सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १३

तिनीहरू येशूका चेला बने

तिनीहरू येशूका चेला बने

यी मानिस को हुन्र तिनी कसरी येशूका चेला बन्छन्‌?

आजसम्म बाँचेका परमेश्‍वरका सेवकहरूमध्ये सबैभन्दा असल सेवक को हुनुहुन्छ?— ठीक भन्यौ, उहाँ येशू ख्रीष्ट हुनुहुन्छ। के तिमीलाई हामी पनि उहाँजस्तै हुन सक्छौं जस्तो लाग्छ?— उहाँले हाम्रो निम्ति उदाहरण बसाल्नुभयो र हामीले त्यो उदाहरण पछ्याउनुपर्छ भनी बाइबल सिकाउँछ। अनि उहाँ हामीलाई चेला हुन निम्तो दिनुहुन्छ।

येशूको चेला हुनु भनेको के हो, तिमीलाई थाह छ?— यसमा विभिन्‍न कुरा मुछिएका छन्‌। पहिलो, हामीले उहाँबाट सिक्नै पर्छ। तर त्यति मात्र गरेर पुग्दैन। उहाँले भनेका कुराहरूमा हामीले साँच्चै विश्‍वास पनि गर्नुपर्छ। त्यसो गऱ्‍यौं भने उहाँले दिएका सबै आज्ञा मान्‍नेछौं।

थुप्रै व्यक्‍ति ‘म येशूमा विश्‍वास गर्छु’ भन्छन्‌। के तिनीहरू सबै उहाँका साँचो चेला हुन्‌ जस्तो तिमीलाई लाग्छ?— हो, तिनीहरूमध्ये धेरै जना साँचो चेला होइनन्‌। तिनीहरू चर्च जान्छन्‌ होला। तर तिनीहरूमध्ये धेरैले येशूले सिकाएका कुराहरू पढ्‌न समय निकालेका छैनन्‌। साँच्चै भन्‍नुपर्दा येशूको उदाहरण पछ्याउनेहरू मात्र उहाँका चेलाहरू हुन्‌।

येशू पृथ्वीमा हुँदा उहाँका चेला बनेका केही व्यक्‍तिबारे अब हामी कुरा गरौं है त! सुरु-सुरुतिर चेला बन्‍नेहरूमध्ये एक जना फिलिप हुन्‌। फिलिप आफ्नो साथी नथनेललाई खोज्न हिंड्‌छन्‌। नथनेललाई बारथोलोमाइ भनेर पनि चिनिन्छ। तिमीले यहाँ चित्रमा तिनलाई एउटा रूखमुनि बसिरहेका देख्न सक्छौ। नथनेल आफूतिर आउँदै गरेको देखेर येशू तिनलाई यसो भन्‍नुहुन्छ: “हेर, एक जना सच्चा इस्राएली, जसमा कुनै छल छैन।” यो सुनेर नथनेल छक्क पर्छन्‌ र यस्तो प्रश्‍न गर्छन्‌: “तपाईंले मलाई कसरी चिन्‍नुभयो?”

आफ्नो चेला बन्‍न येशू क-कसलाई बोलाउँदै हुनुहुन्छ?

येशू यसो भन्‍नुहुन्छ: “फिलिपले तिमीलाई बोलाउनुअघि नै मैले तिमीलाई अन्जीरको रूखमुनि देखेको थिएँ।” आफू बसेको ठाउँ येशूले ठ्याक्कै थाह पाएकोमा नथनेललाई अचम्म लाग्छ अनि तिनी यसो भन्छन्‌: “तपाईं परमेश्‍वरका छोरा हुनुहुन्छ, तपाईं इस्राएलका राजा हुनुहुन्छ।”—यूहन्‍ना १:४९.

यहूदा इस्करियोत, यहूदा (थेदियस भनेर पनि चिनिने), सिमोन

फिलिप र नथनेल येशूका चेला बन्‍नुभन्दा एक दिनअघि अरू पनि उहाँका चेला बनेका थिए। तिनीहरू अन्द्रियास, तिनको दाइ पत्रुस अनि यूहन्‍ना थिए। अनि यूहन्‍नाको दाइ याकूब पनि त्यतिखेर चेला बनेको हुनुपर्छ। (यूहन्‍ना १:३५-५१) तर चेला बनेको केही समयपछि तिनीहरू चारै जना फेरि माछा मार्ने काममा फर्कन्छन्‌। अनि एक दिनको कुरा हो, गालील समुद्रको छेउमा हिंड्‌दै गर्दा येशूले पत्रुस र अन्द्रियासलाई समुद्रमा जाल हान्दै गरेको देख्नुहुन्छ। येशूले तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “मेरो पछि लाग।”

याकूब (अल्फयसको छोरा), थोमा, मत्ती

त्यहाँबाट अलि पर पुगेपछि येशूले याकूब र यूहन्‍नालाई देख्नुहुन्छ। तिनीहरू डुङ्‌गामा बसेर आफ्ना बुबासित बिग्रेको जाल सिलाउँदै थिए। तिनीहरूलाई पनि येशूले ‘मेरो पछि लाग’ भन्‍नुहुन्छ। येशूले तिमीलाई पनि त्यसरी नै बोलाउनुभएको भए तिमी के गर्थ्यौ? के तिमी त्यति नै बेला उहाँको पछि लाग्थ्यौ?— येशू को हुनुहुन्छ भनेर यी मानिसहरूलाई थाह छ। उहाँलाई परमेश्‍वरले पठाउनुभएको हो भनेर तिनीहरूलाई थाह छ। त्यसैले उत्तिखेरै माछा मार्ने काम छोडेर तिनीहरू येशूको पछि लाग्छन्‌।—मत्ती ४:१८-२२.

नथनेल, फिलिप, यूहन्‍ना

यी मानिसहरू येशूका चेला बनेपछि के तिनीहरूले सधैं सही काम गरे त?—गरेनन्‌। तिमीलाई यादै होला, आफूहरूमध्ये कोचाहिं सबैभन्दा ठूलो भनेर तिनीहरूबीच झगडा भएको थियो। तर तिनीहरूले येशूको कुरा सुने र आफ्नो सोचाइ अनि व्यवहार परिवर्तन गर्न इच्छुक भए। परिवर्तन गर्न इच्छुक छौं भने हामी पनि येशूका चेला हुन सक्छौं।

याकूब (यूहन्‍नाका दाइ), अन्द्रियास, पत्रुस

येशूले सबै प्रकारका व्यक्‍तिहरूलाई आफ्नो चेला बन्‍न निम्तो दिनुभयो। एक पटक एक जना धनी, जवान शासकले येशूकहाँ आएर ‘अनन्त जीवन पाउन मैले के गर्नुपर्छ’ भनी सोधे। ‘मैले परमेश्‍वरका आज्ञाहरू सानैदेखि पालन गर्दै आएको छु’ भनेर ती जवान शासकले जवाफ दिएपछि येशूले तिनलाई “मेरो पछि लाग” भन्‍ने निम्तो दिनुभयो। त्यसपछि के भयो, तिमीलाई थाह छ?—

धनी हुनुभन्दा येशूको चेला बन्‍नु धेरै महत्त्वपूर्ण हो भनी थाह पाएपछि ती जवान शासक साह्रै दुःखी भए। किनभने तिनी परमेश्‍वरलाई भन्दा आफ्नो पैसालाई माया गर्थे। त्यसैले तिनी येशूका चेला बनेनन्‌।—लूका १८:१८-२५.

करिब साढे एक वर्ष प्रचार गरेपछि येशूले आफ्ना चेलाहरूमध्ये १२ जनालाई प्रेषितको रूपमा छान्‍नुभयो। प्रेषित भनेका ती मानिसहरू हुन्‌ जसलाई येशूले खास काम गर्न पठाउनुभयो। के तिमीलाई प्रेषितहरूको नाम थाह छ?— हामी तिनीहरूलाई नामैले चिन्‍ने प्रयास गरौं है! चित्रमा हेर त, के तिमी तिनीहरूको नाम भन्‍न सक्छौ? अब कण्ठ गरेर तिनीहरूको नाम बताउने कोसिस गर है!

प्रचारकार्यमा जाँदा येशूलाई मदत गर्ने यी स्त्रीहरू को-को हुन्‌?

पछि गएर एक जना प्रेषित दुष्ट भयो। उसको नाम यहूदा इस्करियोत हो। त्यसैले उसको ठाउँमा अर्कै चेलालाई प्रेषितको रूपमा छानियो। के तिमीलाई तिनको नाम थाह छ?— तिनको नाम मत्तियास हो। पछि पावल र बर्णाबास पनि प्रेषितको रूपमा छानिए, तर तिनीहरू १२ प्रेषितमध्ये पर्दैनन्‌।—प्रेषित १:२३-२६; १४:१४.

येशूले साना केटाकेटीमा चासो लिनुभयो भनेर हामीले यो किताबको अध्याय १ मा सिक्यौं। उहाँले साना केटाकेटीमा किन चासो लिनुभयो?— किनभने तिनीहरू पनि उहाँका चेला बन्‍न सक्छन्‌ भनेर उहाँलाई थाह थियो। अक्सर, साना केटीकेटीले महान्‌ शिक्षकका कुराहरू ठूला मानिसहरूलाई सुनूँ-सुनूँ र अझ धेरै सिकूँ-सिकूँ लाग्ने गरी बताउन सक्छन्‌।

थुप्रै स्त्री पनि येशूका चेला बने। उहाँ अरू सहरमा प्रचार गर्न जाँदा कोही-कोही स्त्री उहाँसँगै गए। मरियम मग्दलिनी, योअन्‍ना, सुसन्‍ना ती स्त्रीहरूमा पर्थे। तिनीहरूले उहाँको लागि खाना पकाउन र लुगा धोइदिन मदत गरेको हुनुपर्छ।—लूका ८:१-३.

के तिमी येशूको चेला बन्‍न चाहन्छौ?— ‘म येशूको चेला हुँ’ भन्दैमा हामी उहाँको चेला बन्दैनौं भन्‍ने कुरा नबिर्स। ख्रीष्टियन सभाहरूमा मात्र होइन, तर जहाँसुकै भए तापनि हामीले येशूको चेलाको रूपमा व्यवहार गर्नुपर्छ। येशूको चेलाको रूपमा व्यवहार गर्नुपर्ने अरू कुन-कुन ठाउँ तिमीलाई थाह छ?—

हो, एउटा ठाउँ घर हो। अर्को ठाउँ स्कूल हो। येशूको साँचो चेला बन्‍ने हो भने तिमी र मैले यो कुरा बिर्सनु हुँदैन—जहाँसुकै होऔं, हरेक दिन चौबीसै घण्टा येशूले जस्तै हामीले व्यवहार गर्नै पर्छ।

हामीले आफूलाई येशूको चेलाको रूपमा कहाँ चिनाउनुपर्छ?

मत्ती २८:१९, २०; लूका ६:१३-१६; यूहन्‍ना ८:३१, ३२ अनि १ पत्रुस २:२१ मा येशूका चेलाहरूबारे बाइबलले बताउने कुरा सँगै पढौं है!