बाइबल पल्टाऔं अनि परमेश्वरले साना केटाकेटीलाई के भन्नुभएको छ, हेरौं। एफिसी अध्याय ६ को पद १, २ अनि ३ मा के लेखिएको छ, पढौं है! यहाँ यस्तो लेखिएको छ: “हे छोराछोरीहरू हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबाबुप्रति आज्ञाकारी होओ, किनकि परमेश्वरको नजरमा यो असल छ। ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू,’ जुन प्रतिज्ञासहितको पहिलो आज्ञा हो: ‘ताकि तिम्रो भलो होस् र पृथ्वीमा तिम्रो आयु लामो होस्।’ ”
देख्यौ त, आमाबाबुको आज्ञा पालन गर्नुपर्छ भनेर स्वयम् यहोवा परमेश्वरले तिमीलाई बताउँदै हुनुहुन्छ। आमाबाबुको “आदर गर्नू” भनेको के हो? यसको अर्थ उहाँहरूको मान गर्नु हो। यदि तिमीले आमाबाबुको आज्ञा पालन गऱ्यौ भने “तिम्रो भलो” हुनेछ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ।
अब म तिमीलाई आज्ञाकारी भएकोले आफ्नो ज्यान बचाउन सकेका मानिसहरूको कथा सुनाउँछु है! धेरै समय पहिला यी मानिसहरू यरूशलेम नाम गरेको ठूलो सहरमा बस्ने गर्थे। त्यहाँ बस्ने धेरैजसो मानिसले परमेश्वरको कुरा सुन्दैनथे। त्यसैले परमेश्वरले तिनीहरूको सहरलाई नाश गर्नुहुनेछ भनेर येशूले चेतावनी दिनुभयो। सही कुरा गर्नेहरू त्यहाँबाट कसरी भाग्न सक्छन्, त्यो पनि येशूले बताउनुभयो। उहाँले भन्नुभयो: ‘जब यरूशलेमलाई सैनिकहरूले घेरेको देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ। अनि यरूशलेमबाट निस्केर डाँडाहरूतिर भाग्नू।’—लूका २१:२०-२२.
येशूले भन्नुभएझैं सेनाहरू यरूशलेममा आक्रमण गर्न आए। रोमी सिपाहीहरूले यरूशलेमको चारैतिर घेरा हाले। त्यसपछि कारणवश ती सिपाहीहरू यरूशलेम छोडेर गए। धेरैजसो मानिसले भन्ठाने ‘अब त खतरा टऱ्यो।’ त्यसैले तिनीहरू सहरमै बस्न लागे। तर तिनीहरूले के गर्नुपर्छ भनेर येशूले भन्नुभएको थियो?—यदि तिमी यरूशलेममा भएको भए के गर्थ्यौ?— येशूको कुरामा विश्वास गर्ने जति सबै आ-आफ्नो घर छोडेर यरूशलेमभन्दा निकै टाढाको डाँडामा भागेर गए।
त्यो वर्षभरि यरूशलेममा केही भएन। दोस्रो वर्ष पनि केही भएन। अनि तेस्रो वर्षमा पनि केही भएन। सहर छोडेर जानेहरूले मूर्ख काम गरे भनेर केही मानिसले सोचेको हुनुपर्छ। तर चौथो वर्षमा रोमी सिपाहीहरू फर्केर आए। अनि उनीहरूले यरूशलेमको चारैतिर फेरि घेरा हाले। यस पटक भने त्यो ठाउँबाट कोही पनि भाग्न सकेन, धेरै ढिलो भइसकेको थियो। सिपाहीहरूले सहरलाई नाश गरे। सहरमा बस्ने धेरैजसो मानिस मरे र बाँकीलाई कैदी बनाएर लगियो।
तर येशूको आज्ञा पालन गर्नेहरूलाई के भयो?— तिनीहरूलाई केही पनि भएन। तिनीहरू यरूशलेमभन्दा निकै टाढा थिए। त्यसैले तिनीहरूलाई केही हानि भएन। आज्ञा पालन गरेकोले तिनीहरू बचे।
आज्ञाकारी भयौ भने के तिम्रो पनि सुरक्षा हुनेछ?— तिम्रा आमाबाबुले तिमीलाई बाहिर सडकमा कहिल्यै नखेल्नू भन्नुहुन्छ होला। उहाँहरूले किन त्यसो भन्नुभएको?— किनभने तिमीलाई गाडीले हिर्काउन सक्छ। तर तिमीलाई कहिलेकाहीं
यस्तो लाग्छ होला: ‘यहाँ त अहिले एउटा पनि गाडी छैन। मलाई केही पनि हुँदैन। अरू केटाकेटी पनि त सडकमा खेल्छन्, तिनीहरूलाई खै केही भएको छैन!’यरूशलेमबाट नभागेका धेरैजसो मानिसले पनि त्यस्तै सोचेका थिए। रोमी सिपाहीहरूले छोडेर जाँदा खतरा टरेझैं देखिएको थियो। अरू मानिस सहरमै बसिरहेको देखेर केहीले त्यहीं बस्ने निर्णय गरे। तिनीहरूलाई चेतावनी दिइएको थियो तर तिनीहरूले सुनेनन्। यसले गर्दा तिनीहरूले आफ्नो ज्यान गुमाए।
अर्को एउटा उदाहरण पनि विचार गर। के तिमीले कहिल्यै सलाईको बट्टा लिएर खेलेका छौ?— काँटी बलेको देख्दा तिमीलाई रमाइलो लाग्छ होला तर सलाई खेल्नु खतरनाक छ। पूरै घर जल्न सक्छ र तिमी मर्न पनि सक्छौ!
कहिलेकाहीं मात्र आज्ञाकारी भएर पुग्दैन भनेर नबिर्स। यदि तिमी सधैं आज्ञाकारी हुन्छौ भने साँच्चै तिम्रो सुरक्षा हुनेछ। अनि ‘हे छोराछोरीहरू हो, आमाबाबुप्रति आज्ञाकारी होओ’ भन्ने व्यक्ति को हुनुहुन्छ?— हो, उहाँ परमेश्वर हुनुहुन्छ। अनि तिमीलाई माया गर्ने भएकोले नै उहाँले त्यसो भन्नुभएको हो भन्ने कुरा सधैं सम्झी राख है!
आज्ञाकारी हुनुको महत्त्वबारे बताउने यी बाइबल पदहरू अब पढौं है त: हितोपदेश २३:२२; उपदेशक १२:१३; यशैया ४८:१७, १८ अनि कलस्सी ३:२०.