अध्याय ४०
परमेश्वरलाई कसरी खुसी पार्न सक्छौं
परमेश्वरलाई खुसी पार्न हामी के गर्न सक्छौं? उहाँलाई केही कुरा दिन सक्छौं कि?— यहोवा यसो भन्नुहुन्छ: “जङ्गलको हरेक जन्तु . . . मेरै हुन्।” उहाँ यसो पनि भन्नुहुन्छ: “चाँदी मेरै हो, र सुन पनि मेरै हो।” (भजन २४:१; ५०:१०; हाग्गै २:८) तैपनि हामी उहाँलाई केही कुरा दिन सक्छौं। त्यो के हो?—
यहोवा हामीलाई उहाँको सेवा गर्ने कि नगर्ने भनी रोज्न दिनुहुन्छ। आफूले चाहेको कुरा गर्न उहाँ हामीलाई जबरजस्ती गर्नुहुन्न। उहाँको सेवा गर्ने कि नगर्ने भनी रोज्न सक्नेगरि परमेश्वरले हामीलाई किन बनाउनुभयो, बुझ्ने कोसिस गरौं है!
तिमीलाई रोबोट भनेको के हो थाह छ होला। त्यो एउटा मेसिन हो र यसलाई जे भन्यो त्यही मात्र गर्ने किसिमले बनाइएको हुन्छ। रोबोट आफैले सोचेर केही पनि गर्न सक्दैन। यहोवाले हामीलाई रोबोटजस्तै बनाउन सक्नुहुन्थ्यो। उहाँले चाहेको कुरा मात्र गर्न सक्ने किसिमले उहाँले हामीलाई बनाउन सक्नुहुन्थ्यो। तर उहाँले त्यसो गर्नुभएन। किन, तिमीलाई थाह छ?— कुनै-कुनै खेलौना रोबोटजस्तै जे भन्यो त्यही मात्र गर्ने किसिमले बनाइएको हुन्छ। कुनै बटन थिच्दा त्यसलाई बनाउने मानिसले जे गर्नको लागि डिजाइन गरेको थियो त्यसले त्यति मात्र गर्छ। तिमीले त्यस्तो खेलौना देखेका छौ कि?— जे भन्यो त्यही मात्र गर्ने खेलौनाहरू खेल्दा मानिसहरूलाई वाक्क लाग्न सक्छ। हामी यहोवाको सेवा गर्नको लागि मात्र भनेर रोबोटजस्तै
गरी बनाइएका छैनौं। न त उहाँ हामीले त्यसरी आज्ञा पालन गरेको नै चाहनुहुन्छ। उहाँलाई प्रेम गरेकोले अनि उहाँको आज्ञा मान्न इच्छा गरेकोले हामीले उहाँको सेवा गरेको यहोवा चाहनुहुन्छ।राजीखुसीले उहाँको आज्ञा पालन गर्दा स्वर्गमा बस्ने बुबालाई कस्तो लाग्छ होला, सोच त?— तिम्रो आनीबानीले तिम्रो आमाबाबुलाई कस्तो असर गर्छ, भन त?— “बुद्धिमान् छोराले बाबुलाई खुशी तुल्याउँछ, मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ” भनी बाइबल बताउँछ। (हितोपदेश १०:१) भनेको कुरा मान्दा आमाबाबु खुसी भएको के तिमीले याद गरेका छौ?— तर आज्ञा नमान्दा आमाबाबुलाई कस्तो लाग्छ?—
अब हामी स्वर्गमा बस्नुहुने बुबा यहोवाबारे विचार गरौं। उहाँलाई कसरी खुसी पार्न सकिन्छ भनेर उहाँले हामीलाई बताउनुहुन्छ। आ-आफ्नो बाइबल लिऔं अनि हितोपदेश २७:११ पढौं। त्यहाँ परमेश्वर हामीलाई यसो भन्नुहुन्छ: “हे मेरो छोरो [अथवा यसो पनि भन्न सक्छौं, हे मेरी छोरी], बुद्धिमान् हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” कसैको आलोचना गर्नु भनेको के हो, तिमीलाई थाह छ?— ‘गर्न सक्छु भनेको कुरा खै त गर्न सकेको?’ भनेर हाँसोमा उडाउँदै अरूले तिम्रो आलोचना गर्न सक्छन्। सैतानले यहोवाको कसरी आलोचना गऱ्यो?— हामी हेरौं है!
सैतान सबैभन्दा पहिलो हुन खोज्छ र सबैले त्यसको आज्ञा पालन गरेको चाहन्छ भनेर यो किताबको अध्याय ८ मा सिकेको तिमीले सम्झेका छौ नि, हगि! अनन्त जीवन यहोवाको उपासना गऱ्यो भने मात्र पाउने भएकोले मानिसहरू उहाँको उपासना गर्छन् भनी सैतान भन्छ। आदम र हव्वालाई यहोवाको आज्ञा तोड्न लगाएपछि सैतानले परमेश्वरलाई चुनौती दियो। त्यसले परमेश्वरलाई यसो भन्यो: ‘तपाईंबाट केही कुरा पाउने भएकोले मात्र मानिसहरूले तपाईंको सेवा गरेका हुन्। मलाई मौका दिनुहोस्, म जो-कोहीलाई पनि तपाईंबाट टाढा बनाउन सक्छु।’
हो, ठ्याक्कै यही शब्द हामी बाइबलमा पाउँदैनौं। तर अय्यूब भन्ने मानिसबारे पढ्ने हो भने सैतानले परमेश्वरलाई यस्तै केही भनेको थियो भनेर बुझ्न सक्छौं। अय्यूब परमेश्वरप्रति वफादार हुनु या नहुनु सैतान र यहोवा दुवैका लागि चासोको विषय थियो। त्यतिबेला के भएको थियो भनेर बुझ्न अब हामी अय्यूब अध्याय १ र २ खोलेर हेरौं है!
याद गर त, स्वर्गदूतहरू यहोवासामु भेला हुँदा सैतान पनि त्यहीं थियो भनेर अध्याय १ मा लेखिएको छ। यहोवाले सैतानलाई सोध्नुभयो: “तँ के गर्दै थिइस्?” सैतानले भन्यो: ‘पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।’ त्यसपछि यहोवाले त्यसलाई सोध्नुभयो: ‘के तैंले मेरो अय्यूब १:६-८.
डर राख्ने र दुष्ट कामबाट अलग रहने अय्यूबलाई याद गरिस्?’—तुरुन्तै सैतानले सफाइ दिन खोज्छ, ‘केही समस्या नभएकोले मात्र अय्यूबले तपाईंको उपासना गरेका हुन्। तपाईंले तिनलाई दिनुभएको सुरक्षा र आशिष् खोस्नुभयो भने तिनले तपाईंलाई तपाईंकै मुखको सामने सराप्नेछन्।’ परमेश्वर त्यसलाई भन्नुहुन्छ, ‘जा, तँलाई जे मन लाग्छ त्यही गर्। तर अय्यूबको शरीरलाई चाहिं चोट नपुऱ्या।’—अय्यूब १:९-१२.
सैतानले के गर्छ?— त्यसले अय्यूबको गाईवस्तु र गधाहरू चोर्न अनि तिनीहरूको रेखदेख गर्ने मानिसहरूलाई मार्न लगाउँछ। अनि चट्याङ परेर भेडा र त्यसका गोठालाहरू सबै नाश हुन्छन्। त्यसपछि मानिसहरू आएर ऊँट चोर्छन् र तिनीहरूको हेरविचार गर्नेहरूलाई मार्छन्। अन्तमा सैतानले आँधीबेहरी ल्याउँछ जसले गर्दा अय्यूबका दस छोराछोरी बसिरहेको घर भत्किन्छ र सबै मर्छन्। यी सबै हुँदाहुँदै पनि अय्यूबले यहोवाको सेवा गर्न छोड्दैनन्।—अय्यूब १:१३-२२.
अय्यूब अझै पनि वफादार भएको कुरा सैतानलाई भेटेपछि यहोवा बताउनुहुन्छ। सैतानले सफाइ दिन खोज्दै यसो भन्छ: ‘मलाई तिनको शरीरमा चोट पुऱ्याउन दिनुभयो भने तिनले तपाईंको मुखकै सामने तपाईंलाई सराप्नेछन्।’ त्यसैले यहोवाले सैतानलाई अय्यूबको शरीरमा चोट पुऱ्याउन दिनुहुन्छ। तर तिनको ज्यान नलिन चेतावनी दिनुहुन्छ।
अय्यूब वफादार भएको देख्दा यहोवालाई कस्तो लाग्यो होला?— उहाँ खुसी हुनुभयो किनभने उहाँले सैतानलाई यसो भन्न सक्नुभयो: ‘अय्यूबलाई हेर्! तिनले मेरो सेवा गरे किनभने तिनी मेरो सेवा गर्ने इच्छा गर्छन्।’ सैतानलाई झूटो प्रमाणित गर्ने उदाहरणको रूपमा यहोवाले लिएको मानिस अय्यूबजस्तै के तिमी हुन चाहन्छौ?— जोसुकैलाई पनि यहोवाको सेवा गर्नबाट टाढा बनाउन सक्छु भनेर सैतानले गरेको दाबीको जवाफ दिन पाउनु हाम्रो सुअवसर हो। येशूले पक्कै पनि यसलाई सुअवसर ठान्नुभयो।
सैतानले महान् शिक्षकलाई कहिल्यै पनि गलत काम गर्न लगाउन सकेन। उहाँको उदाहरणले उहाँको बुबा कत्ति खुसी हुनुभयो होला, सोच त! यहोवाले येशूलाई देखाउँदै सैतानलाई यसो भन्न सक्नुभयो: ‘मेरो छोरालाई हेर्! तिनी मप्रति पूर्णतया वफादार रहे किनभने तिनी मलाई प्रेम गर्छन्।’ आफ्नो बुबाको मन खुसी पार्न पाउँदा येशू कत्ति आनन्दित हुनुभयो होला, त्यो पनि सोच त! त्यो आनन्दले गर्दा येशूले यातनाको खम्बामा मृत्यु भोग्नुपर्दा समेत सहन सक्नुभयो।—हिब्रू १२:२.
के तिमी पनि महान् शिक्षकले जस्तै यहोवालाई खुसी पार्न चाहन्छौ?— त्यसो भए यहोवा तिमीबाट के चाहनुहुन्छ, त्यो सिक्दै जाऊ अनि त्यसैअनुसार गरेर उहाँलाई खुसी पार!
परमेश्वरलाई खुसी पार्न येशूले के गर्नुभयो र हामीले के गर्नुपर्छ भनेर बुझ्न हितोपदेश २३:२२-२५; यूहन्ना ५:३०; ६:३८; ८:२८ अनि २ यूहन्ना ४ पढौं।