अध्याय १५
दयालु हुनेबारे एउटा पाठ
पूर्वाग्रह भनेको के हो, तिमीलाई थाह छ?— पूर्वाग्रह भनेको कुनै व्यक्ति फरक भएकोले वा उसको भाषा बेग्लै भएकोले उसलाई मन नपराउनु हो। त्यसैले पूर्वाग्रही हुनु भनेको कुनै व्यक्तिलाई राम्ररी चिन्नुअघि नै उसप्रति खराब विचार वा सोचाइ राख्नु हो।
कुनै व्यक्ति कस्तो छ भनेर राम्ररी थाह पाउनुअघि नै उसलाई मन नपराउनु अथवा ऊ बेग्लै भएकोले उसलाई मन नपराउनु के राम्रो कुरा हो?— अहँ, होइन! पूर्वाग्रही हुनु न त राम्रो कुरा हो न दयालु कुरा नै। कोही व्यक्ति हामीभन्दा भिन्न छ भन्दैमा ऊसित नराम्रो व्यवहार गर्नु हुँदैन।
के तिमी छालाको रङ्ग बेग्लै भएको वा अर्कै भाषा बोल्ने व्यक्तिलाई चिन्छौ?— सायद घाइते भएकोले वा कुनै रोग लागेकोले फरक देखिने व्यक्तिलाई पनि तिमी चिन्छौ होला। त्यसोभए के तिमी आफूभन्दा भिन्न व्यक्तिलाई दया र माया गर्छौ?—
महान् शिक्षक येशू ख्रीष्टको कुरा सुन्छौं भने हामी सबैलाई दया देखाउनेछौं। कुनै व्यक्तिको देश अथवा छालाको रङ्गले गर्दा हामीले उसप्रति पूर्वाग्रह राख्नु हुँदैन। हामीले उसलाई दया देखाउनुपर्छ। सबै मानिस यो कुरामा विश्वास गरेनन्, तर येशूले सिकाएको एउटा पाठ यही थियो। यसबारे अब कुरा गरौं।
अरूप्रति पूर्वाग्रह राख्ने एक जना यहूदीले येशूकहाँ आएर यस्तो प्रश्न गऱ्यो: ‘सधैंभरि बाँच्न मैले के गर्नुपर्छ?’ त्यो मानिस ‘हामीले आफ्नै जाति वा देशको मानिसलाई दया देखाउनुपर्छ’ भनेको सुन्न इच्छुक छ भन्ने कुरा येशूलाई थाह थियो। त्यसैले उहाँले त्यो मानिसलाई जवाफ दिनुको सट्टा यस्तो प्रश्न सोध्नुभयो: ‘परमेश्वरको व्यवस्थामा के गर्नू भनेर लेखिएको छ?’
त्यो मानिसले यस्तो जवाफ दियो: ‘तिमीले यहोवा तिम्रा परमेश्वरलाई आफ्नो सारा मनले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ येशूले भन्नुभयो: ‘तिमीले ठीक जवाफ दियौ। त्यसै गरिरह अनि तिमीले अनन्त जीवन पाउनेछौ।’
तर त्यो मानिस आफूभन्दा फरक मानिसलाई दया वा माया देखाउन चाहँदैनथ्यो। त्यसैले उसले बहाना बनाउन खोज्यो। उसले येशूलाई सोध्यो: “वास्तवमा मेरो छिमेकी को हो?” उसले येशूबाट यस्तो जवाफ सुन्न चाहेको हुन सक्छ: “तिम्रा साथीहरू नै तिम्रा छिमेकीहरू हुन्” वा “तिमीजस्तै खालका अरू व्यक्तिहरू नै तिम्रा छिमेकीहरू हुन्।” त्यो प्रश्नको जवाफ दिन येशूले यहूदी र सामरीको कथा भन्नुभयो। कथा यसप्रकार छ:-
एक जना मान्छे यरूशलेमबाट यरिहोतिर ओर्लंदै थियो। ऊ यहूदी थियो। हिंड्दै गर्दा ऊ डाँकुहरूको फेला पऱ्यो। तिनीहरूले उसलाई हमला गरे अनि उसको पैसा र लुगा लुटे। ती डाँकुहरूले उसलाई कुट्नसम्म कुटे र उसलाई त्यहीं बाटोमा अचेत अवस्थामा छोडेर गए।
केही समयपछि एक जना पुजारी त्यही बाटो भएर आयो। उसले नराम्ररी घाइते भएको त्यो मानिसलाई देख्यो। तिमी भए के गर्थ्यौ?— त्यो पुजारी
बाटोको पारिपट्टीबाट गयो। ऊ एकछिन पनि रोकिएन। उसले त्यो मानिसलाई केही मदत गरेन।त्यसपछि धर्मकर्म गर्ने अर्को एक जना मानिस त्यही बाटो भएर आयो। ऊ यरूशलेमको मन्दिरमा सेवा गर्ने लेवी थियो। के उसले त्यो मानिसलाई मदत गऱ्यो?— अहँ, गरेन। पुजारीजस्तै ऊ पनि बाटोको पारिपट्टीबाट गयो।
अन्तमा एक जना सामरी आए। चित्रमा सबैभन्दा पछाडि तिनी आउँदै गरेको तिमी देख्न सक्छौ?— तिनले नराम्ररी घाइते भएको त्यो यहूदीलाई देखे। तर याद गर्नुपर्ने कुरा, त्यतिबेला धेरैजसो सामरी र यहूदीहरू एकअर्कालाई पटक्कै मन पराउँदैनथे। (यूहन्ना ४:९) त्यसोभए यी सामरीले त्यो यहूदीलाई मदत गरे होलान् त? तिनले मनमनै यस्तो सोचे कि ‘म किन यो यहूदीलाई मदत गरूँ? म घाइते भएको भए के उसले मलाई मदत गर्थ्यो र?’
बाटोमा लडिरहेको त्यो मानिसलाई देखेर सामरीलाई दया लाग्यो। त्यो मानिसलाई मर्नको लागि त्यहीं छोड्नु तिनलाई उचित लागेन। त्यसैले तिनी आफू चढिरहेको जनावरबाट ओर्लिए र त्यो मानिसको नजिक गएर उसको घाउमा तेल र दाखमद्य लगाइदिए। त्यसो गर्दा घाउ चाँडै निको हुन्छ। त्यसपछि तिनले त्यो घाउमा पट्टी बाँधिदिए।
सामरीले त्यो घाइते मानिसलाई बिस्तारै बोकेर आफ्नो जनावरमाथि चढाए। त्यसपछि तिनीहरू बिस्तारै अलि तल रहेको पौवा अथवा सानो होटेलमा पुगे। त्यहाँ ती सामरीले उक्त मानिसलाई राख्ने ठाउँ भेट्टाए र उसको राम्रो हेरविचार गरे।
तब येशूले आफूसित कुरा गरिरहेको मानिसलाई यस्तो प्रश्न सोध्नुभयो: ‘अब भन, यी तीन जनामध्ये कोचाहिं असल छिमेकी हो?’ तिमी के भन्छौ? पुजारी, लेवी कि सामरी?—
त्यो मानिसले यस्तो जवाफ दियो: ‘असल छिमेकी त्यही मानिस हो जसले खुरुखुरु आफ्नो बाटो नलागी त्यो घाइते मानिसको हेरविचार गरे।’ येशूले भन्नुभयो: ‘तिमीले ठीक भन्यौ। जाऊ, तिमी पनि त्यसै गर।’—लूका १०:२५-३७.
कस्तो राम्रो कथा हगि! यो कथाबाट हामीले आफ्ना छिमेकी
को हुन् भनेर बुझ्न सक्यौं। छिमेकी भनेका मिल्ने साथीहरू मात्र होइनन्। न त हाम्रो जस्तै छालाको रङ्ग भएको वा हाम्रो जस्तै भाषा बोल्ने व्यक्तिहरू मात्र नै हुन्। मानिसहरू जुनसुकै ठाउँका होऊन्, उनीहरूको रूपरङ जस्तोसुकै होस् वा उनीहरूले जस्तोसुकै भाषा बोलून्, हामीले उनीहरूलाई दया देखाउनुपर्छ भनी येशूले सिकाउनुभयो।यहोवा परमेश्वर यस्तै सोचाइ राख्नुहुन्छ। उहाँ पूर्वाग्रही हुनुहुन्न। येशूले भन्नुभयो: ‘स्वर्गमा बस्ने तिमीहरूका बुबाले खराब र असल दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि भला र दुष्ट दुवैमाथि पानी वर्षाउनुहुन्छ।’ त्यसैले परमेश्वरले जस्तै हामीले पनि सबैलाई दया देखाउनुपर्छ।—मत्ती ५:४४-४८.
कोही घाइते भएको देख्यौ भने तिमी के गर्छौ?— त्यो मानिस अर्कै देशको हो वा उसको छालाको रङ्ग तिम्रोभन्दा फरक छ भने नि? त्यसोभए तापनि ऊ तिम्रो छिमेकी हो र तिमीले उसलाई मदत गर्नुपर्छ। सानो भएकोले मदत गर्न सक्दिनँ जस्तो लाग्छ भने आफूभन्दा ठूलो व्यक्तिसित मदत माग्न सक्छौ। अथवा प्रहरी कि स्कूलको सर-मिसलाई बोलाउन सक्छौ। त्यसो गर्नु भनेको सामरीले जस्तै दया देखाउनु हो।
महान् शिक्षक हामीले दया देखाएको चाहनुहुन्छ। हामीले सबै खालका मानिसहरूलाई मदत गरेको उहाँ चाहनुहुन्छ। त्यसैले त उहाँले दया देखाउने सामरीको कथा भन्नुभयो।
जुनसुकै जाति वा देशका मानिसलाई पनि दया देखाउनुपर्छ भन्ने सन्दर्भमा मीका ६:८; प्रेषित १०:३४, ३५ अनि १७:२६ पढौं।