सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय २७

तिम्रो परमेश्‍वर को हुनुहुन्छ?

तिम्रो परमेश्‍वर को हुनुहुन्छ?

तिम्रो परमेश्‍वर को हुनुहुन्छ भन्‍ने प्रश्‍न किन महत्त्वपूर्ण छ?— किनभने मानिसहरूले नानाथरीका ईश्‍वर पुज्छन्‌। (१ कोरिन्थी ८:५) जिन्दगीभर हिंड्‌न नसकेको मान्छेलाई यहोवाबाट शक्‍ति पाएर पावलले निको पार्दा मानिसहरूले ठूलठूलो सोरमा यसो भने: “देवताहरू मानिसको भेषमा हामीकहाँ आएछन्‌!” उनीहरू पावल र तिनका साथी बर्णाबासको पूजा गर्न चाहन्थे। उनीहरूले पावललाई हर्मेस र बर्णाबासलाई ज्युस भनी बोलाए। यी झूटा ईश्‍वरका नामहरू हुन्‌।

तर पावल र बर्णाबासले मानिसहरूलाई आफ्नो पूजा गर्न दिएनन्‌। भीडमा हामफालेर तिनीहरूले यसो भने: “यी निरर्थक कुराहरूबाट फर्केर . . . जीवित परमेश्‍वरकहाँ आउनुहोस्‌।” (प्रेषित १४:८-१५) सबै कुरा बनाउने “जीवित परमेश्‍वर” को हुनुहुन्छ?— हो, उहाँ “सारा पृथ्वीमा सर्वोच्च” यहोवा हुनुहुन्छ। येशूले यहोवालाई “एक मात्र साँचो परमेश्‍वर” भन्‍नुभयो। त्यसोभए हाम्रो उपासनाको योग्य को मात्र हुनुहुन्छ?— हो, यहोवा मात्र योग्य हुनुहुन्छ!—भजन ८३:१८; यूहन्‍ना १७:३; प्रकाश ४:११.

मानिसहरूले दण्डवत्‌ गर्न खोज्दा पावल र बर्णाबासले किन त्यसो गर्न दिएनन्‌?

प्रायजसो मानिसहरू “एक मात्र साँचो परमेश्‍वर”-को नभई अरू ईश्‍वरको उपासना गर्छन्‌। तिनीहरू प्रायः काठ, ढुङ्‌गा वा धातुले बनाइएका कुराहरू पुज्छन्‌। (प्रस्थान ३२:३-७; लेवी २६:१; यशैया ४४:१४-१७) प्रख्यात मानिसहरूलाई समेत कहिलेकाहीं ईश्‍वरको रूपमा हेरिन्छ। के तिनीहरूलाई त्यसरी महिमा दिनु ठीक हो?—

शावल प्रेषित पावल बनेपछि तिनले यस्तो लेखे: ‘यस युगको ईश्‍वरले विश्‍वास नगर्नेहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।’ (२ कोरिन्थी ४:४) यो ईश्‍वर को हो?— हो, सैतान! मानिसहरूलाई विभिन्‍न व्यक्‍ति र वस्तुको उपासना गर्न लगाउन सैतान सफल भएको छ।

सैतानले येशूलाई ‘घोप्टो परेर मलाई ढोग्नुहोस्‌’ भन्यो। त्यसले त्यस्तो प्रयास गर्दा उहाँले के भन्‍नुभयो?— “तिमीले यहोवा तिम्रा परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।” (मत्ती ४:१०) यसरी हामीले यहोवाको मात्र उपासना गर्नुपर्छ भनेर येशूले स्पष्ट पार्नुभयो। यो कुरा थाह भएका केही जवान पुरुषबारे अब हामी पढौं है! तिनीहरू शद्रक, मेशेक र अबेद्‌नगो थिए।

यी जवान हिब्रूहरू परमेश्‍वरको इस्राएल राष्ट्रका भाग थिए र तिनीहरूलाई बेबिलोनमा कैदी बनाएर लगिएको थियो। त्यहाँका राजा नबूकदनेसरले सुनको एउटा ठूलो मूर्ति बनाएका थिए। एक दिनको कुरा हो, सङ्‌गीत सुन्‍नेबित्तिकै सबैले त्यो मूर्तिलाई दण्डवत्‌ गर्नू भन्‍ने हुकुम उनले गरे। ‘घोप्टो परेर दण्डवत्‌ नगर्ने जतिचाहिं दन्केको आगोको भट्टीमा फालिनेछ’ भनी उनले चेतावनी दिए। तिमी त्यहाँ भएको भए के गर्थ्यौ?—

यी तीन जवानले किन मूर्तिलाई दण्डवत्‌ गर्न मानेनन्‌?

शद्रक, मेशेक र अबेद्‌नगोले राजाको प्रायजसो सबै हुकुम मान्थे। तर तिनीहरूले मूर्तिलाई दण्डवत्‌ गर्ने हुकुमचाहिं मानेनन्‌। किन, तिमीलाई थाह छ?— किनभने परमेश्‍वरको व्यवस्था यसो भन्छ: ‘मेरो सामने तैंले अरू कुनै देवी-देवताहरू नमान्‍नू। तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, तिनीहरूका सामने ननिउरिनू।’ (प्रस्थान २०:३-५) त्यसैकारण शद्रक, मेशेक र अबेद्‌नगोले राजाको हुकुम होइन, परमेश्‍वरको नियम पालन गरे।

राजा एकदमै रिसाए। त्यसैले ती तीनै जवानलाई तुरुन्तै आफूसामु ल्याउन हुकुम गरे। अनि उनले सोधे: ‘के यो कुरो साँचो हो कि तिमीहरू मेरा देवताहरूको सेवा गर्दैनौ? म तिमीहरूलाई अर्को एउटा मौका दिन्छु। सङ्‌गीत सुन्‍नेबित्तिकै मूर्तिलाई दण्डवत्‌ गर्नू। यदि दण्डवत्‌ गरेनौ भने त तिमीहरू दन्केको आगोको भट्टीमा हालिनेछौ, र कुन देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्ला?’

अब ती जवानहरूले के गर्नेथिए? तिमी भएको भए के गर्थ्यौ?— तिनीहरूले राजालाई यसो भने: ‘हामीलाई बचाउन सक्ने हामीले सेवा गरेका परमेश्‍वर नै हुनुहुन्छ। हामीलाई बचाउनु भएन भने पनि, हामी हजुरका देवताहरूको सेवा गर्नेछैनौं। हजुरले खडा गर्नुभएको यस सुनको मूर्तिलाई हामी दण्डवत्‌ गर्नेछैनौं।’

राजा रिसले चूर भए। उनले यस्तो हुकुम गरे: ‘आगोको भट्टी सधैंभन्दा सात गुणा बढी तताऊ!’ त्यसपछि उनले शद्रक, मेशेक र अबेद्‌नगोलाई बाँधेर आगोको भट्टीमा हालिदिन आफ्ना बलिया-बलिया मानिसलाई हुकुम गरे। त्यो आगोको भट्टी यति दन्केको थियो कि तिनीहरूलाई लाने मानिसहरू आगोको ज्वालाले भेटेर मरे! तर ती तीन हिब्रू जवान नि?

शद्रक, मेशेक र अबेद्‌नगो दन्केको आगोको भट्टीको बीचमै परे। तर तिनीहरू उभिए! तिनीहरूलाई केही हानि भएन। अनि तिनीहरू बाँधिएका पनि थिएनन्‌। यो सबै कसरी सम्भव भयो?— राजाले आगोको भट्टीमा हेरे र त्यहाँ जे देखे त्यसले गर्दा उनी डराए। उनले सोधे: ‘के हामीले आगोमा तीन जनालाई हालेका होइनौं?’ उनका सेवकहरूले यस्तो जवाफ दिए: “हो महाराज।”

यहोवाले आफ्ना सेवकहरूलाई आगोको भट्टीबाट कसरी बचाउनुभयो?

त्यसपछि राजाले भने: ‘हेर, चार जना मानिसहरू पो आगोमा हिंडिरहेका छन्‌ र तिनीहरूलाई आगोले केही हानि भएको देखिंदैन!’ त्यो चौथो व्यक्‍ति को थियो, तिमीलाई थाह छ?— तिनी यहोवाका स्वर्गदूत थिए। तिनले ती तीन हिब्रूलाई हानि हुनबाट बचाए।

यो देखेपछि भट्टीको ढोका नजिक आएर राजाले यसो भने: “हे शद्रक, मेशेक र अबेद्‌नगो, सर्वोच्च परमेश्‍वरका सेवक हो, निस्केर आऊ।” तिनीहरू निस्केर आउँदा तिनीहरूलाई आगोले पटक्कै नछोएको त्यहाँ भएका सबैले देखे। तिनीहरूमा आगोको गन्धसमेत थिएन। त्यसपछि राजाले भने: ‘शद्रक, मेशेक र अबेद्‌नगोका परमेश्‍वर धन्यका होऊन्‌, जसले आफ्नै परमेश्‍वरबाहेक अरू देवताको सेवा नगर्ने आफ्ना यी दासहरूलाई बचाउन स्वर्गदूत पठाउनुभयो।’—दानियल अध्याय ३

आज मानिसहरू क-कसलाई महिमा दिन्छन्‌?

त्यतिबेला भएको त्यो घटनाबाट हामी पाठ सिक्न सक्छौं। आज पनि मानिसहरू पूजा गर्न मूर्तिहरू वा प्रतिमाहरू स्थापना गर्छन्‌। द इन्साक्लोपीडिया अमेरिकाना (अङ्‌ग्रेजी) भन्‍ने विश्‍वकोश यसो भन्छ: “झन्डा क्रूस जत्तिकै पवित्र छ।” काठ, ढुङ्‌गा, धातु वा कपडाबाट मूर्तिहरू बनाइन्छन्‌। येशूका सुरु-सुरुका चेलाहरू रोमी सम्राट्‌को उपासना गर्दैनथे। इतिहासकार दानियल पी. मानिक्सअनुसार यसरी उपासना नगर्नु भनेको “झन्डा सलामी गर्न वा वफादारीको वाचा दोहोऱ्‍याउन इन्कार गर्नु” बराबर हो।

त्यसोभए मूर्तिहरू कपडा, काठ, ढुङ्‌गा अथवा धातु जेसुकैले बनेको किन नहोस्‌, के त्यसले परमेश्‍वरसामु केही महत्त्व राख्छ?— यहोवाको सेवकले मूर्तिपूजा गर्नु के ठीक होला?— शद्रक, मेशेक र अबेद्‌नगोले त्यसो गरेनन्‌ र यहोवा तिनीहरूसित खुसी हुनुभयो। तिनीहरूको उदाहरण तिमी कसरी नक्कल गर्न सक्छौ?—

यहोवाको सेवा गर्नेहरूले अरू कुनै पनि मानिस वा कुराको उपासना गर्नु हुँदैन। यहोशू २४:१४, १५, १९-२२; यशैया ४२:८; १ यूहन्‍ना ५:२१ अनि प्रकाश १९:१० मा यसबारे के लेखिएको छ, पढौं।