अध्याय ३०
डरमाथि विजयी हुन मदत
के तिमीलाई यहोवाको सेवा गर्न सजिलो लाग्छ?— महान् शिक्षकले सजिलो हुन्छ भन्नुभएन। आफू मारिनुअघिको रात येशूले प्रेषितहरूलाई भन्नुभयो: “यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरूले यो जानिराख, तिमीहरूलाई घृणा गर्नुअघि संसारले मलाई घृणा गरेको छ।”—यूहन्ना १५:१८.
येशूलाई कहिल्यै त्याग्नेछैन भनी पत्रुसले धाक लगाएका थिए। तर त्यही रात येशूलाई ‘चिनेको छैन’ भनेर पत्रुसले तीनपटकसम्म भन्नेछन् भनी येशूले बताउनुभयो। हुन पनि ठीक त्यस्तै भयो! (मत्ती २६:३१-३५, ६९-७५) यसो हुनुको कारण के थियो?— पत्रुस डराएका थिए र अरू प्रेषितहरू पनि डराएका थिए।
प्रेषितहरू किन डराए, तिमीलाई थाह छ?— किनभने तिनीहरूले एउटा एकदमै महत्त्वपूर्ण कुरा गरेका थिएनन्। त्यस कुराबारे सिक्दा हामीले यहोवाको सेवा गर्न मदत पाउनेछौं, चाहे अरूले हामीलाई जेसुकै भनून् वा गरून्। येशूले आफ्ना प्रेषितहरूसित बिताएको अन्तिम रात के भएको थियो, फेरि एकचोटि विचार गरौं है!
सबैभन्दा पहिला येशू आफ्ना प्रेषितहरूसित मिलेर निस्तार-चाड मनाउनुहुन्छ। यस चाडमा हरेक वर्ष विशेष भोज खाइन्थ्यो। यसले परमेश्वरका मानिसहरूलाई मिश्रको दासत्वबाट छुटाइएको सम्झना गराउँथ्यो। निस्तार-चाडपछि येशूले अर्को एउटा विशेष भोज सुरु गर्नुहुन्छ। त्यसबारे पछि एउटा अध्यायमा छलफल गर्नेछौं र त्यस भोजले कसरी येशूको सम्झना गर्न मदत गर्छ, बुझ्नेछौं। त्यस भोजपछि र आफ्ना प्रेषितहरूलाई प्रोत्साहनका केही शब्द भनेपछि येशूले तिनीहरूलाई गेत्समनी बगैंचामा लानुहुन्छ। त्यो ठाउँ येशू र उहाँका प्रेषितहरूलाई धेरै मनपर्थ्यो। त्यसैले येशू तिनीहरूका साथमा धेरैजसो त्यहाँ जानुहुन्थ्यो।
मत्ती २६:३६-४७) तिनीहरूले किन जागा बसेर प्रार्थना गर्नुपर्थ्यो, तिमीलाई थाह छ?— अब यसबारे कुरा गरौं है!
बगैंचामा पुगेपछि प्रार्थना गर्न येशू आफ्ना प्रेषितहरू भएको ठाउँभन्दा अलि पर जानुहुन्छ। उहाँ पत्रुस, याकूब र यूहन्नालाई पनि प्रार्थना गर्न भन्नुहुन्छ। तर तिनीहरू निदाउँछन्। प्रार्थना गर्न तीनपटक येशू त्यसरी नै आफ्ना प्रेषितहरूभन्दा अलि पर जानुहुन्छ र तीनै पटक फर्केर आउँदा पत्रुस र अरू सबैलाई निदाइरहेको भेट्टाउनुहुन्छ। (त्यस रात निस्तार-चाड मनाउँदा सुरुमा त यहूदा इस्करियोत पनि येशू र अरू प्रेषितहरूसित थियो। तिमीलाई यादै होला, यहूदा चोर भइसकेको थियो। अब ऊ धोकेबाज बन्छ। येशू आफ्ना प्रेषितहरूसित प्रायः गेत्समनी बगैंचाको कुन ठाउँमा भेट्नुहुन्थ्यो, उसलाई थाह छ। त्यसैले येशूलाई पक्रन सिपाहीहरूसहित ऊ त्यहाँ आउँछ। उनीहरू त्यहाँ आएपछि येशू सोध्नुहुन्छ: “तिमीहरू कसलाई खोज्दैछौ?”
सिपाहीहरू यस्तो जवाफ दिन्छन्: “येशूलाई।” येशू डराउनुहुन्न। त्यसैले उहाँ यस्तो जवाफ दिनुहुन्छ: “त्यो मै हुँ।” येशूको साहस देखेर सिपाहीहरू यत्ति छक्क पर्छन् कि उनीहरू पछि हट्छन् र भुइँमा लोट्छन्। त्यसपछि येशू भन्नुहुन्छ: ‘यदि तिमीहरूले मलाई नै खोजिरहेका हौ भने मेरा प्रेषितहरूलाई जान देओ।’—यूहन्ना १८:१-९.
सिपाहीहरूले येशूलाई समातेर बाँध्दा प्रेषितहरू डराएर भाग्छन्। तर पत्रुस र यूहन्ना के हुन्छ भनी जान्न चाहन्छन्। त्यसैले तिनीहरू सिपाहीहरूको पछि-पछि जान्छन्। अन्तमा येशूलाई प्रधान पुजारी कैयाफाको घरमा लगिन्छ। प्रधान पुजारीसित यूहन्नाको चिनापर्ची भएकोले त्यहाँको पाले अर्थात् नोकर्नीले तिनलाई र पत्रुसलाई चोकभित्र पस्न दिन्छिन्।
मुद्दाको फैसला गर्न कैयाफाको घरमा पुजारीहरू भेला भइसकेका छन्। उनीहरू येशू मारियोस् भन्ने चाहन्छन्। त्यसैले उनीहरू यस्ता मानिसहरूलाई साक्षीको रूपमा ल्याउँछन् जसले उहाँबारे झूटो कुरा बोल्छन्। मानिसहरूले येशूलाई मुड्कीले हिर्काउँछन् र गालामा चड्काउँछन्। यी सबै कुरा हुँदा पत्रुस नजिकै थिए।
मत्ती २६:५७-७५; लूका २२:५४-६२; यूहन्ना १८:१५-२७.
पत्रुस र यूहन्नालाई चोकभित्र जान दिने नोकर्नीले पत्रुसकहाँ आएर यसो भन्छिन्: ‘तपाईं पनि त येशूसँगै हुनुहुन्थ्यो नि!’ तर पत्रुसले येशूलाई चिनेको छैन पो भन्छन्। केही समयपछि अर्की एउटी केटीले पत्रुसलाई चिन्छिन् र त्यहाँ भएका मानिसहरूलाई भन्छिन्: ‘यो मानिस येशूसँगै थियो!’ फेरि पनि पत्रुसले उहाँलाई चिनेको छैन भन्छन्। अलिक समयपछि मानिसहरूको एउटा समूहले पत्रुसलाई देखेर यसो भन्छ: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ।” तेस्रो चोटि पनि पत्रुसले यसो भन्छन्: “मैले त्यो मानिसलाई चिनेकै छैन!” आफूले सत्य बोलिरहेको छु भनी पत्रुसले कसमसमेत खान्छन्। अनि येशूले पत्रुसलाई फर्केर हेर्नुहुन्छ।—पत्रुसले किन झूटो बोले, तिमीलाई थाह छ?— हो, तिनी डराएका थिए। तर किन? आफ्नो साहस बढाउन तिनले के गरेका थिएनन्? सोच त! साहसी हुन येशूले के गर्नुभएको थियो?— उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभएको थियो र परमेश्वरले उहाँलाई साहसी हुन मदत गर्नुभयो। अनि सम्झ त, प्रार्थना गर्न र ननिदाई जागा रहन येशूले पत्रुसलाई तीनपटक भन्नुभएको थियो। तर के तिनले त्यसो गरे?—
प्रत्येक चोटि पत्रुस निदाएका थिए। तिनले प्रार्थना गरेनन्, तिनी जागा रहेनन्। त्यसैले आफूले आसै नगरेको समयमा येशूलाई पक्रिंदा तिनी तयार भएनन्। पछि मुद्दा चलिरहेको बेलामा येशूलाई हिर्काइँदा र उहाँलाई मार्ने योजना बनाइँदा पत्रुस डराए। तर केही घण्टाअघि मात्र येशूले आफ्ना प्रेषितहरूलाई के भन्नुभएको थियो, याद छ?— संसारले आफूलाई घृणा गरेझैं तिनीहरूलाई पनि घृणा गर्नेछ भन्नुभएको थियो।
पत्रुसको जस्तै अवस्था हामीमाथि कसरी आइपर्न सक्छ, अब हामी विचार गरौं। मानौं, तिमी कक्षा कोठामा छौ। अनि तिम्रा साथीहरूले राष्ट्रिय गान वा दशैं-तिहार नमनाउने मानिसहरूबारे नानाथरी कुरा गर्न
थाल्छन्। त्यति नै बेला एक जना साथीले तिमीतिर फर्केर यसो भन्छ: “तिमी राष्ट्रिय गान गाउँदैनौ रे, हो?” अनि अरूले भन्लान्: “हामीले सुनेको तिमीले दशैं-तिहार पनि मनाउँदैनौ रे, हो?” के तिमी त्यतिबेला साँचो कुरा बोल्न डराउँछौ?— पत्रुसले जस्तै झूटो बोलूँजस्तो लाग्छ कि?—येशूलाई चिन्न इन्कार गरेकोमा पछि पत्रुस एकदमै दुःखी भए। आफूबाट गल्ती भएको महसुस गरेपछि तिनी बाहिर गएर धुरुधुरु रोए। हो, तिनी पश्चात्ताप गरेर येशूतर्फ फर्के। (लूका २२:३२) अब एकछिन सोच त, एकदमै डराएर पत्रुसले जस्तै नगर्न हामीलाई केले मदत गर्न सक्छ?— सम्झ त, पत्रुसले प्रार्थना गरेका थिएनन् र तिनी जागा रहेका थिएनन्! त्यसैले महान् शिक्षकको चेला बन्न हामीले के गर्नुपर्छ होला?—
हो, हामीले मदतको लागि यहोवालाई प्रार्थना गर्नुपर्छ। येशूले प्रार्थना गर्दा परमेश्वरले उहाँको लागि के गर्नुभयो, तिमीलाई थाह छ?— उहाँलाई बलियो पार्न परमेश्वरले स्वर्गदूत पठाउनुभयो। (लूका २२:४३) के परमेश्वरका स्वर्गदूतहरूले हामीलाई मदत गर्न सक्छन्?— बाइबल यसो भन्छ: “उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्, र तिनीहरूलाई छुटकारा दिन्छन्।” (भजन ३४:७) तर परमेश्वरको मदत पाउन प्रार्थना मात्र गरेर पुग्दैन। अरू के गर्नुपर्छ, तिमीलाई थाह छ?— येशूले आफ्ना चेलाहरूलाई ननिदाई जागा रहन भन्नुभएको थियो। हामी कसरी त्यसो गर्न सक्छौं?—
ख्रीष्टियन सभामा भनिएका कुराहरू होसियार भएर सुन्नुपर्छ अनि ध्यान दिएर बाइबल पढ्नुपर्छ। साथै, हामीले यहोवालाई नियमित प्रार्थना गर्नुपर्छ र उहाँको सेवा गर्न सकूँ भनेर मदत माग्नुपर्छ। यसो गऱ्यौं भने डरमाथि विजयी हुन हामीले मदत पाउनेछौं। अनि अरूलाई महान् शिक्षक र उहाँको बुबाबारे बताउने मौका पाउँदा हामी खुसी हुनेछौं।
अरू मानिसको डरले गर्दा सही कुरा गर्नदेखि कहिल्यै पछि नहट्न यी शास्त्रपदहरूले मदत गर्न सक्छन्: हितोपदेश २९:२५; यर्मिया २६:१२-१५, २०-२४ अनि यूहन्ना १२:४२, ४३.