सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

छोराछोरीलाई आमाबुबाबाट के चाहिन्छ?

छोराछोरीलाई आमाबुबाबाट के चाहिन्छ?

मानिसले आजसम्म पूरै बुझ्न नसकेको एउटा अद्‌भुत कुरा छ। त्यो कुरामा प्रत्येक आमाबाबुले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्‌। तिनीहरू प्रत्येकले आफ्नो शरीरको केही भाग दिन्छन्‌। फलस्वरूप, आमाको गर्भभित्र गएर त्यसले बच्चाको रूप लिन्छ। त्यसैले बच्चाको जन्म हुँदा मानिसहरूले यस घटनालाई “जन्मको चमत्कार” भन्‍नु कुनै छक्कलाग्दो कुरा होइन।

निस्सन्देह, बच्चा जन्माउनु त आमाबाबुको जिम्मेवारीको सुरुवात मात्र हो। सानो छँदा बच्चाहरू पूर्णतया आमाबाबुमा निर्भर हुन्छन्‌। तर हुर्कंदै गएपछि तिनीहरूको शारीरिक आवश्‍यकता मात्र पूरा गरिदिएर पुग्दैन। तिनीहरूलाई मानसिक, भावनात्मक, नैतिक र आध्यात्मिक तवरमा विकसित हुन मदत चाहिन्छ।

स्वास्थ्यकर ढङ्‌गमा विकास हुन केटाकेटीलाई विशेषगरि आमाबाबुको माया चाहिन्छ। शब्दहरूद्वारा माया व्यक्‍त गर्नु महत्त्वपूर्ण छ। तर त्यो माया व्यवहारमा पनि देखिनुपर्छ। हो, आमाबाबुले छोराछोरीको लागि असल उदाहरण बसाल्नु आवश्‍यक छ। तिनीहरूलाई जीवन बिताउन मदत गर्ने नैतिक निर्देशन तथा सिद्धान्तहरू चाहिन्छ। अनि तिनीहरूलाई यी सबै कुरा कलिलै उमेरदेखि चाहिन्छ। एकदमै ढिला हुनुअघि नै छोराछोरीले यस्तो मदत पाएनन्‌ भने हृदयविदारक घटनाहरू हुन सक्छन्‌ र भएका पनि छन्‌।

अन्त कतै नपाइने उत्तम सिद्धान्तहरू बाइबलमा पाइन्छन्‌। बाइबलआधारित निर्देशनहरूबाट हुने लाभ बेजोड छ। ती निर्देशनहरू पाएपछि केटाकेटीले आफूलाई सिकाइएको कुरा कुनै मानिसको नभई तिनीहरूको सृष्टिकर्ता, स्वर्गमा हुनुहुने बुबाको हो भनी बुझ्नेछन्‌। यसले गर्दा तिनीहरूलाई दिइने सल्लाह सशक्‍त हुन्छ। अनि त्यस्तो सल्लाहलाई अरू कुनै पनि कुरासित तुलना गर्न सकिंदैन।

आफ्नो छोराछोरीको मनमा सही सिद्धान्तहरू ठप्प बसाल्नको लागि बाइबलले आमाबाबुलाई परिश्रम गर्न प्रोत्साहन दिन्छ। तर केटाकेटी हुर्कंदै गएपछि आमाबाबुले तिनीहरूसित एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्न अप्ठ्यारो महसुस गर्छन्‌। महान्‌ शिक्षकबाट सिकौं भन्‍ने यो किताबले त्यस्तो परिस्थिति सृजना हुन नदिन मदत गर्छ। तपाईं अनि तपाईंको छोराछोरीले परमेश्‍वरको निर्देशनबारे यो किताबमा पढ्‌न सक्नुहुन्छ। तर त्योभन्दा पनि महत्त्वपूर्ण, यो किताबले केटाकेटी र तिनीहरूलाई पढेर सुनाउने व्यक्‍तिबीच कुराकानी सुरु गर्न उत्प्रेरित गर्छ।

यो किताबमा केटाकेटीले आफ्नो विचार व्यक्‍त गर्न सक्ने गरी प्रश्‍नहरू दिइएको तपाईंले याद गर्न सक्नुहुन्छ। थुप्रै उपयुक्‍त प्रश्‍नहरू तपाईंले किताबमा पाउनुहुनेछ। अनि यस्ता ठाउँहरूमा तपाईंले एउटा धर्सो (—) देख्नुहुनेछ। एकछिन रोकिन अनि केटाकेटीलाई मनमा लागेका कुरा पोख्न दिन ती धर्साहरू राखिएका हुन्‌। केटाकेटीहरू हरेक कुरामा भाग लिन इच्छुक हुन्छन्‌। भाग लिन पाएनन्‌ भने तिनीहरूले चाँडै आफ्नो ध्यान गुमाउँछन्‌।

तर योभन्दा पनि महत्त्वपूर्ण, यी प्रश्‍नहरूले बच्चाको मनमा के छ भनेर तपाईंलाई बुझ्न मदत गर्नेछ। हो, केटाकेटीले गलत जवाफ दिन सक्छन्‌। तर प्रत्येक प्रश्‍न पछिका विषयवस्तुहरू केटाकेटीलाई सही तरिकामा सोच्न मदत गर्ने किसिमले तयार पारिएका छन्‌।

यो किताबको एउटा विशेष पक्ष भनेको यसमा भएका २३० भन्दा धेरै चित्र हुन्‌। अनि प्रायजसो चित्रसँगै क्याप्सनहरू प्रश्‍नको रूपमा दिइएका छन्‌। ती हेरेको र पढेको आधारमा केटाकेटीले जवाफ दिन सक्छन्‌। त्यसैले तिनीहरूसँगै मिलेर चित्रहरू हेर्नुहोस्‌। आफूले सिकाइरहेको कुरा बच्चाको मनमा ठप्प बसाल्न ती चित्रहरू प्रभावकारी साधन साबित हुन सक्छन्‌।

बच्चा पढ्‌न जान्‍ने भएपछि सँगै बसेर उसलाई पढ्‌न लगाउनुहोस्‌ र ऊ एक्लै हुँदा पनि पढ्‌न प्रोत्साहन दिनुहोस्‌। उसले जति धेरै पढ्‌छ, त्यति नै धेरै त्यसमा भएका राम्रा सल्लाहहरू उसको मन अनि दिमागमा ठप्प बस्नेछ। तर तपाईं र तपाईंको छोराछोरीबीचको स्नेहलाई बलियो बनाउन र एकअर्काप्रतिको आदर बढाउन हर हालतमा यो किताब सँगै पढ्‌नुहोस्‌ र त्यो पनि नियमित तवरमा।

दुई-चार वर्षअघिसम्म सोच्दै नसोचेको तरिकामा आजभोलि केटाकेटीले अवैध यौनसम्बन्ध, प्रेतवाद र अन्य घृणित कुराहरूको सामना गर्नुपरेको छ। त्यसैले तिनीहरूलाई सुरक्षा चाहिन्छ र यो किताबले त्यस्तो सुरक्षा मर्यादित तर स्पष्ट ढङ्‌गमा दिन मदत गर्छ। तथापि केटाकेटीको ध्यान विशेषगरि सबै बुद्धिका स्रोत हाम्रो स्वर्गमा हुनुहुने बुबा, यहोवा परमेश्‍वरतर्फ खिच्नुपर्छ। महान्‌ शिक्षक येशूले सधैं त्यसो गर्नुभयो। यो किताबले परमेश्‍वरलाई खुसी तुल्याउने ढङ्‌गमा तपाईं अनि तपाईंको परिवारलाई जीवन बिताउन र अनन्त आशिष्‌ पाउन मदत गरोस्‌ भनी हामी मनदेखि नै आशा गर्छौं।